ब्याजदर र शेयर बजारको सम्बन्ध किन कमजोर बन्दैछ ?

Jun 15, 2026 07:36 AM Merolagani



असार महिनाका लागि बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर थप घटाएका छन्। आइतबार मात्रै अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर घटाउँदै नयाँ सूचना सार्वजनिक गरेका छन्।

वित्तीय बजारको सामान्य नियमअनुसार शेयर बजार र ब्याजदरबीच सधैं विपरीत सम्बन्ध रहने मान्यता छ। अर्थात् ब्याजदर घट्दा शेयर बजार बढ्नुपर्ने हो। तर पछिल्लो समय नेपाली बजारले यो स्थापित सिद्धान्तलाई पूर्ण रूपमा चुनौती दिएको छ। अहिले बैंकको ब्याजदर र शेयर बजारबीच कुनै सम्बन्ध नै नभएको जस्तो देखिन थालेको छ। पछिल्ला वर्षहरूको तथ्याङ्क हेर्दा बैंकको ब्याजदर घट्दै जाँदा नेप्से परिसूचक पनि निरन्तर ओरालो लागेको देखिन्छ।

सामान्यतया वैशाख, जेठ र असार महिनालाई शेयर बजारको मुख्य सिजनका रूपमा लिने गरिन्छ। यस अवधिमा कम्पनीहरूले आर्थिक वर्षको अन्त्यसँगै नाफा आर्जन गर्ने तथा लाभांश घोषणा गर्ने तयारी गर्ने भएकाले विगतमा बजारमा उल्लेख्य चहलपहल र उत्साह देखिन्थ्यो। तर यस वर्षको अवस्था विगतभन्दा फरक छ। लगानीकर्ताहरू निराश छन्। मुलुकमा शक्तिशाली र स्थिर सरकार बनेको छ। सरकार गठन भएको झन्डै एक वर्ष पुग्न लाग्दासमेत शेयर बजारले अपेक्षित गति लिन सकेको छैन। बरु, एक दिनको सामान्य बढोत्तरीपछि अर्को दिनको तीव्र गिरावटले आम लगानीकर्ताको मनोबल झन् कमजोर बनाएको लगानीकर्ता मधुकर रायमाझी बताउँछन्।

सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरिसकेको छ। तर स्थिर सरकारले ल्याएको बजेटले पनि लगानीकर्ताको खस्किएको मनोबल उकास्न सकेन। अर्थतन्त्र सुस्ताएको अवस्थामा सरकारले नीतिगत रूपमा बजारलाई उत्साहित बनाउने तथा लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा उल्टै करको दायरा र भार बढाएको भन्दै लगानीकर्ताहरू असन्तुष्ट छन्। उनीहरूको आरोप छ, यस्तो नीतिले बजारमा नयाँ पुँजी भित्रिन कठिन बनाएको छ। बढेको कर तथा अनिश्चित नीतिगत वातावरणका कारण पुराना लगानीकर्तासमेत ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन्।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले मुलुकको शोधनान्तर स्थिति तथा विदेशी विनिमय सञ्चिति बलियो अवस्थामा रहेको देखाउँछ। तर यसको ठीक विपरीत आन्तरिक वित्तीय बजार भने सुस्त अवस्थामा छ। बैंकहरूमा अधिक तरलता थुप्रिएको छ र ब्याजदर इतिहासकै न्यून तहमा झरेको छ। तर पनि शेयर बजारमा कुनै उल्लेखनीय रौनक देखिएको छैन। एकातिर बैंकहरूमा कर्जाको माग कमजोर छ भने अर्कोतिर शेयर बजारमा माग बढाउने वातावरण बन्न सकेको छैन। आर्थिक गतिविधिलाई सन्तुलनमा ल्याउन खुकुलो नीति आवश्यक रहेको बेला राज्यले अपेक्षाकृत कडा नीति अवलम्बन गर्दा यस्तो असन्तुलन उत्पन्न भएको जानकारहरू बताउँछन्।

वर्तमान आर्थिक परिदृश्यको सबैभन्दा चुनौतीपूर्ण पक्ष भनेको निरन्तर घट्दो ब्याजदर हो। हाल वाणिज्य बैंकहरूको औसत निक्षेप ब्याजदर ३.२६ प्रतिशतमा सीमित भएको छ, जबकि उपभोक्ता मुद्रास्फीति ५ प्रतिशतभन्दा माथि छ। यसको अर्थ निक्षेपकर्ताहरूको वास्तविक क्रयशक्ति घट्दै जानु हो। बैंकमा पैसा राखेर मात्र पनि सर्वसाधारणको सम्पत्तिको वास्तविक मूल्य ह्रास भइरहेको अवस्था देखिन्छ।

एकातिर बैंकमा पैसा राख्दा पर्याप्त प्रतिफल प्राप्त हुँदैन, अर्कोतिर शेयर बजारमा लगानी गर्दा जोखिमको डर छ। यसले आम लगानीकर्तालाई दोहोरो दबाबमा पारेको छ। सामान्यतया ब्याजदर मुद्रास्फीतिभन्दा कम हुँदा विवेकशील लगानीकर्ताहरू शेयर बजारलाई वैकल्पिक तथा आकर्षक लगानी क्षेत्रका रूपमा हेर्ने गर्छन्। तर वर्तमान अवस्थामा त्यस्तो वातावरण निर्माण हुन सकेको छैन। अब सरकारले केवल सैद्धान्तिक सुधारका कुरा गरेर मात्र पुग्दैन। बजारप्रतिको विश्वास पुनःस्थापित गर्न तथा लगानी आकर्षित गर्न ठोस संरचनात्मक सुधारका कदम चाल्नुपर्ने आवश्यकता देखिएको लगानीकर्ताहरूको भनाइ छ।




नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री डा. वाग्ले

Jun 10, 2026 02:44 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताएका छन्।