एटलान्टा स्टेडियममा भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै इङ्गल्याण्डले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो। थॉमस टुचेलको टोली खेलको अधिकांश समय दबाबमा देखिए पनि कप्तानको क्लिनिकल प्रदर्शनले विश्वकपको यात्रा जीवितै राख्यो।
आफ्नो इतिहासमा पहिलो पटक विश्वकपको नकआउट चरण खेलिरहेको डीआर कङ्गोले खेलको सातौँ मिनेटमै अग्रता लिएर सबैलाई स्तब्ध बनायो। चान्सल म्बेम्बाको क्रस डिफेन्डर ड्जेड स्पेन्सले क्लियर गर्न नसक्दा बायाँ विङ्गर ब्रायन सिपेङ्गाले जोर्डन पिकफोर्डलाई बिट गर्दै नजिकैको पोस्टबाट गोल गरे। गोल खाएपछि इङ्गल्याण्डले गोलका लागि निकै संघर्ष गर्यो। जुड बेलिङ्घमका दुई उत्कृष्ट हेडरलाई कङ्गोका गोलकिपर लियोनेल म्पासीले बचाए भने मार्कस रासफोर्डको प्रहारलाई आरोन वान(बिसाकाले गोललाइनबाट क्लियर गरिदिए। कङ्गोका योआने विसाको प्रहार पोस्टमा ठोक्किँदा इङ्गल्याण्ड थप संकटबाट जोगिएको थियो।
मुख्य प्रशिक्षक टुचेलले दोस्रो हाफमा विङ्गरहरू परिवर्तन गरेपछि खेलको दिशा बदलियो। मैदान प्रवेश गरेका विकल्प खेलाडी एन्थोनी गोर्डनको उत्कृष्ट क्रसमा ह्यारी केनले हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। खेल अतिरिक्त समयतर्फ धकेलिने सम्भावना बढिरहँदा ८६औँ मिनेटमा केन पुनः नायक बने। गोर्डनकै पासमा केनले डी–बक्सको किनाराबाट डिफेन्डरहरूको भीडबीच बललाई जोगाउँदै उत्कृष्ट टर्न गरेर शक्तिशाली प्रहारमार्फत बललाई टप कर्नरको जाली चुमाए।
डीआर कङ्गोको कठिन चुनौती पन्छाएसँगै इङ्गल्याण्डले अब क्वाटरफाइनल प्रवेशका लागि आगामी आइतबार एस्टाडियो एज्तेकामा सह–आयोजक मेक्सिकोको सामना गर्नेछ। मेक्सिकोले यसअघि इक्वेडरलाई २–० ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरिसकेको छ।