केन्द्रीय निक्षेप प्रणाली (CDSC) ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२-८३ को वैशाख र जेठ महिनाको पूँजीगत लाभकर (CGT) संकलनको विवरणले यस्तो गिरावट देखाएको हो।
विवरण अनुसार वैशाख महिनाको तुलनामा जेठ महिनामा समग्र पूँजीगत लाभकर संकलनमा ५३.८८ प्रतिशत (करिब ५० करोड ४३ लाख ६७ हजार रुपैयाँ) को ठूलो संकुचन आएको छ। वैशाखमा सरकारले कुल ९३ करोड ६१ लाख ६८ हजार ९ सय ४५ रुपैयाँ ४८ पैसा पूँजीगत लाभकर संकलन गरेकोमा जेठ महिनामा यो रकम घटेर ४३ करोड १८ लाख १ हजार ९ सय ४ रुपैयाँ ६२ पैसामा सीमित हुन पुगेको छ।
नेपाली शेयर बजारमा अल्पकालीन कारोबारीहरू (शेयर खरिद गरेको १ वर्ष नपुग्दै बिक्री गर्ने व्यक्तिगत लगानीकर्ताहरू) को बाहुल्यता रहने गर्छ। जसले ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्छ। तथ्याङ्क अनुसार वैशाख महिनामा व्यक्तिगत अल्पकालीन लाभकरवापत ७० करोड ७६ लाख ९३ हजार ८४ रुपैयाँ ३९ पैसा संकलन भएको थियो। तर, जेठ महिनामा यस विधाको कर संकलनमा ७०.०७ प्रतिशत (४९ करोड ५८ लाख ५२ हजार २ सय २२ रुपैयाँ १७ पैसा) को व्यापक गिरावट आएको छ। जेठमा व्यक्तिगत अल्पकालीन लाभकरवापत मात्र २१ करोड १८ लाख ४० हजार ८ सय ६२ रुपैयाँ २२ पैसा संकलन भएको छ। यसले जेठ महिनामा अल्पकालीन कारोबारीहरू बजारमा कम सक्रिय रहेको वा उनीहरूले नाफा बुक गर्ने अवसर कम पाएको संकेत गर्छ।
शेयर खरिद गरेको १ वर्षभन्दा बढी अवधि राखेर बिक्री गर्ने व्यक्तिगत लगानीकर्ताहरू (दीर्घकालीन लगानीकर्ता) ले ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ। दीर्घकालीन लगानीकर्ताहरूबाट वैशाख महिनामा १८ करोड ५४ लाख ३९ हजार ४ सय ९९ रुपैयाँ ६ पैसा लाभकर संकलन भएको थियो। जेठ महिनामा यस विधामा पनि १४.७० प्रतिशत (२ करोड ७२ लाख ६१ हजार ६ सय ४१ रुपैयाँ ५२ पैसा) को गिरावट आएको छ। जेठ महिनामा व्यक्तिगत दीर्घकालीन लाभकरवापत १५ करोड ८१ लाख ७७ हजार ८ सय ५७ रुपैयाँ ५४ पैसा मात्र संकलन भएको छ। अल्पकालीन कारोबारीको तुलनामा दीर्घकालीन लगानीकर्ताहरूमा आएको गिरावट भने निकै कम र सामान्य मान्न सकिन्छ।
व्यक्तिगत लगानीकर्ताहरूको सक्रियता घटिरहँदा संस्थागत लगानीकर्ताहरू (कम्पनी तथा संस्थाहरू) भने जेठ महिनामा बढी सक्रिय देखिएका छन्। संस्थागत लगानीकर्ताहरूले नेपालमा १० प्रतिशत पूँजीगत लाभकर बुझाउनुपर्ने कानुनी व्यवस्था छ। वैशाख महिनामा संस्थागत पूँजीगत लाभकरवापत ४ करोड ३० लाख ३६ हजार ३ सय ६२ रुपैयाँ २ पैसा संकलन भएको थियो। तर, जेठ महिनामा यस विधामा आश्चर्यजनक रूपमा ४३.५६ प्रतिशत (१ करोड ८७ लाख ४६ हजार ८ सय २२ रुपैयाँ ८४ पैसा) को वृद्धि देखिएको छ। जेठ महिनामा संस्थागत लाभकरवापत कुल ६ करोड १७ लाख ८३ हजार १ सय ८४ रुपैयाँ ८६ पैसा संकलन भएको छ। यसले बजार घट्दा वा सुस्त हुँदा संस्थागत लगानीकर्ताहरूले शेयर बिक्री गरी नाफा सुरक्षित गरेको वा आफ्नो पोर्टफोलियो समायोजन गरेको स्पष्ट पार्छ।
करको आधारमा जेठ महिनामा कसले कति कमाए ? (लगानीकर्ताको खुद नाफा विश्लेषण)

नेपालको विद्यमान कर प्रणाली अनुसार व्यक्तिगत अल्पकालीनतर्फ ७.५ प्रतिशत, दीर्घकालीनतर्फ ५ प्रतिशत र संस्थागततर्फ १० प्रतिशत पूँजीगत लाभकर लाग्ने गर्छ। यसै कर संकलनको दरलाई आधार मान्दा जेठ महिनामा लगानीकर्ताहरूले कुल ६ अर्ब ६० करोड ५९ लाख ३३ हजार ८ सय २९ रुपैयाँ खुद नाफा (Capital Gains) आर्जन गरेका छन्।
व्यक्तिगत दीर्घकालीन लगानीकर्ता (५% करको आधारमा):
जेठ महिनामा १५ करोड ८१ लाख ७७ हजार ८ सय ५७ रुपैयाँ ५४ पैसा कर बुझाएका दीर्घकालीन लगानीकर्ताहरूले यस महिनामा कुल ३ अर्ब १६ करोड ३५ लाख ५७ हजार १ सय ५० रुपैयाँ ८० पैसा खुद नाफा कमाएका छन्।
व्यक्तिगत अल्पकालीन लगानीकर्ता (७.५% करको आधारमा):
२१ करोड १८ लाख ४० हजार ८ सय ६२ रुपैयाँ २२ पैसा कर तिरेका अल्पकालीन लगानीकर्ताहरूले जेठ महिनामा कुल २ अर्ब ८२ करोड ४५ लाख ४४ हजार ८ सय २९ रुपैयाँ ६० पैसा खुद नाफा बुक गरेका छन्।
संस्थागत लगानीकर्ता (१०% करको आधारमा):
६ करोड १७ लाख ८३ हजार १ सय ८४ रुपैयाँ ८६ पैसा कर बुझाएका संस्थागत लगानीकर्ताहरूले जेठ महिनामा कुल ६१ करोड ७८ लाख ३१ हजार ८ सय ४८ रुपैयाँ ६० पैसा खुद नाफा आर्जन गरेका छन्।
(तुलनात्मक रूपमा वैशाख महिनामा लगानीकर्ताहरूले कुल १३ अर्ब ५७ करोड ५० लाख ६१ हजार ३ सय ९३ रुपैयाँ खुद नाफा कमाएका थिए। जसमा अल्पकालीन कारोबारीहरूको मात्रै योगदान ९ अर्ब ४३ करोडभन्दा बढी थियो।)
चालु आर्थिक वर्षको कुल संकलन ९.५४ अर्ब नाघ्यो
जेठ महिनाको संकलनसँगै चालु आर्थिक वर्ष २०८२-८३ को जेठ मसान्तसम्ममा कुल पूँजीगत लाभकर संकलन ९ अर्ब ५४ करोड ४७ लाख ५८ हजार ७६ रुपैयाँ २ पैसा पुगेको छ। वैशाख मसान्तसम्म यो रकम ९ अर्ब ११ करोड २९ लाख ५६ हजार १ सय ७१ रुपैयाँ ४० पैसा रहेको थियो। चालु आर्थिक वर्षको अन्तिम महिना (असार) को तथ्याङ्क आउन बाँकी छँदै सरकारले शेयर बजारबाट साढे ९ अर्ब रुपैयाँभन्दा बढी राजस्व पूँजीगत लाभकरका रूपमा संकलन गर्न सफल भइसकेको छ।
बजारको प्रवृत्ति र संक्षिप्त विश्लेषण
यो तथ्याङ्कले जेठ महिनामा दोस्रो बजारमा खरिद-बिक्रीको चाप र लगानीकर्ताको मनोबल वैशाखको तुलनामा कमजोर रहेको स्पष्ट पार्छ। विशेषगरी व्यक्तिगत अल्पकालीन कारोबारीहरूले आफ्नो कारोबारको परिमाण उल्लेख्य रूपमा घटाएका छन्। बजारमा आएको सुस्ती र केही अन्योलका कारण लगानीकर्ताहरू "पर्ख र हेर" को रणनीतिमा बस्दा लाभकर संकलन प्रभावित भएको विश्लेषण गर्न सकिन्छ। अर्कोतर्फ, बजारको यस्तो उतारचढावका बीच पनि संस्थागत लगानीकर्ताहरूले भने आफ्नो नाफा बढाउन सकेको देखिन्छ। जुन बजार परिपक्वतातर्फ अघि बढेको संकेत पनि हो।