समाचार साइट 'एक्सियोस'का अनुसार, इरानसँगको वार्तामा देखिएको गतिरोध तोड्न अमेरिकी सेनाले इरानमाथि "छोटो तर शक्तिशाली" आक्रमण गर्ने योजना तयार पारेको छ। उक्त सम्भावित आक्रमणमा इरानका मुख्य पूर्वाधारहरूलाई निसाना बनाइने बताइएको छ। त्यस्तै, व्यावसायिक पानीजहाजहरूको आवतजावत खुलाउन मुख्य जलमार्ग 'स्ट्रेट अफ हर्मुज' को केही भाग कब्जा गर्ने अर्को योजना पनि छ। जसमा स्थल सेना नै परिचालन हुन सक्ने सम्भावना छ।
यस युद्धको त्रासको सिधा असर तेलको मूल्यमा परेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (ब्रेन्ट क्रुड) को मूल्य करिब ७ प्रतिशतले बढेर प्रति ब्यारेल १२६ डलरभन्दा माथि पुगेको छ। सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछिको यो सबैभन्दा उच्च मूल्य हो। त्यसै गरी, अमेरिकामा कारोबार हुने 'वेस्ट टेक्सास इन्टरमिडिएट' मा कच्चा तेलको मूल्य पनि २.३ प्रतिशतले बढेर प्रति ब्यारेल करिब १०९ डलर पुगेको छ।
शान्ति वार्ता रोकिएको र तेल ओसारपसार हुने मुख्य जलमार्ग 'हर्मुज' लगभग बन्द अवस्थामा रहेकाले यो हप्ता इन्धनको मूल्य लगातार बढिरहेको छ। विश्वको करिब २० प्रतिशत (पाँच भागको एक भाग) इन्धन यही जलमार्ग हुँदै आपूर्ति हुन्छ।
अमेरिकाले प्रस्ट पारेको छ कि जबसम्म इरानले यस जलमार्ग प्रयोग गर्ने जहाजहरूलाई धम्काएर विश्वव्यापी इन्धन आपूर्तिमा अवरोध पुर्याउँछ। तबसम्म इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी रहनेछ। उता, इरानले भने अमेरिका र इजरायलले गरेको हवाई आक्रमणको बदला स्वरूप उक्त जलमार्गमा चल्ने जहाजहरूमाथि आक्रमण गर्ने धम्की दिँदै आएको छ।
अमेरिकाले इरानमाथि अझै कडा र लामो नाकाबन्दी गर्ने तयारी गरिरहेको खबर बुधबार आएपछि मात्रै तेलको मूल्य ६ प्रतिशतले बढेको थियो। सम्भावित युद्धका कारण सर्वसाधारण उपभोक्तालाई पर्न सक्ने असरलाई कसरी कम गर्ने भन्ने विषयमा छलफल गर्न मंगलबार मात्रै ठुला इन्धन कम्पनीका प्रमुखहरूले राष्ट्रपति ट्रम्पसँग भेटेका थिए। यसले गर्दा इन्धन आपूर्तिमा लामो समयसम्म समस्या आउन सक्ने डरले बजारमा थप चिन्ता बढाएको छ।