आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत धारणा सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले सम्झौता सम्पन्न नभएसम्म, यसको प्रमाणीकरण नभएसम्म र अन्तिम हस्ताक्षर नहुन्जेल नाकाबन्दी पूर्ण रूपमा प्रभावकारी रहने बताए । उनले सम्झौताका लागि दुवै पक्षले पर्याप्त समय लिएर सही निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए ।
राष्ट्रपति ट्रम्पले इरानलाई कुनैपनि हालतमा परमाणु हतियार विकास गर्न वा प्राप्त गर्न नदिने आफ्नो अडान पुनः दोहोर्याए। उनले हाल भइरहेको वार्ता प्रक्रिया व्यवस्थित र रचनात्मक ढंगले अघि बढिरहेको समेत जानकारी दिए । यसैबीच, इजरायली सरकारी स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएअनुसार ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इरानको परमाणु कार्यक्रम पूर्ण रूपमा बन्द नभएसम्म र आफ्नो क्षेत्रबाट सम्पूर्ण संवद्र्धित युरेनियम नहटाएसम्म कुनैपनि अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने आश्वासन दिएका छन् । अर्कोतर्फ, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले शनिवार इरान र अमेरिका युद्ध अन्त्यका लागि समझदारी पत्रलाई अन्तिम रूप दिन प्रयासरत रहेको बताएका थिए ।