निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द

May 27, 2026 12:36 PM Merolagani



नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले गम्भीर संकटमा पुगेको संकेत देखिएको छ। स्वास्थ्य बीमा बोर्डले आर्थिक अभावको कारण देखाउँदै देशभरका निजी अस्पतालमा आकस्मिक बाहेकका सबै स्वास्थ्य बीमा सेवा स्थगित गर्ने निर्णय गरेपछि लाखौं नागरिक अन्योलमा परेका छन्।

बोर्डले जारी गरेको सूचनाअनुसार जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट दिइँदै आएका बीमासम्बन्धी नियमित सेवा बन्द हुनेछन्।

यस निर्णयसँगै अब स्वास्थ्य बीमा गरेका नागरिकले निजी अस्पतालमा ओपीडी सेवा, स्वास्थ्य परीक्षण, शल्यक्रिया, औषधि तथा नियमित उपचार सहज रूपमा पाउने छैनन्। आकस्मिक सेवा भने यथावत रहने बताइएको छ। देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध ३६ वटा निजी अस्पताल तथा मेडिकल कलेज प्रत्यक्ष प्रभावित हुने भएका छन्।

सरकारले “सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच” भन्ने उद्देश्यसहित सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले भने आर्थिक संकट, प्रशासनिक कमजोरी र बक्यौता भुक्तानीका कारण धराशायी हुने अवस्थामा पुगेको भन्दै आलोचना बढेको छ। स्रोतकाअनुसार सरकारले वर्षौंदेखि निजी अस्पताललाई दिनुपर्ने अर्बौं रुपैयाँ भुक्तानी गर्न नसक्दा निजी क्षेत्र निरन्तर दबाबमा थियो। अन्ततः स्वास्थ्य बीमा बोर्ड सेवा कटौती गर्ने निर्णयमा पुगेको हो ।

 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।