विश्वकप इतिहासमा हारपछि खेलाडीमाथि परेको सामाजिक, मानसिक र कहिलेकाहीँ शारीरिक आक्रमणका घटनाहरूले खेलको भावनात्मक तीव्रता उजागर गर्छन् ।
विश्वकप फुटबलको मैदानमा जित्नेले पाउनुसम्मको सम्मान र सम्पत्ति पाउँछन्, तर पराजित हुनुपर्दा कहिलेकाहीँ खेलाडीहरूले बेहोर्नुपर्ने अपमान र सजाय निकै दर्दनाक र अमानवीय हुने गरेको छ । अहिले भइरहेको विश्वकपमा पराजित भएपछि जर्मनी, दक्षिण कोरियालगायतका देशका खेलाडीहरुलाई अपमानित गरिएका समाचार आइरहेका छन् । फुटबल इतिहासलाई पल्टाएर हेर्ने हो भने, विश्वकपमा खराब प्रदर्शन गरेकै वा आत्मघाती गोल गरेकै कारण खेलाडीहरूले जेल बस्नुपरेको, सर्वसाधारणबाट थुकाइ सहनुपरेको र ज्यानै समेत गुमाउनुपरेको कालो इतिहास छ।

विश्वकप इतिहासमा खेल हारेपछि खेलाडीहरूलाई सबैभन्दा बढी अपमान र क्रूर सजाय दिइएका ५ ऐतिहासिक घटनाहरू यसप्रकार छन्:
कोलम्बिया आत्मघाती गोलको बदलामा हत्या-विश्वकप १९९४
फुटबल इतिहासकै सबैभन्दा क्रूर र दुःखद घटना सन् १९९४ को अमेरिका विश्वकपपछि कोलम्बियामा घटेको थियो। कोलम्बियाका डिफेन्डर एन्ड्रेस एस्कोबारले संयुक्त राज्य अमेरिका विरुद्धको खेलमा झुक्किएर आत्मघाती गोल गर्न पुगे, जसका कारण कोलम्बिया विश्वकपको समूह चरणबाटै बाहिरियो।
विश्वकपबाट फर्किएको केही दिनपछि, २ जुलाई १९९४ मा एस्कोबारलाई कोलम्बियाको मेडेलिन सहरको एउटा रेष्टुरेन्ट बाहिर घेरेर गोली हानी हत्या गरियो । हत्याराले उनलाई ६ पटक गोली हान्दा हरेक पटक फुटबल कमेन्टेटरले जस्तै गोल भन्दै चिच्याएर उनको अपमान गरेका थिए। यो घटना खेल हारेकै कारण खेलाडीले ज्यान गुमाउनुपरेको इतिहासकै सबैभन्दा बीभत्स रूप हो।
इङ्गल्याण्ड: पुत्ला दहन र रंगभेदी दुर्व्यवहार -विश्वकप १९९८ र युरो २०२०
आधुनिक फुटबलको जननी मानिने इङ्गल्याण्डमा पनि खेलाडीहरूले हारपछि निकै ठूलो सामाजिक अपमान सहेका छन्। सन् १९९८ को विश्वकपमा अर्जेन्टिना विरुद्धको खेलमा रेड कार्ड पाएर बाहिरिएपछि डेभिड बेकह्याम रातारात बेलायतको सबैभन्दा बढी घृणित व्यक्ति बने। बेलायती मिडियाहरूले उनको अनुहारको तस्बिर डार्ट बोर्डमा राखेर छापे भने लन्डनका सडकहरूमा उनको पुत्ला झुन्ड्याएर दहन गरियो। उनलाई लामो समयसम्म रंगशालामा देशद्रोही भन्दै गिज्याइयो।
विश्वकप मात्र नभई सन् २०२१ मा भएको युरो कप फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा हारेपछि पेनाल्टी मिस गर्ने तीन अश्वेत खेलाडीहरू (मार्कस रासफोर्ड, जेडन सान्चो र बुकायो साका) माथि बेलायती समर्थकहरूले चरम रंगभेदी दुर्व्यवहार र अपमान गरेका थिए, जसको विश्वभर निन्दा भएको थियो।
यी घटनाहरूले देखाउँछन् कि फुटबल मैदानको हार जित कहिलेकाहीँ खेलको दायरा नाघेर राष्ट्रिय प्रतिष्ठा र कट्टरताको विषय बन्न पुग्छ, जसको प्रत्यक्ष र अमानवीय मार मैदानमा देशका लागि पसिना बगाउने खेलाडीहरूमाथि नै पर्ने गर्छ।
उत्तर कोरिया: अपमानजनक सार्वजनिक सुनुवाइ र श्रम शिविर-विश्वकप २०१०
सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा ४४ वर्षपछि छनोट भएको उत्तर कोरियाली टोलीले पोर्चुगलसँग ७-० को लज्जास्पद हार बेहोर्नुपरेको थियो।
विश्वकपबाट फर्किएपछि उत्तर कोरियाली सरकारले टोलीका खेलाडी र प्रशिक्षक किम जोंग हुनलाई पिपुल्स प्यालेस अफ कल्चरमा ६ घण्टा लामो सार्वजनिक सुनुवाइमा उभ्याएको थियो। त्यहाँ ४०० भन्दा बढी सरकारी अधिकारी, विद्यार्थी र सर्वसाधारणका अगाडि खेलाडीहरूलाई देशको विश्वासमाथि घात गरेको भन्दै अपमानित गरियो। टोलीका मुख्य प्रशिक्षकलाई राष्ट्रिय गद्दार घोषणा गरियो र सजाय स्वरूप कठोर श्रम शिविरमा पठाइएको थियो।
इटाली: सर्वसाधारणबाट टमाटर र कुहिएका अण्डा प्रहार-विश्वकप १९६६
सन् १९६६ को इङ्गल्याण्ड विश्वकपमा फुटबलको महारथी मानिने इटाली इतिहासकै सबैभन्दा ठूलो उलटफेरको सिकार भयो। उसलाई तुलनात्मक रूपमा निकै कमजोर मानिएको कोरियाले १-० ले हराएर विश्वकपबाट बाहिर निकालिदियो।
यो लज्जास्पद हारबाट इटालियन प्रशंसकहरू यति आक्रोशित भए कि उनीहरूले खेलाडीहरूलाई देश भित्रिन नदिने चेतावनी दिए। आक्रोशबाट बच्न इटालियन टोली रातिको समयमा लुकीलुकी जेनोआ विमानस्थलमा ओर्लिएको थियो। तर, त्यहाँ पहिले नै कुरेर बसेका हजारौँ आक्रोशित समर्थकहरूले खेलाडीहरूलाई घेरेर कुहिएका अण्डा र टमाटर प्रहार गर्दै थुकेका थिए। खेलाडीहरूले प्रहरीको घेराभित्र लुकेर ज्यान जोगाउनुपरेको थियो।
ब्राजिल: देशकै सबैभन्दा बढी घृणित पात्र बनेका गोलकिपर- विश्वकप १९५०
ब्राजिलमा फुटबललाई धर्म मानिन्छ, र त्यहाँ सन् १९५० को विश्वकप फाइनलमा घरेलु मैदान (मराकाना स्टेडियम) मा उरुग्वेसँग २-१ को हार बेहोर्नुलाई राष्ट्रिय शोकु मानिन्छ, जसलाई मराकानाजो भनिन्छ।
उक्त खेलमा उरुग्वेले गरेको दोस्रो गोल रोक्न नसकेको आरोपमा ब्राजिलका गोलकिपर मोआसिर बार्बोसालाई जीवनभरका लागि अपशकुन र खलनायकको ट्याग झुन्ड्याइयो। उनलाई सार्वजनिक ठाउँमा हिँड्दा समेत मानिसहरूले औँला ठड्याएर अपमान गर्थे। मृत्युभन्दा केही समयअघि बार्बोसाले रोँदै भनेका थिए-ब्राजिलमा अधिकतम सजाय ३० वर्षको जेल हुन्छ, तर मैले नगरेको अपराधको सजाय ५० वर्षसम्म भोग्नुपर्यो ।