असार ३ गतेदेखि आईपीओ ल्याउने माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको कस्ताे छ क्रेडिट रेटिङ ?

Jun 16, 2026 06:04 PM Merolagani



माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले भोली अर्थात असार ३ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।

कम्पनीले १४ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। केयर रेटिङ्गले कम्पनीको रेटिङ्गमा सुधार गरेको हो। यस अघि कम्पनीको रेटिङ्ग केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग थियो। यसले कम्पनीको वित्तीय अवस्था पहिलेभन्दा थप सुरक्षित र बलियो बन्दै गएको देखाउँछ। यो रेटिङ्ग प्राप्त गर्ने कम्पनीहरूमा आफ्नो वित्तीय दायित्व (ऋणको सावाँ र ब्याज) समयमै भुक्तानी गर्न सक्ने क्षमतामा मध्यम जोखिम रहेको मानिन्छ।

रेटिङ्ग सुधारका मुख्य कारण

कम्पनीले सोलुखुम्बु जिल्लामा १२ मेगावाट क्षमताको दूधकुण्ड खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। रेटिङ्ग एजेन्सीका अनुसार कम्पनीका सबल पक्षहरू यसप्रकार छन्ः

समयभन्दा अगावै व्यापारिक उत्पादनः यो आयोजनाले २०८१ साउन १६ (जुलाई ३१, २०२४) देखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ। नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरिएको निर्धारित मिति (अक्टोबर १४, २०२४) भन्दा झन्डै साढे २ महिना अगाडि नै आयोजना सम्पन्न भएर उत्पादन सुरु भएका कारण कम्पनी जरिवानाबाट जोगिएको छ। यसलाई केयर रेटिङ्गले सकारात्मक पक्षको रुपमा लिएको छ।

राम्रो उत्पादन क्षमताः व्यावसायिक उत्पादन सुरु भएको पहिलो त्रैमासिक (आर्थिक वर्ष २०८१र८२ को पहिलो ३ महिना) मै आयोजनाले आफ्नो कुल क्षमताको करिब ९५ प्रतिशत विद्युत उत्पादन गर्न सफल भएको छ, जुन निकै उत्साहजनक हो। आयोजनाको कुल वार्षिक सम्झौता ऊर्जा ७ करोड ४ लाख युनिट रहेको छ।

अनुभवी प्रवर्द्धक समूहः कम्पनीको नेतृत्व जलविद्युत क्षेत्रमा लामो अनुभव भएका प्रवर्द्धकहरूले गरिरहेका छन्। कम्पनीको सञ्चालक समितिको अध्यक्षता अर्जुन प्रसाद पौडेलले गरेका छन्, जसको कम्पनीमा ४३.६७५ शेयर हिस्सा रहेको छ।

न्यून बजार जोखिमः नेपाल विद्युत प्राधिकरण ‘टेक अर पे’ ढाँचामा विद्युत खरिद सम्झौता भएकोले उत्पादित बिजुली बिक्री नहुने वा खेर जाने जोखिम छैन।

मुख्य चुनौती र व्यवस्थापकीय जोखिमहरू

रेटिङ्गमा सुधार र सुखद उत्पादनका बावजुद कम्पनीले भविष्यमा निम्न चुनौतीहरूको सामना गर्नुपर्ने देखिन्छः

नदीको बहावमा निर्भरताः यो ‘रन अफ रिभर’ प्रकृतिको आयोजना हो, जसमा पानी सञ्चित गर्ने ठूलो जलाशय हुँदैन। त्यसैले बैशाखदेखि मंसिरसम्म (वर्षायाममा) नदीमा पानीको बहाव उच्च हुँदा उत्पादन बढी हुन्छ तर हिउँदका महिनाहरूमा खोलामा पानी घट्दा उत्पादन र आम्दानी दुवै सिधै खुम्चिन पुग्छ।

प्राकृतिक प्रकोपको खतराः पहाडी तथा हिमाली भूभागमा आयोजना रहेकाले बाढी, पहिरो वा भूक्षय जस्ता प्राकृतिक भवितव्यले आयोजनाको भौतिक संरचना वा विद्युत प्रसारणमा क्षति पुर्‍याउन सक्ने जोखिम सधैं रहन्छ।

प्रसारण लाइन र काउन्टरपार्टी जोखिमः उत्पादित बिजुली राष्ट्रिय प्रसारण ग्रिडमा जोड्नका लागि उचित व्यवस्थापन आवश्यक पर्छ। यद्यपि हालका लागि प्रसारण जोखिम मध्यमस्तरको रहेको प्रतिवेदनमा उल्लेख छ।

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले समयभन्दा अगावै आयोजना सम्पन्न गरेर र सुरुवाती महिनामै उत्कृष्ट उत्पादन गरेर जलविद्युत क्षेत्रमा सकारात्मक उदाहरण प्रस्तुत गरेको छ। हिउँद महिनाको नदी प्रवाह र आगामी दिनमा जारी हुने आईपीओको सफलताले कम्पनीको दीर्घकालीन वित्तीय मार्गचित्र तय गर्ने देखिन्छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।