वत्सल इम्पेक्समा ‘साहु मोटाउने, कम्पनी कङ्गाल बनाउने’ खेल: विनित शारडा र नितेश मुन्द्राको व्यक्तिगत लाभले शारडा ग्रुपकै साख दाउमा !

Jul 09, 2026 04:33 PM Merolagani



सुवास निरौला 
नेपालको प्रतिष्ठित व्यावसायिक घराना शारडा ग्रुपअन्तर्गतको वत्सल इम्पेक्स प्राइभेट लिमिटेड भित्र गम्भीर वित्तीय विचलन र 'कर्पोरेट' कुशासनको पराकाष्ट नाघेको रिपोर्ट सार्वजनिक भएको छ। 

साओमी र इभीआईजेड जस्ता विश्वविख्यात ब्रान्डको व्यापार गरिरहेको यो कम्पनीले आफ्नो खुट्टामा आफैँ बञ्चरो प्रहार गरिरहेको तथ्य सार्वजनिक भएको हो। रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको साख (Rating) घटाउँदै सार्वजनिक गरेको प्रतिवेदनले एउटा यस्तो तथ्य उजागर गरेको छ, जसले नेपालको बैंकिङ प्रणाली र ठूला व्यावसायिक घरानाको नियतमाथि नै गम्भीर प्रश्न उठाएको छ। कम्पनीका सञ्चालकहरूले व्यापार विस्तार गर्नुको साटो कम्पनीलाई रित्त्याएर पैसा व्यक्तिगत खल्तीमा भर्ने र व्यापार चाहिँ बैंकको अर्बौ ऋणमा मात्रै टिकाउने नीति लिएको देखिएको छ।

‘साहु मोटाउने, कम्पनी कङ्गाल बनाउने’ रणनीति

वत्सल इम्पेक्सको वित्तीय अवस्थालाई नजिकबाट नियाल्दा सञ्चालकहरूको एउटै मात्र उद्देश्य देखिन्छ—"कम्पनीमा आफ्नो पैसा नराख्ने, तर बैंकको पैसामा मोज गर्ने।" इक्रा नेपालका अनुसार कम्पनीले विगत तीन वर्षदेखि आफ्नो नाफाको ८० देखि १०० प्रतिशतभन्दा बढी रकम लाभांशको रूपमा सञ्चालकहरूलाई बाँडिरहेको छ। अझ अचम्मको कुरा त के छ भने, आर्थिक वर्ष २०२६ को पहिलो ९ महिनामै कम्पनीले सन् २०२५ को कुल नाफाभन्दा पनि बढी रकम लाभांशका रूपमा झिकिसकेको छ। यसको सिधा अर्थ हो—सञ्चालकहरूले आफ्नो सुरुवाती लगानी र ब्याज कयौँ गुणा उठाइसकेका छन् र अहिले कम्पनीको जगेडा कोष समेत रित्त्याएर घर लैजाँदैछन्। जब कुनै कम्पनीले नाफाभन्दा बढी पैसा साहुलाई बाँड्छ। तब त्यो कम्पनी वित्तीय रूपमा 'खोक्रो' बन्दै जान्छ।

१ अर्ब ८० करोडको ऋण: जोखिम जति बैंकको टाउकोमा

कम्पनीका अध्यक्ष विनित कुमार शारडा र प्रबन्ध निर्देशक नितेश कुमार मुन्द्राको नेतृत्वमा रहेको वत्सल इम्पेक्सले बैंकहरूबाट कुल १ अर्ब ८० करोड रुपैयाँको ऋण सुविधा लिएको छ। रिपोर्टअनुसार कम्पनीको ऋण र नाफाको अनुपात २ गुणाबाट बढेर ५ गुणा पुगेको छ।

यहाँ प्रश्न उठ्छ—यदि साहुहरूले नाफा जति सबै खल्तीमा हाल्छन् भने व्यापार चाहिँ कसको पैसाले चलिरहेको छ ? यसको उत्तर स्पष्ट छ—बैंकको पैसाले। सञ्चालकहरूले आफ्नो जोखिम शून्यमा झारेका छन् र १ अर्ब ८० करोडको सम्पूर्ण व्यापारिक जोखिम बैंकहरूको टाउकोमा थुपारिदिएका छन्। यदि भोलि साओमीको ब्रान्ड भ्यालु घट्यो वा व्यापारमा घाटा भयो भने साहुको केही जाँदैन (किनकि उनीहरूले पहिल्यै पैसा लगिसके), तर बैंकको अर्बौँ रुपैयाँ ऋण भने पुरै जोखिममा पर्ने निश्चित छ।

शारडा ग्रुपको साखमा ‘व्यापारिक जुवा’

वत्सल इम्पेक्स शारडा ग्रुपको एउटा महत्वपूर्ण हिस्सा हो। बैंकहरूले यो कम्पनीको वित्तीय स्वास्थ्य हेरेर होइन। शारडा ग्रुपको 'पावर' र सञ्चालकहरूको 'फेस भ्यालु' हेरेर ऋण दिइरहेका छन्। सञ्चालकहरूले यही 'ग्रुप साख' लाई दुरुपयोग गर्दै बैंकबाट सस्तोमा ऋण लिने र त्यो पैसाले व्यापार गर्नुको साटो लाभांशका रूपमा व्यक्तिगत सम्पत्ति जोड्ने 'व्यापारिक जुवा' खेलिरहेका छन्।

इक्रा नेपालले कम्पनीको अल्पकालीन रेटिङ 'A3' बाट घटाएर 'A4+' मा झार्नुको मुख्य कारण नै यही हो। इक्राले चेतावनी दिएको छ कि यदि सञ्चालकहरूले यसरी नै पैसा झिक्ने क्रम जारी राखे र कम्पनीको पुँजी (Equity) बलियो बनाएनन् भने यो कम्पनी कुनै पनि बेला धराशायी हुन सक्छ।

बैंकहरू किन मौन?

कम्पनीले नाफा जति साहुलाई बाँड्दा र ऋणको भारी ५ गुणाले बढ्दा पनि बैंकहरूले थप ऋण प्रवाह गरिरहनु उदेकलाग्दो छ। नेपालका बैंकहरू 'धितोमुखी' हुँदा सञ्चालकको घरजग्गा सुरक्षित देखेपछि कम्पनीको वित्तीय बेथितिमा आँखा चिम्लिने गर्छन्। वत्सल इम्पेक्सले लिएको १ अर्ब ८० करोड ऋणमा बैंकहरूको 'स्वार्थ' र 'मिलेमतो' कति छ भन्ने कुरा पनि अब अनुसन्धानको विषय बनेको छ।

साओमी ब्रान्डमा सञ्चालकको 'अति लोभ'

साओमी नेपालमा एउटा लोकप्रिय ब्रान्ड हो। तर, वत्सल इम्पेक्सका सञ्चालकहरूको 'अति लोभी' प्रवृत्तिका कारण यो ब्रान्डको भविष्य समेत संकटमा पर्न सक्ने देखिएको छ। कम्पनीको ९९ प्रतिशत नेटवर्थ सञ्चालकले चाहेको बेला झिक्न मिल्ने अवस्थामा हुनुले कम्पनीलाई कुनै पनि बेला 'सट डाउन' गर्न सकिने जोखिम देखाउँछ।

सञ्चालक द्वय विनित कुमार शारडा र नितेश कुमार मुन्द्राले कम्पनीलाई वित्तीय रूपमा कङ्गाल बनाएर व्यक्तिगत लाभ लिइरहँदा, यसले समग्र व्यावसायिक क्षेत्र र बैंकिङ प्रणालीमा एउटा गलत नजिर स्थापित गरेको छ। के नियामक निकाय र बैंकहरू यसरी नै 'साहु मोटाउने र कम्पनी डुबाउने' खेलको साक्षी बसिरहनेछन्?





मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ