रेडसिर (RedSeer) स्ट्राटेजी कन्सल्टेन्ट्सको हालैको प्रतिवेदन अनुसार, भारतको खाद्य सेवा बजार हाल ८.५ लाख करोड रुपैयाँको छ, जुन सन् २०३० सम्ममा बढेर १४.३ लाख करोड पुग्ने अनुमान गरिएको छ। यस क्षेत्रको रोचक पक्ष के छ भने, अब नाफा कमाउनका लागि महँगा र विलासी रेस्टुरेन्ट खोल्नैपर्ने बाध्यता हटेको छ।
अहिले 'क्लाउड किचन' (ग्राहक बसेर खाने ठाउँ नभएको, केवल अनलाइन अर्डरमा आधारित किचन) खाद्य उद्योगका लागि 'गेम-चेन्जर' र नाफा कमाउने बलियो माध्यम सावित भइरहेको छ।
साना सहरमा माग तेब्बरले वृद्धि; क्लाउड किचनको ९०% आम्दानी अनलाइनबाट
कुल खाद्य बजारमा अनलाइन डेलिभरीको हिस्सा आर्थिक वर्ष २०२१ मा ४% रहेकोमा २०२६ सम्म ११% पुगेको छ। यो हिस्सा २०३१ सम्म १८% पुग्ने प्रक्षेपण गरिएको छ। नयाँ क्लाउड किचन ब्रान्डहरूले आफ्नो कुल राजस्वको ९०% हिस्सा अनलाइन च्यानलबाट प्राप्त गर्छन्, जबकि परम्परागत रेस्टुरेन्टहरूको हकमा यो हिस्सा मात्र ५०% छ।

यो लहर महानगरमा मात्र सीमित नभई साना सहरहरूमा पनि तीव्र रूपमा फैलिरहेको छ। सन् २०२१ देखि २०२६ को अवधिमा महानगरहरूमा अर्डरको संख्या उल्लेख्य रूपमा बढ्दा टियर–२ र साना सहरहरूमा भने अर्डर संख्या ६ करोडबाट तीन गुणाले बढेर १८ करोड पुगेको छ।
न्यून लागत, उच्च मुनाफा: सफल ब्रान्डहरूको 'सेक्रेट प्लेबुक'
रेबेल फुड्स र बेकिङ्गो जस्ता सफल ब्रान्डहरूले अपनाएका तीन मुख्य रणनीति:
१. साझा पूर्वाधार (Shared Infrastructure): महँगो ठाउँमा रेस्टुरेन्ट खोल्नुको सट्टा भित्री गल्लीहरूमा साझा भान्सा (Shared Kitchen) सञ्चालन गर्ने, जसले घरभाडा र स्थिर लागत घटाउँछ।
२. सीमित मेनु (Focused Menu): मेनुमा धेरै परिकार राख्नुको सट्टा केही विशेष वस्तुहरूमा मात्र ध्यान दिने। यसले कच्चा पदार्थको खेर जाने दर घटाउँछ र अर्डर तयार गर्ने गति बढाउँछ।
३. प्रिमियम ब्रान्डिङ: आफूलाई स्वास्थ्यकर वा प्रिमियम श्रेणीको रूपमा स्थापित गर्ने, ताकि ग्राहकले उच्च मूल्य तिर्न हिचकिचाउनु नपरोस्।
चिया, कफी र खाजा: ४.२ लाख करोडको नयाँ बजार
खानाबाहेक खाजा र पेय पदार्थको क्षेत्रमा पनि क्लाउड किचनको सम्भावना बढ्दो छ।
-
खाजा र मिठाई: भारतमा खाजा (Snacks) बजार १.९ ट्रिलियन र मिठाई तथा पेय पदार्थको बजार २.३ ट्रिलियन रुपैयाँ पुगेको छ। डेलिभरीको क्षेत्रमा 'शेक' र 'जुस' लोकप्रिय बन्दैछन्।
-
प्रिमियम कफी: सन् २०३० सम्ममा घर बाहिरको कफी बजार ३८,००० करोड पुग्नेछ। मध्यम मूल्यका (१००–२०० रुपैयाँ) कफीको माग वार्षिक ४०% ले बढिरहेको छ।
-
चिया बजार: चिया बजारको ९७% हिस्सा सस्तो पसलहरूले ओगटेका भए तापनि १०० रुपैयाँभन्दा माथिको 'प्रिमियम चिया' को माग वार्षिक २०-२५% ले बढ्दो छ।
चुनौती र अवसर
प्रमुख चिया र कफी ब्रान्डहरूको 'ग्रस मार्जिन' ६२-६७% सम्म भए तापनि स्टोरको ठूलो आकार र उच्च भाडाका कारण वास्तविक नाफा (EBITDA) ५-९% मा खुम्चिने गरेको छ। यस्तो अवस्थामा क्लाउड किचन मोडेल वरदान सावित हुन सक्छ। यदि प्रिमियम चिया र कफीलाई क्लाउड किचन मार्फत बेचियो भने भाडाको खर्च जोगिने हुनाले नाफा दोब्बर हुन सक्ने देखिन्छ।