दोस्रो बजारको उतारचढाव र बैंकहरूको घट्दो ब्याजदरका बीच कम्पनीले सुरक्षित र रणनीतिक लगानीमार्फत आफ्नो पोर्टफोलियोको औसत प्रतिफललाई ७.७५ प्रतिशतको बलियो बिन्दुमा टिकाइराख्न सफल भएको आइएएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले बताए ।
हाल चैत्र मसान्तसम्मको अपरिष्कृत वित्तीय अवस्था अनुसार कम्पनीको कुल वित्तीय स्रोतमा सेयरधनी कोष ७ अर्ब र बीमितहरूको लाइफ फन्डको आकार १८ अर्ब रुपैयाँ पुगिसकेको छ। यो विशाल सार्वजनिक पूँजीलाई नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिकाको परिधिभित्र रही जोखिम र प्रतिफलकोे सन्तुलन मिलाएर व्यवस्थापन गरिएको कम्पनीका प्रमुख कार्यकारी खड्काले दाबी गरे।
दीर्घकालीन लगानीले धान्यो घट्दो ब्याजदरको झट्का
बीमा प्राधिकरणको लगानी निर्देशिका अनुसार बीमा कम्पनीहरुले लगानीयोग्य रकमको ५० प्रतिशतभन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा राख्नुपर्ने व्यवस्था छ । ‘हाल वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर एकदमै न्यून अर्थात् २.७५ देखि ३ प्रतिशतको हाराहारीमा छ। यसले समग्र बीमा क्षेत्रको रिटर्नमा प्रश्न चिह्न खडा गरिरहँदा आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का भने कम्पनीको पोर्टफोलियो सुरक्षित रहेको दाबी गर्दै भन्छन्–‘अहिले बजारमा ब्याजदर निकै तल छ, तर हाम्रो २५ सय करोडको यो फन्ड यसै वर्ष मात्र उठेको होइन। हामीले विगत ७–८ वर्षदेखि संकलन हुँदै आएको कोषलाई बजार उच्च विन्दुमा रहेका बेला १० देखि ११ प्रतिशतसम्मको ब्याजदरमा ५ देखि १० वर्ष अवधिको दीर्घकालीन लगानीमा बाँधिराखेका छौँ। जसका कारण अहिलेको मन्दीले हाम्रा पोलिसी होल्डर र सेयरधनीको प्रतिफलमा असर गरेको छैन, हाम्रो औसत प्रतिफल ७.७ प्रतिशतमा पूर्ण सुरक्षित छ।’ उनका अनुसार बजारको यो सुस्ती बढीमा ६ महिनादेखि १ वर्ष मात्र लम्बिने र ऋणको माग बढ्नासाथ बजार पुरानै लयमा फर्किने आशा व्यक्त गरे ।
सेयर बजारमा ३ अर्ब बढीको पोर्टफोलियो, रियल सेक्टरमा पनि आँखा
नियामकले कुल लगानीयोग्य कोषको ६५ प्रतिशत हिस्सा वाणिज्य बैंकको एफडी र सरकारी सुरक्षण पत्रमा अनिवार्य गरे बमोजिम आईएमई लाइफले ५० प्रतिशतभन्दा बढी लगानी बैंकहरूको मुद्दती निक्षेपमा र झन्डै १० प्रतिशत हिस्सा ट्रेजरी बिल एवं सरकारी ऋणपत्रमा केन्द्रित गरेको छ।
नियामकको सीमा र सुरक्षा घेरालाई कायम राख्दै कम्पनीले पुँजी बजार र वास्तविक क्षेत्रमा समेत आफ्नो बलियो उपस्थिति जनाएको छ। सेकेन्डरी सेयर बजारमा अधिकतम १५ प्रतिशत लगानी गर्न पाउने कानुनी व्यवस्थाको भरपूर उपयोग गर्दै आईएमई लाइफले हाल १२ देखि १३ प्रतिशत हिस्सा अर्थात् करिब ३ अर्ब रुपैयाँ दोस्रो बजारमा परिचालन गरेको छ।
यसका साथै जलविद्युत, पर्यटन र पूर्वाधार जस्ता उत्पादनशील आयोजनाहरुमा कम्पनीले कुल कोषको २ प्रतिशत हाराहारी लगानी गरिसकेको सीइओ खड्काले जानकारी दिए । सार्वजनिक संस्थाको रकम परिचालन गर्दा संस्थापकको विश्वसनीयता, कम्पनीको सञ्चालन नाफा र लाभांश इतिहास हेरेर मात्र लगानी गरेको स्पष्ट पार्दै प्रमुख कार्यकारी खड्काले निकट भविष्यमै आयोजना लगानीलाई बढाएर ५ प्रतिशतको अधिकतम सीमासम्म पुर्याउने आक्रामक रणनीति रहेको खुलासा गरे । हाल कम्पनीले १.५ प्रतिशत लगानी प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल (पीइभीसी)मा समेत गरिसकेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत खड्काले अर्थतन्त्रमा बीमा क्षेत्रको प्रत्यक्ष योगदान ४ प्रतिशत र अप्रत्यक्ष योगदान ११ प्रतिशतसम्म रहेको उल्लेख गर्दै दीर्घकालीन पूँजी निर्माणका लागि राज्यले बीमालाई हेर्ने दृष्टिकोण बदल्नुपर्नेमा जोड दिए भने नागरिकलाई आर्थिक रूपमा सुरक्षित बनाउँदै मुलुकको पूर्वाधार विकासका लागि ठूलो आर्थिक स्रोत जुटाउन जीवन बीमा प्रिमियमको आयकर छुट सीमालाई हालको ४० हजार रुपैयाँबाट वृद्धि गरी तुरुन्तै १ लाख रुपैयाँ पुर्याउनुपर्ने माग समेत गरे । यस्तो नीतिगत सुधारले बजारमा दीर्घकालीन पुँजीको जग बलियो बनाउने र देशको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए।