काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा पछिल्लो हप्ता मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
वर्षाका कारण नेपालमा वर्षेनी सडडमार्ग, पुल, जलविद्युत् आयोजनालगायतका क्षेत्रमा ठूलो क्षति हुने गरेको छ । वर्षासँगै आउने बाढीका कारण सडकसञ्जाल बिच्छेद भइ आम नागरिकले सास्ती खेप्नुपर्ने बाध्यता रहँदै आएको छ ।
यसवर्षको मनसुनी वर्षाले देशका ठूला तथा साना सडकमार्ग र पुलहरुमा क्षति गराउन सक्ने उत्तिकै सम्भावना छ । मनसुनजन्य विपद् न्यूनीकरणका लागि सरकारले पनि पूर्वतयारी गरेको दाबी गरिरहेको छ ।

मनसुनअघि नै गर्नुपर्ने पूर्वतयारी नगरिँदा ठूलो धनजनको क्षति हुने गरेको तथ्य लुकेको छैन् । बर्षा हुने बित्तिकै हाम्रा सडक राजमार्गहरु अवरुद्ध हुने गरेका छन् । जसका कारण आम सर्वसाधारण जनताले घण्टौंसम्म सास्ती खेप्नुपर्ने बाध्यता रहँदै आएको छ ।
मनसुनी विपद् न्यूनीकरणका लागि अहिलेको सरकारले पनि आवश्यक तयारी गरिरहेको जनाएको छ । खासगरी, पूर्वाधार विकास मन्त्रालय, गृह र रक्षा मन्त्रालयले मनसुनका कारण आइपर्न सक्ने विपद् न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीका काम अघि बढाएको जनाएका छन् ।
सडक विभागले के गर्दैछ ?
वर्षाका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध हुनसक्ने भन्दै सडक विभागले पनि आवश्यक पूर्वतयारी गरेको छ । विभागले सडक तथा राजमार्ग अवरुद्ध हुनेवित्तिकै २४ घण्टाभित्रै खुला गर्नेगरी तयारी गरेको जनाएको छ । सडक विभागले बनाएको प्रारम्भिक उपकरण तैनाथ योजनाअनुसार, धेरैजसो सडक राजमार्गहरुमा आवश्यक उपकरणहरु तैनाथ गरिसकिएको छ । डोजर, लोडरजस्ता ठूला देखि साना उपकरणहरु साइटमा तैनाथ गरिएको सडक विभागको प्रवक्ता श्यामबहादुर खड्काले बताए ।
उनका अनुसार, विशिष्ट उपकरणहरुमा डोजर, व्हिल लोडर, स्क्याभेटरजस्ता उपकरणहरु र अन्य प्रकृतिका उपकरणहरु पनि साइटमा तैनाथ गरिएको छ । विगतका वर्षहरुमा क्षतविक्षत भएका राजमार्गहरु बढी प्रभावित हुनसक्ने भएकाले त्यसतर्फ उपकरण तैनाथ गरिने सडक विभागको भनाइ छ ।
गृहले कसरी गर्दैछ पूर्वतयारी ?
यता, गृह मन्त्रालयले पनि मनसुनको पूर्वतयारी तथा विपद् न्यूनीकरणका लागि कार्ययोजना नै तयार पारेर अघि बढेको छ । गृह मन्त्रालयले मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना तयार पार्दै विपद् न्यूनीकरणमा जुटेको छ ।
यसवर्षको मनसुनी विपद् न्यूनीकरणका लागि सुरक्षा निकायबाट कुल २६ हजार २१९ जना परिचालित हुने कार्ययोजनामा उल्लेख छ। जसअनुसार नेपाली सेनाबाट ७ हजार ५२४ जना, नेपाल प्रहरीबाट १० हजार ५८५ जना र सशस्त्र प्रहरीबाट ८ हजार ११० जना (१३४ जना गोताखोरसहित) छन्।
यसैगरी देशैभर तालिमप्राप्त १ हजार ४०४ जना स्वयंसेवक परिचालन हुनेछन्। नेपाल रेडक्रस सोसाइटीले पनि १२ हजार ६७४ जना स्वयंसेवक परिचालन गर्ने तयारी भएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
विपद्बाट प्रभावित तथा पीडित राहत दिन केन्द्र, प्रदेश तथा जिल्ला तहमा गरेर विपद व्यवस्थापन कोष खडा गरिएको छ । जसमा कुल ७ अर्ब ५६ करोड २३ लाख ९२ हजार ४४५ रुपैयाँ र ८४ हजार ७९७ अमेरिकी डलर मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।