सिएटल स्टेडियममा ६६ हजारभन्दा बढी घरेलु दर्शकहरूको अगाडि भएको खेलमा बेल्जियमले अमेरिकालाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्यो। बेल्जियमका युवा स्टार चार्ल्स डे केटेलारेको दुई गोल र एक असिस्टको मद्दतले ‘रेड डेभिल्स’ (बेल्जियम) सजिलै क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो। अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि आगामी शुक्रबार स्पेनको सामना गर्नेछ।
खेलको नवौँ मिनेटमै बेल्जियमले अग्रता लियो। चार्ल्स डे केटेलारेले एक उत्कृष्ट र सन्तुलित फिनिसिङ मार्फत गोल गर्दै घरेलु टोली अमेरिकालाई स्तब्ध पारे। खेलको ३१औँ मिनेटमा अमेरिकाले पुनरागमन गर्यो। अमेरिकाका मालिक टिलम्यानले डिबक्स बाहिरबाट प्रहार गरेको फ्रि–किक सिधै गोलमा परिणत भएपछि खेल १–१ को बराबरीमा आयो। अमेरिकाले बराबरी गोल गरेको मात्र ६१ सेकेन्डपछि बेल्जियमले पुनः अग्रता लियो। चार्ल्स डे केटेलारेले उत्कृष्ट हेडिङमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर २–१ पुर्याए।
दोस्रो हाफको ५७औँ मिनेटमा अमेरिकी गोलकिपर म्याट फ्रिजको ठूलो गल्तीको फाइदा उठाउँदै बेल्जियमका हान्स वानाकेनले ३५ यार्ड टाढाबाट सानदार गोल गरी बेल्जियमलाई ३–१ को बलियो स्थितिमा पुर्याए। दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका भेट्रान स्ट्राइकर रोमेलु लुकाकुले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै बेल्जियमको ४–१ को सानदार जित निश्चित गरे।
अमेरिकी टोलीका लागि यो खेल निराशाजनक रह्यो। फिफाले फोलारिन बालोगनको रातो कार्डको प्रतिबन्ध फुकुवा गरेपछि उनी मैदान उत्रिए पनि चम्किन सकेनन्। खेलको ५२औँ मिनेटमा प्रहार गर्ने क्रममा अमेरिकी स्टार क्रिस्टियन पुलिसिकको दाहिने खुट्टामा चोट लाग्यो र उनी ५९औँ मिनेटमा मैदानबाट बाहिरिन बाध्य भए। पुलिसिक बाहिरिएपछि अमेरिकी आक्रमण पूर्ण रूपमा ध्वस्त भएको थियो।
विश्वकप नकआउट इतिहासमा बेल्जियमले अमेरिकालाई पराजित गरेको यो १२ वर्षमा दोस्रो पटक हो। यसअघि २०१४ को विश्वकपमा बेल्जियमले अमेरिकालाई २–१ ले हराएको थियो। यो जितसँगै बेल्जियमले आफ्नो अपराजित यात्रालाई १८ खेल पुर्याएको छ।