डिङ शिझोङले ती जुत्ताहरू आफ्ना आफन्तको कारखानामा बनाएका थिए र उनी ती जुत्ताहरू बेच्न चाहन्थे। उनले ती जुत्ता बेचेर कमाएको पैसाले आफ्नो पहिलो कार्यशाला स्थापना गरे। जहाँ उनले अन्य कम्पनीहरूका लागि जुत्ता बनाउन सुरु गरे। कम्युनिस्ट पार्टीका शासकहरूको निगरानीमा पूँजीवादले गति लिइरहेका बेला १७ वर्षीय यी युवा चीनका धेरै नयाँ उद्यमीहरूमध्ये एक थिए।
तर, डिङको योजना निकै ठुलो थियो। पछि उनको यो सानो व्यवसाय 'एन्टा' नामक स्पोर्ट्सवेयर पावर हाउसमा परिणत भयो। यसले आर्क'टेरिक्स र सालोमन लगायतका अन्तर्राष्ट्रिय ब्रान्डहरूको समूह खडा गरेको छ र हालसालै 'पुमा' कम्पनीमा पनि हिस्सेदारी किनेको छ। अहिले यो कम्पनीले नाइकी र एडिडास जस्ता विश्वविख्यात कम्पनीहरूलाई चुनौती दिन खोजिरहेको छ। डिङले सन् २००५ मै आफ्नो लक्ष्य व्यक्त गर्दै भनेका थिए, "हामी चीनको नाइकी होइन, बरु संसारको एन्टा बन्न चाहन्छौँ।"
पश्चिमा देशहरूमा एन्टा अझै पनि सबैको घरमा चिनिएको नाम नभए पनि चीनमा यसका १० हजार भन्दा बढी पसलहरू छन्। यसले फ्रीस्टाइल स्कीयर एलीन गु जस्ता चर्चित खेलाडीहरूलाई प्रायोजन पनि गर्दछ। गत फेब्रुअरीमा यसले अमेरिकाको लस एन्जलसस्थित बेभर्ली हिल्सको महँगो क्षेत्रमा आफ्नो पहिलो प्रमुख स्टोर (आउट लेट) खोलेको छ। डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा कर लगाएर अमेरिकामा रोजगारी फिर्ता ल्याउने प्रयास गरिरहेका बेला एन्टाले गरेको यो विश्वव्यापी विस्तारले चिनियाँ आपूर्ति श्रृंखला (Supply Chain) कति बलियो र प्रतिस्पर्धी छ भन्ने कुरा प्रस्ट पार्छ।
एन्टाको अर्थ "सुरक्षित कदम" हुन्छ। यसको उदय चीनमा कुनै अनौठो घटना मात्र होइन। दशकौँसम्म "विश्वको कारखाना" बनेको चीनले धेरै महत्त्वाकाँक्षी कम्पनीहरूलाई आफ्ना पुराना ग्राहक कम्पनीहरूसँगै प्रतिस्पर्धा गर्ने अवसर दिएको छ। सन् १९९१ मा स्थापित एन्टाले दक्षिण-पूर्वी प्रान्त फुजियानको जिनजियाङ सहरमा एउटा सानो उत्पादकको रूपमा सुरुवात गरेको थियो। जिनजियाङलाई सरकारले एउटा शान्त कृषि क्षेत्रबाट विश्वकै "जुत्ता राजधानी" को रूपमा विकास गर्यो। छिट्टै नै यहाँ नाइकी र एडिडास जस्ता ठुला कम्पनीहरूले उत्पादन लागत घटाउन लगानी गर्न थाले।
जिनजियाङ सहर र छिमेकी क्षेत्रहरूमा जुत्ताका विभिन्न पार्टपुर्जाहरू बनाउने कारखानाहरूको ठुलो सञ्जाल बन्यो। यहाँ हजारौँ कारखाना र आपूर्तिकर्ताहरू छन् जसले जुत्ताका लेस, सोल र कपडाहरू एकै ठाउँमा उपलब्ध गराउँछन्। यसले गर्दा कुनै पनि डिजाइनलाई तुरुन्तै उत्पादनमा बदलेर बजारमा पठाउन सजिलो हुन्छ। संयुक्त राष्ट्र संघको अनुमान अनुसार सन् २००५ सम्ममा विश्वभरका जुत्ताको झण्डै २० प्रतिशत हिस्सा फुजियानमै उत्पादन हुन्थ्यो। जिनजियाङका झण्डै एक तिहाइ कामदारहरू अझै पनि जुत्ता उत्पादनमै संलग्न छन्।
विज्ञहरूका अनुसार यस्तो स्तरको विशेषज्ञता विश्वमा अन्यत्र कतै पनि देखिँदैन। विदेशी ग्राहकहरूका लागि सामान बनाउँदा बनाउँदै चिनियाँ कम्पनीहरूले धेरै उत्पादन गर्ने मात्र होइन, बरु राम्रो र छिटो उत्पादन गर्न पनि सिके। एन्टाले सुरुमा विदेशी ब्रान्डका लागि सस्तोमा जुत्ता बनाउँथ्यो, तर बिस्तारै उसले चीनभरि आफ्नै वितरण सञ्जाल स्थापना गर्यो। सन् २००७ मा एन्टा हङकङ स्टक एक्सचेन्जमा सूचीकृत भयो र त्यस बेला चिनियाँ खेलकुद कम्पनीका लागि रेकर्ड मानिने ठुलो रकम लगानीको रूपमा जुटायो।
एन्टा जस्ता कम्पनीहरूले केवल अरूको सामान बनाउने (सब-कन्ट्र्याक्टर) हुनुभन्दा आफ्नै ब्रान्ड हुनुको मूल्य बढी छ भन्ने कुरा बुझेका छन्। शाओमी (Xiaomi) ले पनि सुरुमा सफ्टवेयरबाट सुरु गरेर अहिले फोन र गाडी बनाउन थालेको छ। त्यसै गरी DJI र BYD जस्ता कम्पनीहरूले पनि सुरुमा अरूका लागि पार्टपुर्जा बनाएर अहिले विश्वमै अग्रणी स्थान बनाएका छन्।
अहिले एन्टाले पश्चिमा बजारमा ध्यान दिइरहेको छ। चीन बाहिर पनि यसका ४६० भन्दा बढी पसलहरू छन् र आगामी तीन वर्षमा दक्षिण-पूर्वी एसियामा १,००० पसल खोल्ने योजना छ। नाइकीको विश्वभर जम्मा १,००० पसलहरू हुँदा एन्टाको सङ्ख्या निकै धेरै देखिए पनि पश्चिमा बजारमा अझै एउटा चुनौती बाँकी छ। त्यो हो— "चिनियाँ उत्पादन सस्तो र कमसल हुन्छ" भन्ने धारणा।
यो धारणा बदल्न एन्टाले विदेशी ब्रान्डहरू किन्न थाल्यो। सन् २००९ मा यसले फिला (Fila) को चिनियाँ अधिकार किन्यो। सन् २०१९ मा यसले फिनिस कम्पनी 'आमेर स्पोर्ट्स' किनेर आर्क'टेरिक्स र सालोमन जस्ता महँगा ब्रान्डहरू आफ्नो नियन्त्रणमा लियो। यसले टेनिस सामग्री बनाउने अमेरिकी कम्पनी 'विल्सन' र जर्मनीको 'पुमा'मा पनि ठुलो हिस्सेदारी किनेको छ। यस्ता कदमहरूले एन्टालाई "मेड इन चाइना" भन्न हिचकिचाउने ग्राहकहरूसम्म पुग्न मद्दत पुर्याएको छ।
एन्टाले बास्केटबल खेलाडीहरू क्ले थम्पसन र किरी इरभिङलाई पनि अनुबन्ध गरेको छ। तर, अमेरिका र चीनबिचको राजनीतिक तनावले कतिपय अवस्थामा अप्ठ्यारो पनि सिर्जना गर्ने गर्छ। एलीन गु जस्ता खेलाडीले अमेरिका छोडेर चीन रोज्दा विवाद पनि उत्पन्न भएको थियो।
यति बेला नाइकी र एडिडास जस्ता पुराना कम्पनीहरूले चीनमा बिक्री घट्ने र भन्सार शुल्क बढ्ने जस्ता समस्या झेलिरहेका छन्। यो अवस्था एन्टाका लागि अवसर बनेको छ। चीनले अहिले आफ्ना कारखानाहरूमा रोबोटहरू प्रयोग गरेर उत्पादनलाई अझ आधुनिक र तीव्र बनाइरहेको छ। एन्टाले अमेरिकामा नाइकी र एडिडाससँग प्रतिस्पर्धा गर्नु चुनौतीपूर्ण रहेको स्वीकार गरे पनि आफ्नो नयाँपन र ब्रान्डको मूल्यमा उनीहरू विश्वस्त छन्। कम्पनीका प्रवक्ताले भनेका छन्, "हामी प्रतिस्पर्धाको बारेमा यथार्थवादी छौँ, तर खेल प्रेमीहरूले हाम्रो गुणस्तरलाई चिन्नेछन् भन्नेमा हामी ढुक्क छौँ।"