'यी तीन कुरा बजेटमार्फत सम्बोधन गर्ने हाे भने बजार सकारात्मक हुन्छ'

May 14, 2026 06:34 PM Merolagani



पछिल्लो समय शेयर बजार निरन्तर घटेको छ । घट्नु पर्ने ठोस कारण बिनानै बजार निरन्तर गिरावट भएको हो ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा बजारमा पूँजी बजारमा संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्युचुअल फन्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तार गर्ने लक्षय लिएको छ । बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदन्ड अनुसार विकास गर्ने, धितोपत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनसंरचना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

ऋणबजार, बन्ड बजार र पूर्वाधार बन्डको विकास गरी दीर्घकालीन पूँजी निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रम सकारात्मक छन्। यद्यपि बजारमा त्यसको सकारात्मक प्रभाव नपर्नुमा लगानीकर्ताको विश्वास कमजोर भएको नेपाल शेयरधनी संघका उपाध्यक्ष कमलराज अधिकारी बताउँछन् । उनै अधिकारीसँग सुधा देवकोटाले गरेको कुराकानीः

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम शेयर बजारका लागि कस्तो छ?

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम पूँजी बजारका लागि अत्यन्तै सकारात्मक छ। नीति तथा कार्यक्रममा शेयर बजार समेटिएन भनेर सरकारलाई दोष दिनुपर्ने ठाउँ कतै देखिँदैन। सरकारको वार्षिक कार्यक्रममा वित्तीय क्षेत्रलाई सुदृढ बनाउन खोजेको प्रस्ट देखिन्छ। पूँजी बजारमा नयाँ उपकरणहरू भित्र्याउने, बजारलाई परिष्कृत गर्ने, संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्ने र स्थानीय तहलाई समेत लगानीमा जोड्ने जस्ता अत्यन्त राम्रा विषय समेटिएका छन्। विशेष गरी जलविद्युत क्षेत्रका प्रभावितहरूलाई मुआब्जाको सट्टा शेयर दिने व्यवस्थाले बजारलाई अझ चलायमान बनाउने सम्भावना देखिन्छ। समग्रमा भन्नुपर्दा, यो नीति तथा कार्यक्रम आर्थिक क्षेत्र र पूँजी बजारप्रति सकारात्मक रहेको छ।

नीति तथा कार्यक्रम सकारात्मक हुँदाहुँदै पनि बजारमा किन ठूलो गिरावट आयो? लगानीकर्ताले किन विश्वास गर्न सकेनन्?

हो, नीति तथा कार्यक्रम सकारात्मक रहदा रहदै बजारमा त्यसको प्रभाव देखिएकाे छैन् ।  लगानीकर्तामा बजार प्रतिको आत्मविश्वासको कमीका कारण यस्ताे भएकाे हाे। विगतमा पनि सरकारले ल्याएका कार्यक्रमहरू कार्यान्वयन नभई शब्दजालमा मात्र सीमित भएकाले लगानीकर्ताहरू सशङ्कित भएका हुन्। यद्यपि, वर्तमान सरकारको कार्यशैली हिजोको भन्दा फरक हुने अपेक्षा रहेको छ। अहिले बजारसँग सम्बन्धित पक्षहरु पनि अनुकुल रहेका छन्। तरलता र ब्याजदरको अवस्था बजार अनुकुल छ।

अहिले बजार गिरावट आउनुमा कतै न कतै सरकारले व्यवसायीहरूमाथि गरेको धरपकड र त्यसले सिर्जना गरेको मनोवैज्ञानिक त्रासले पनि काम गरेको छ। तर, अर्थमन्त्रीज्यूले नियमसम्मत काम गर्नेलाई राज्यले संरक्षण गर्ने प्रतिबद्धता जनाइसक्नु भएको छ। आजको गिरावटमा छिमेकी मुलुकका बजारको प्रभाव र केही अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमको कारण पनि घटेको हुनसक्ने अनुमान गर्न सकिन्छ।

अर्थमन्त्रीले अर्थसमितिमा दिएको अभिव्यक्तिले बजार प्रभावित भएको भनिन्छ नि, यसमा तपाईको धारणा के छ?

पूँजी बजार सिसाको घर जस्तै संवेदनशील हुन्छ। यसको संरक्षण गर्ने राज्यको जिम्मेवारी हो। यस्तो अवस्थामा राज्यको नेतृत्वमा रहेका व्यक्तिहरूले बोल्दा निकै सचेत हुनुपर्छ। अर्थमन्त्रीले संसदीय समितिमा दिएको केही अभिव्यक्तिका कारण लगानीकर्ताको सेन्टिमेन्ट कमजोर भएको हुन सक्छ। व्यवसायीलाई कारबाही गर्ने प्रक्रिया फौजदारी भन्दापनि जरिवाना वा प्रशासनिक दण्ड मार्फत टुङ्गयाउनु उपयुक्त हुने हो। राज्यले व्यवसायी र लगानीकर्ताहरूलाई सुरक्षित महसुस गराउन सक्नुपर्छ। जबसम्म लगानीकर्ताले आफू सुरक्षित छु भन्ने अनुभव गर्दैनन्। तबसम्म बजारले लय समात्न कठिन हुन्छ। सरकारले लगानीको वातावरण सिर्जना गर्नुपर्छ ।

समितिमा अर्थमन्त्तीले सकारात्मक कुरापनि बोलेका थिए। तर शेयर बजारले सधै नकारात्मक पक्षलाई मात्र किन बढी महत्त्व दिन्छ?

यसको मुख्य कारण लगानीकर्तामा अध्ययन र अनुसन्धानको कमी हुनु हो। धेरै लगानीकर्ताले आफूले लगानी गरेको कम्पनीको वास्तविक अवस्था नहेरी हल्लाको पछि लाग्ने गर्छन्। बजारमा छोटो समयका लागि अर्थात ७२ घण्टे ट्रेडिङ गर्न आउनेहरूको संख्या धेरै छ। जसले गर्दा बजार स्थिर हुन पाएको छैन। लगानीकर्ताले कम्पनीको फन्डामेन्टल पक्ष बुझेर लगानी गर्ने र होल्ड गर्ने क्षमता बढाउनु पर्छ। बजारमा ५० प्रतिशतले किन्ने र ५० प्रतिशतले बेच्ने हुँदा हल्लाले तुरुन्तै प्रभाव पार्छ। तर, वास्तविक लगानीकर्ताले यस्ता उतार चढावबाट डराउनु पर्दैन।

लगानीकर्ता यस्ता हल्लाबाट कसरी जोगिन सक्छन?

यो मामलामा लगानीकर्ता आफै सचेत हुनुपर्छ। अरूको सिफारिस वा लहलहैमा लागेर स्टक खरिद गर्नुभन्दा आफैले अध्ययन गर्नु राम्रो हुन्छ। बजारमा विभिन्न समूहले म्यानुपुलेट गर्ने प्रयास गरिरहेका हुन्छन्। त्यसलाई चिर्नका लागि लगानीकर्ताले कम्पनीको वित्तीय विवरण, लाभांश क्षमता र बजारको प्रवृत्ति बुझ्न जरुरी छ। आत्मविश्वास बढाएर सही समयमा लगानी गर्ने लगानीकर्ताले घाटा बेहोर्नु पर्दैन।

राष्ट्र बैंकको नौ महिनाको विवरण अनुसार बजारमा ठूलो मात्रामा शेयर कर्जा प्रवाह भएको छ। यो पैसा कहाँ छ ?

शेयर बजारमा आएको कर्जा बजारमै छ। नेपाल राष्ट्र बैंकको नौ महिनामा एक खर्ब ५९ अर्ब बढी कर्जा आएको छ । यो पैसा केही ठूला लगानीकर्ता र मझौला लगानीकर्ताले शेयर होल्ड गरेर बसेका छन्। अहिलेको समय भनेको सिजन हो। वैशाखमा किनेको शेयरले असार–साउनपछि प्रतिफल दिन थाल्छ। अहिले मूल्य निकै तल्लो बिन्दुमा छ। बैंक, माइक्रोफाइनान्स र हाइड्रोपावरको वित्तीय अवस्था हिजोको भन्दा सुदृढ हुँदै गएको छ। त्यसैले अहिले धैर्य गर्नेले भविष्यमा राम्रो प्रतिफल पाउने निश्चित छ।

ब्रोकरहरूले लिमिटमा कडाइ गरेका कारण पनि भोल्युम घटेको भनिन्छ नि?

नेप्सेले २५ प्रतिशत नगद मार्जिनको व्यवस्थालाई कडाइका साथ लागू गर्न खोज्दा केही प्रभाव परेको पक्कै हो। तर, यो नयाँ व्यवस्था भने होइन। केही ब्रोकरहरूले आफ्ना नजिकका वा ठूला लगानीकर्तालाई सहुलियत दिने र सानालाई कडाइ गर्ने गरेका गुनासाहरू आएका छन्। यो विभेदकारी हुनुहुँदैन। बजार शुद्धीकरणका लागि वास्तविक नगदमा आधारित कारोबार हुनु जरुरी छ। यसले बजारलाई पारदर्शी र स्वस्थ बनाउँछ। भोल्युम केही घटे पनि यसले बजारमा हुने फेक मागलाई घटाउँछ। लिमिटमा गरिएको कडाईले बजारलाई दीर्घकालीन रूपमा सकारात्मक नै हुन्छ।

सरकार आगामी आर्थिक वर्षको लागि बजेट निर्माणमा जुटेको छ। आगामी बजेटमा शेयर बजारका लागि के कस्ता कुराहरू समेट्नु पर्छ?

शेयर बजार सुधार, विकास र लगानीकर्ताको आत्म विश्वास बढाउने बजेट ल्याउनु पर्छ । सरकारले बजेटमार्फत मुख्यतः तीन कुरा सम्बोधन गर्नुपर्छ। पहिलो पूँजीगत लाभकरमा हुने गरेको दुविधालाई दीगो समाधान गर्नुपर्छ। हाल लाग्दै आएको ५ र ७.५ प्रतिशतको लाभकर नै अन्तिम करको व्यवस्था हुनुपर्छ। यसलाई बजेटमै स्पष्ट उल्लेख गरिनुपर्छ ताकि भविष्यमा लगानीकर्तामा लाभकरको विषयलाई लिएर अन्योल र दुविधामा रहन नपराेस। त्यसैगरी, गैरआवासीय नेपाली (एनआरएन)को लगानीलाई बजारमा भित्रयाउने नीतिलाई तत्काल कार्यान्वयन गर्नुपर्छ। साथै, विदेशी संस्थागत लगानी बंगलादेश र भारतमा जस्तै नेपालमा पनि विदेशी संस्थागत लगानी ल्याउने सरकारले बजेट मार्फत वातावरण बनाउनु पर्छ। यसले बजारमा ठूलो पूँजी र प्रविधि ल्याउनेछ। ठूलो पूँजी परिचालित हुने र बजारको दीगो विकास गर्नुपर्छ।

धितोपत्र बोर्डको नेतृत्व छनोट समितिका संयोजकले राजीनामा दिएपछि बोर्डको नेतृत्व चयान प्रकृया ढिलाइ भएको छ। यस्तो बेलामा धितोपत्र बजारको लागि कस्तो व्यक्तिकाे आवश्यकता छ ?

नेपाल धितोपत्र बोर्डको नेतृत्व चयन प्रक्रिया जतिसक्दो छिटो टुङ्गयाइनु पर्छ। यसपटक बोर्डको नेतृत्वमा आउन धेरै व्यक्तिहरुले चासो दिएका छन। यस पटक ४७ जना आवेदक हुनु बजारका लागि सुखद पक्ष हो। पूँजी बजारको विषयमा जानकार व्यक्तिहरु प्रतिस्पर्धात्मक र पारदर्शी हिसाबले योग्य व्यक्ति छनोट हुनुपर्छ। नेतृत्वमा आउने व्यक्ति पूँजी बजारको मर्म बुझेको र लगानीकर्ताको हितलाई केन्द्रमा राख्ने हुनुपर्छ। नेपाल राष्ट्र बैंकका अनुभवी व्यक्तिहरूले आवेदन दिनुले बोर्डको नेतृत्व अझ परिपक्व हुनेमा आशावादी हुन सकिन्छ ।

बजारमा लगानीकर्ताको विश्वास कमजोर भएको सूचकले देखाउछ । यस्तो बेला आम लगानीकर्तालाई के भन्न चाहनुहुन्छ?

अहिलेको बजार डराउनुपर्ने अवस्था होइन। डगमगाउनु पर्ने अवस्था छैन् । बरु यो त खरिद गर्ने उपयुक्त अवसर हो। लगानीकर्ताले रिच माइन्डसेट र उच्च मनोबलका साथ बजारमा प्रवेश गर्नुपर्छ। फन्डामेन्टल बलिया भएका कम्पनीहरू छानेर लगानी गर्नुहोस्। अहिलेको लगानीले दुई–तीन महिनाभित्रै राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ । साथै, मिडिया र नियामक निकायले पनि बजारको संवेदनशीलता बुझेर मात्र आफ्ना प्रतिक्रिया दिनुहुन म हार्दिक अनुरोध गर्दछु।