नेप्से विगत लामो समयदेखि साईडवयजमा छ। बजारमा देखिएको निरन्तरको गिरावटले लगानीकर्ताको सम्पत्ति ह्रास भएको छ। साथमा लगानीकर्ताहरुको आत्मविश्वासमा समेत ठूलो संकट निम्तिएकाे छ। अहिले सरकारको फोकस लगानीको वातावरण बनाउदै विश्वास बढाउनमा काम गर्नुपर्ने पर्छ। बजारले निरन्तर ओरालो यात्रा तय गर्दा लगानीकर्ताको सम्पत्ति मात्र होइन, उनीहरूको मानसिक शान्ति र आत्मविश्वासमा समेत गहिरो आघात पुर्याउँछ। सूचकमा आएको निरन्तरको गिरावटले बजारबाट लगानीकर्ताहरु बिस्थापित हुने अवस्था आएको छ। यस्तो हुनुमा बजारमा हुने सम्भावित जोखिम व्यवस्थापनमा ध्यान पुर्याउन नसक्दा निरुत्साहित हुनु परेको हो। वास्तवमा, जोखिम व्यवस्थापन केवल घाटा कम गर्ने मात्र होइन। यो प्रतिकुल परिस्थितिमा बजारमा टिकिरहने र भविष्यको वृद्धि हुने अपेक्षा गर्नु आवश्यक छ।
जोखिमपूर्ण क्षेत्रमा गरिएको लगानी व्यवस्थापनमा लगानीकर्ता स्वयम पनि सचेत हुनुपर्छ । बजारकाे सम्भावित चुनौतीपूर्ण समयमा पुँजीको रक्षा गर्नु र जोखिम व्यवस्थापनका रणनीतिहरू अवलम्बन गर्नु नै दूरदर्शी लगानीकर्ताको बुद्धिमता हो। नेपाली शेयर बजारलाई सूक्ष्म हेर्दा सूचक सधै नीतिगत परिवर्तन, तरलताको अभाव र लगानीकर्ताको मनोविज्ञान मार्फत प्रभावित हुने गरेको छ।
लगानीकर्ताको मनोविज्ञानले नै बजारको चाल नियन्त्रण गरेको हुन्छ। बजारका विश्लेषकहरुले शेयर बजार मुख्यत लोभ र डरको द्वन्द्वमा आधारित हुन्छ भन्ने गर्छन्। लोभले बजारलाई उत्तेजित बनाउँछ। मूल्यमा अस्वभाविक वृद्धि देखियाे भने डर हाबी हुन्छ। बजार पर्ख र हेरको रक्षात्मक अवस्थामा पुग्छ। विशेषगरी नीतिगत अस्पष्टताले ठूला लगानीकर्ताहरु त्रसित हुँदा बजारमा लगानी र उत्साह कमी हुन्छ। यस्तो बेला प्राविधिक सूचकहरूभन्दा बढी लगानीकर्ताको डरले बजारको दिशा तय गरिरहेको हुन्छ। यसर्थ, घट्दो बजारमा लगानीकर्ताहरु हतारिएर कारोबार निर्णय लिनु वा प्यानिक सेल गर्नु थप वित्तीय क्षतिको कारक बन्छ। बजारको गिरावटलाई समस्या मात्र ठान्नुभन्दा यसलाई रणनीतिक सुधारको अवसरका रूपमा लिनु बुद्धिमानी हुनेछ।
विश्वकै सफल लगानीकर्ता वारेन बफेटको प्रसिद्ध मान्यता छ। “जब अरूहरू लोभी बन्छन् तब तिमी डराऊ, र जब अरूहरू डराउँछन् तब तिमी लोभी बन।’’ यस सिद्धान्तले बजारको चरम निराशाको समय नै बलिया र आधारभूत रूपमा सबल कम्पनीहरू सस्तो मूल्यमा खरिद गर्ने मौका मिल्छ। त्यसैगरी, भ्यालु इन्भेस्टिङका पिता बेन्जामिन ग्राहमले पनि बजारमा हुने गिरावटलाई जोखिमको रुपमा लिन नहुने बताउँछन्। यस्तो अवस्थामा लगानीकर्ताहरुले बरु सस्तो मूल्यमा राम्रा शेयर किन्ने ठूलो अवसरको रुपमा लिनु पर्ने हुन्छ। वास्तविक जोखिम बजार घट्नुमा होइन, बरु विनाअध्ययन र खराब वित्तीय अवस्था भएका कम्पनीहरूमा लगानी गर्नुमा निहित हुन्छ।
मोर्गन हाउसेलले पनि द साइकोलोजी अफ मनीमा बजारको अस्थिरतालाई लगानीको अवसरको रूपमा स्वीकार्नु पर्ने उल्लेख गरेका छन्। व्यवहारिक रूपमा जोखिम व्यवस्थापनका लागि लगानीकर्ताहरु पोर्टफोलियोको विविधीकरण सबैभन्दा उत्तम उपाय हो। नेपालको बजारमा शेयरको मात्रै कारोबार हुने भएका कारण लगानीका लागि धेरै अवसर नभएको हाे। यस्तो अवस्थामा लगानीकर्ताले आफ्नो पुँजीलाई विभिन्न क्षेत्रहरू जस्तै वाणिज्य बैंक, जलविद्युत, उत्पादनमूलक क्षेत्र र डिबेन्चरहरूमा बाँडफाँट गर्नुपर्ने हुन्छ। जसले गर्दा कुनै सेक्टरमा आउने गिरावटको असरलाई अर्को क्षेत्रको स्थिरताले सन्तुलनमा राख्न मद्दत गर्छ। साथै, अल्पकालिन व्यापार गर्नेहरूका लागि स्टप लस गर्न डराउन हुँदैन् ।
निरन्तर घटेको स्टकको मूल्य अझै घट्नुबाट जोगिने पर्ने हुन्छ। लगानी गर्दा सधैं कम्पनीको आधारभूत पक्ष, उच्च लाभांश क्षमता, न्यून कर्जा र बलियो व्यवस्थापनमा ध्यान केन्द्रित गर्नुपर्छ। बजार घट्दै जाँदा एकै पटक ठूलो रकम लगानी गर्नुको साटाे एआईपी शैली अपनाउनु र ऋण लिएर गरिने लगानीलाई केही निरुत्सान गर्नुपर्ने हुन्छ । लामो समय बजार घट्यो वा साईडवयजमा रहदा जोखिम न्यून बनाउँछ।
वास्तवमा लगानीकर्ताको प्रयासले मात्र बजार सुरक्षित हुन सक्दैन। यसका लागि राज्य र नियामक निकायको भूमिका उत्तिकै महत्वपूर्ण रहेको हुन्छ । बजारसँग सरोकार राख्ने निकायहरु धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेप्से र सीडीएससीले दिने नीतिहरुको प्रत्यक्ष प्रभावमा बजार रहेको देखिन्छ।
अन्तर्राष्ट्रिय धितोपत्र आयोग तथा संगठनहरुले लगानीकर्ताको संरक्षण, बजारको निष्पक्षता र प्रणालीगत जोखिमको न्यूनीकरणलाई बजारको नियमान र निगरानीलाई नै जोड दिएको देखिन्छ । विकसित राष्ट्रहरु जस्तो अमेरिका, भारत, जापान र सिंगापुरमा रियल टाइम बजार निगरानी, कडा इन्साइडर ट्रेडिङ नियन्त्रण र इन्भेस्टर प्रोटेक्सन फण्ड जस्ता व्यवस्थाहरूले लगानीकर्तामा आत्मविश्वास बढाएको छ। नेपालमा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्न र हेजिङ उपकरणहरूको विकास गर्न ढिलाइ भइसकेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकका अध्ययनहरूले पनि पूँजी बजारको दिगोपनाका लागि पारदर्शी कारोबार प्रणाली र लगानीकर्ता शिक्षालाई अपरिहार्य मानेका छन्। विशेष गरी बैंकिङ प्रणाली र पुँजी बजारबीचको जोखिम न्यून बनाउन नियामकहरूबीच प्रभावकारी समन्वय हुनु आवश्यक छ। नेपालको बजारले धितोपत्र बजारको भन्दा मौद्रिक बजारको नीतिहरुबाट धेरै अपेक्षा गरेको पाइन्छ । हालै राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति बजारले सरोकार राख्ने विषयमा मौन भयो भन्दै बजारमा ठूलो अंकको गिरावट भयो। यसले पनि नेपाली बजार बैंकिङ क्षेत्रको आश्रितबाट मुक्त हुन सकेको छैन् भन्ने प्रष्ट भएको हो।
नेपाली लगानीकर्ताले बजार बढ्नको लागि मात्रै नियामकले नीति बनाउनु पर्छ भन्ने सोचबाट बाहिरिनु पर्ने बेला भएको छ। बजार घट्नु र बढ्नु निरन्तर प्रक्रिया हो । लगानीकर्ता लगानी व्यवस्थापन गर्न, धैर्यता नगुमाउन र अनुशासनमा रहन सक्नु पर्ने हुन्छ। निरन्तर ओरालो लागेको बेला आतिएर निर्णय लिनुको साट्टा बजारको गहन अध्ययन गर्ने र प्रणालीगत सुधारका लागि बहस पैरवी गर्न सक्नु पर्छ। जब लगानीकर्ताले आफ्नो जोखिम बहन गर्ने क्षमता बुझेर अनुशासित लगानी गर्छन् तब मात्रै बजारले वास्तविक रुपमा परिपक्वता हासिल गर्नेछ र लगानीकर्ताको हित संरक्षण हुनेमा विश्वस्त हुन सकिन्छ।