नेपाल बीमा प्राधिकरणले नियमनकारी व्यवस्थामा ल्याएको परिमार्जन र बीमा कम्पनीहरूले अन्तर्राष्ट्रिय मापदण्डको वित्तीय विवरण (एनएफआरएस/आईएफआरएस १७) तथा जोखिममा आधारित पूँजी (रिस्क–बेस्ड क्यापिटल) को मोडेल अवलम्बन गरेसँगै एक्चुअरी सेवाका लागि विश्वका विभिन्न मुलुकबाट विशेषज्ञहरू भित्र्याउन थालिएको हो।
पहिले नयाँ बीमालेख (प्रडक्ट) डिजाइन, दायित्व मूल्याङ्कन (भ्यालुएसन) र बोनस दर घोषणाका लागि शतप्रतिशत भारतीय एक्चुअरीमा निर्भर हुनुपर्ने बाध्यता थियो। तर पछिल्लो समय नेपाली बीमकहरूले हङकङ, ताइवान, पाकिस्तान, मलेसिया, अमेरिका र बेलायतबाट समेत एक्चुअरी नियुक्त गरी सेवा लिन थालिएको छ । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले ताइवानको एक्चुअरीबाट काम लिन थालेको जानकारी दिए ।
भारत इन्स्टिच्युट अफ एक्चुअरीज अफ इन्डिया (आईएआई)बाट उपाधि प्राप्त एक्चुअरीहरूको बजार भौगोलिक सुगमता र समान सांस्कृतिक परिवेशका कारण अझै पनि ठूलो छ। तर पहिले जस्तो एकाधिकार (मोनोपोली) भने अब रहेन। हाल उनीहरू परम्परागत जीवन बीमाको बोनस भ्यालुएसन र आन्तरिक लेखापरीक्षण सहयोगमा बढी सीमित हुँदै गएका छन्।
भारतीय एक्चुअरीको विकल्प खोज्नुका मुख्य कारणहरू
भारतका फेलो एक्चुअरीहरूको संख्या त्यहाँको आफ्नै विशाल बजारका कारण सधैं व्यस्त रहन्छ। विगतमा भारतीय एक्चुअरीहरूले समयमै प्रतिवेदन नदिँदा नेपालका बीमा कम्पनीहरूको वार्षिक साधारण सभा (एजीएम) रोकिने र वित्तीय विवरण स्वीकृत हुन १–२ वर्षसम्म ढिलाइ हुने गरेको तीतो यथार्थ छ। यो समय र ढिलाइको समस्या (टाइम डिले) नै विविधीकरणको मुख्य कारण बन्यो।

अर्कोतर्फ नयाँ अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान (आईएफआरएस १७) लागू भएपछि बीमा कम्पनीहरूको सम्पत्ति र दायित्वको मूल्याङ्कन निकै जटिल बनेको छ। यसका लागि विश्वस्तरीय सफ्टवेयर र प्रविधि चलाउन सक्ने वैश्विक (ग्लोबल) एक्चुअरीहरूको आवश्यकता परेको हो। साथै नेपाल बीमा प्राधिकरणले ‘बीमकको एक्चुअरी नियुक्ति सम्बन्धी निर्देशिका’ परिमार्जन गर्दै विश्वका जुनसुकै मान्यता प्राप्त देशका फेलो एक्चुअरीलाई नेपालमा काम गर्न बाटो खुला गरिदिएपछि कम्पनीहरूलाई विकल्प रोज्न कानुनी सहजता मिलेको हो। यही कारण अहिले बीमा कम्पनीहरुले कम्पनी ऐनले तोकेको समयमै साधारण सभा समेत गर्न सकेका छन् । २ वर्ष अगाडिसम्म जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष सकेको ९ देखि १२ महिनामा मात्रै साधारण सभा सम्पन्न गर्ने गरेको विगत थियो भने गत वर्ष अधिकांश बीमा कम्पनीहरुले पुस मसान्त अगावै साधारण सभा सम्पन्न गरेका थिए ।
बजारमा परेको सकारात्मक प्रभाव
ग्लोबल एक्चुअरीहरूको प्रवेशसँगै नेपाली बीमा बजारमा स्वस्थ प्रतिस्पर्धा सुरु भएको छ। कम्पनीहरूले नयाँ र नवप्रवर्तनात्मक (इनोभेटिभ) बीमा योजनाहरू छिटो बजारमा ल्याउन सकेका छन्। भारत केन्द्रित एकाधिकार तोडिँदा सेवा शुल्कमा पनि बार्गेनिङ गर्ने ठाउँ मिलेको र काममा समेत व्यावसायिक उत्तरदायित्व (एकाउन्टेबिलिटी) बढेको सीईओहरू बताउँछन्।
नेपालभित्रै जनशक्ति उत्पादनको पहल
विदेशी एक्चुअरीमाथिको परनिर्भरता दीर्घकालीन रूपमा हटाउन नेपाल बीमा प्राधिकरण र देशका विश्वविद्यालयहरूले पनि कम्मर कसेका छन्। त्रिभुवन विश्वविद्यालयले एक्चुअरियल साइन्समा स्नातक (बीएससी एक्चुअरियल साइन्स) कार्यक्रम सञ्चालन गरिरहेको छ। हाल बजारमा सयौँको संख्यामा नेपाली ‘एक्चुअरियल एनालिस्ट’ हरू तयार भइसकेका छन्, जसले विदेशी एक्चुअरीहरूलाई डाटा प्रोसेसिङ र ब्याक–अर्डर काममा सहयोग गरिरहेका छन्। अबको केही वर्षमा नेपालकै पूर्ण एक्चुअरी (फेलो एक्चुअरी) उत्पादन भई परनिर्भरता अन्त्य हुने अपेक्षा गरिएको छ।