साविकका विभिन्न वित्तीय संस्थाहरूको मर्जरपछिको संक्रमणकालदेखि पछिल्लो समयको आर्थिक शिथिलताकाबीच पनि राम्रो व्यवस्थापन गर्दै बैंकलाई राष्ट्रिय स्तरको एक अब्बल विकास बैंकको रूपमा उभ्याउन बोहराको कार्यकालमा महत्वपूर्ण काम भएका छन् । लुम्बिनीमा आउनु अघि उनले नेपाल बंगलादेश बैंकमा लामो समय बिताएका थिए भने देवः विकास बैंकको डेपुटी सीइओको रुपमा कार्यरत थिए । देवः विकास बैंक पछि कुमारी बैंकमा मर्जर भएको थियो । उनले नारायणी नेसनल फाइनान्समा समेत सीइओको रुपमा काम गरेका थिए ।
फरक कार्य संस्कृतिको व्यवस्थापन
बोहराले बैंकको नेतृत्व सम्हाल्दा सबैभन्दा ठूलो चुनौती मर्जरबाट आएका फरक कार्य संस्कृतिलाई एकाकार गर्नु थियो। साविकको भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक गाभिएर बनेको ‘भिबोर सोसाइटी डेभलपमेन्ट बैंक’ र ‘लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी’ बीच २०७४ सालमा ठूलो मर्जर भई ‘लुम्बिनी विकास बैंक’ बनेको थियो। यी संस्थाहरूको पृष्ठभूमिमा भाजुरत्न फाइनान्स, वीरगन्ज फाइनान्स र हिमचुली विकास बैंक जस्ता संस्थाहरूको पनि इतिहास जोडिएको थियो। बोहराले पदभार ग्रहण गरेलगत्तै ‘निरन्तर सहयात्रा’ को मूल दर्शनसहित सम्पूर्ण कर्मचारीलाई एउटै छातामुनि गोलबद्ध गरेर बलियो कर्पोरेट कल्चर निर्माण गरे।
यसका साथै, २०७६ सालमा नेपालगन्जमा मुख्य कार्यालय रहेको ‘भार्गव विकास बैंक’लाई सफलतापूर्वक प्राप्ति (एक्विजिसन) गरेर पश्चिम नेपालमा समेत बैंकको व्यवसाय र सञ्जाललाई आक्रामक रूपमा विस्तार गर्न बोहरा नेतृत्व सफल रह्यो।
खुद्रा निक्षेप र कर्जा विविधीकरणमा जोड
यो ८ वर्षको अवधिमा बैंकको वासलातको आकारमा झन्डै तीन गुणाले बढेकोे छ। संस्थागत निक्षेपमा मात्र निर्भर नभई सर्वसाधारणको खुद्रा निक्षेप संकलनमा बैंकले जोड दियो। कर्जा प्रवाहलाई घरजग्गा वा सेयर बजार जस्ता उतारचढाव हुने क्षेत्रमा मात्र सीमित नराखी साना तथा मझौला उद्यम (एसएमई), कृषि, उत्पादनशील क्षेत्र र विपन्न वर्ग कर्जामा विविधीकरण गरियो। यस रणनीतिक कदमले बजारमा तरलता संकट आउँदा समेत बैंकको आधारभूत व्यवसाय हल्लिन पाएन।
२०७४ चैत्रतिर बैंकको चुक्ता पूँजी २.२१ अर्ब रुपैयाँ, निक्षेप संकलन १९.५६ अर्ब रुपैयाँ र कर्जा प्रवाह १७.२१ अर्ब रुपैयाँमा सीमित थियो । अहिले २०८२ को चैत्र मसान्तसम्म आइपुग्दा बैंकको रणनीति र सञ्जाल विस्तारका कारण निक्षेप झन्डै ३ गुणाले बढेर ५८ अर्ब निक्षेप र कर्जा लगानी ४८ अर्ब रुपैयाँमाथि पुगिसकेको छ। चुक्ता पूँजी बढेर ३.५२ अर्ब रुपैयाँ भन्दा माथि पुग्दा जगेडा कोष पनि १.०८ अर्ब रुपैयाँबाट वृद्धि भई २.५० अर्ब रुपैयाँ भन्दा बढीको मजबुत स्थितिमा पुगेकोे छ।
वित्तीय सूचकहरू र शेयरधनीको प्रतिफलका हिसाबले पनि यो सन्तुलित छ। २०७४ चैत्रमा २२.६८ करोड रुपैयाँ रहेको तेस्रो त्रैमासको खुद नाफा हाल बढेर ४२ करोड रुपैयाँको हाराहारीमा पुगेको छ, जसले गर्दा पूँजी वृद्धिका बाबजुद बैंकको प्रतिशेयर आम्दानी १५.५० देखि १८ रुपैयाँको बीचमा कायम रहँदै आएको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ पनि १४९.०६ रुपैयाँबाट सुधार भई १७० रुपैयाँ भन्दा माथि पुगेको छ, जसले दोस्रो बजारमा लुम्बिनी विकास बैंकको साखलाई थप बलियो बनाएको छ। पछिल्ला वर्षहरूमा समग्र अर्थतन्त्रमा आएको शिथिलताका कारण बैंकिङ क्षेत्रमा खराब कर्जाको चुनौती थपिँदा समेत बैंकले आफ्नो एनपीएललाई २.५% देखि ३.५% को सीमाभित्रै व्यवस्थापन गर्न सफल भएको छ।
कोभिड महामारीमा पनि राम्रो प्रतिफल
बोहराको कार्यकालको मध्यतिर सुरु भएको कोभिड–१९ को महामारी र त्यसपछिको चरम तरलता अभाव तथा उच्च ब्याजदरको चुनौती बैंकिङ क्षेत्रका लागि निकै कष्टकर रह्यो। यस्तो विषम परिस्थितिमा धेरै बैंकहरूको खराब कर्जा ह्वात्तै बढ्दा लुम्बिनी विकास बैंकले भने कडा जोखिम व्यवस्थापन र सुदृढ कर्जा अनुगमन प्रणाली लागू ग¥यो। संस्थागत सुशासनमा ‘जिरो टोलरेन्स’ नीति अपनाएकै कारण बैंकले खराब कर्जालाई नियन्त्रणभित्रै राख्न सफल भयो। नाफा संकुचित भएको कठिन समयमा समेत आफ्ना सेयरधनीलाई निरन्तर उचित लाभांश वितरण गरेर बैंकले लगानीकर्ताको भरोसा कायमै राख्यो।
डिजिटल रूपान्तरणको शुरुवात
बोहराको कार्यकाललाई लुम्बिनी विकास बैंकको प्राविधिक रुपमा धेरै अगाडि बढेको समयको रुपमा लिँदा हुन्छ । बैंकको ‘एलबीएल स्मार्ट एप’ लाई अत्याधुनिक ओम्नी–च्यानल प्रणालीमा अपग्रेड गरियो, जसले ग्राहकलाई शाखासम्म पुग्नुपर्ने बाध्यतालाई अन्त्य ग¥यो। खुद्रा बजारलाई लक्षित गर्दै देशैभरि क्युआर कोड मर्चेन्टको विस्तार, अनलाइनबाटै खाता खोल्ने सुविधा र डिजिटल भुक्तानी प्रणालीको प्रवद्र्धनले बैंकलाई नयाँ पुस्ताको प्रविधिमैत्री बैंकका रूपमा स्थापित गराएको छ।
हाल देशका सातै प्रदेशमा ८५ भन्दा बढी शाखा सञ्जाल र विस्तारित एटीएम नेटवर्कसहित लाखौँ ग्राहकलाई सेवा दिइरहेको लुम्बिनी विकास बैंकलाई सीईओ बोहराले एक सुरक्षित र बलियो धरातलमा उभ्याएका छन्। आगामी महिना उनी बैंकबाट बिदा हुँदै गर्दा नयाँ आउने नेतृत्वका लागि उनले कोरेको प्रविधिमैत्री मार्गचित्र निकै फलदायी हुने विश्लेषकहरुकाे दाबी छ।