नेप्से घट्ने क्रम जारी, कारोबार रकम भने बढ्यो

Jun 24, 2026 03:08 PM Merolagani



बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १४.४५ अंक घटेर २६६०.०२ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.६० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब ३६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३८ स्टकको ७२ हजार ९१७ पटकको कारोबारमा ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार रुपैयाँबराबरको १ करोड ७ लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन यी दुबै कम्पनीको शेयरमूल्य ५९ रुपैयाँ ५० पैसा बढेर ४५६ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन भुजुङ्ग हाइड्रोपावरको शेयरमूल्य साढे १४ प्रतिशतभन्दा बढी बढेको छ भने सिवाईसी नेपाल लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य यस दिन सर्वाधिक ५.०५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड ६२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सोपान फर्मास्यूटिकल्सको कारोबार रकम १७ करोड रुपैयाँ नाघेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको करिब १२ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१० प्रशित घटेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।