अज्ञात समूहले काठमाडौंका ठूला सञ्चारमाध्यम र राजनीतिक नेताका निवासका गेटमै शंकास्पद रूपमा सवारी साधनहरू पार्किङ गरेर छाडिदिएपछि केही समय त्रास र अन्योलको वातावरण सिर्जना भयो।
अज्ञात समूहले अनलाइनखबर डटकम, हिमालय टेलिभिजन र कान्तिपुर पब्लिकेसन्सको कार्यालयका गेटहरूमा एकाएक गाडीहरू तेर्स्याएर छाडिदिएका थिए। यसरी मुख्य प्रवेशद्वार नै ठप्प हुने गरी गाडी राखिएपछि त्यहाँ कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरू आफ्नो सवारी साधनसहित कार्यालय बाहिर निस्कन पाएका छैनन्। गेट थुनिएका कारण कतिपय सञ्चारकर्मीहरू नियमित रिपोर्टिङका लागि कार्य क्षेत्रमा खटिन समेत वञ्चित भएका छन्।
यो अवरोध सञ्चारगृहमा मात्र सीमित रहेन। अज्ञात समूहले सार्वजनिक सडक र उच्च राजनीतिक व्यक्तिहरूको निवास अगाडि पनि उस्तै तमासा देखाएको छ। अनामनगरस्थित भाटभटेनी सुपरमार्केट अगाडिको सडकको एक किनारामा वेवारिसे गाडीहरूको लाइन देखियो भने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको निवास अगाडिको गेटमा पनि शंकास्पद गाडी फेला परेको छ।
कसले र किन राखे गाडी ?
प्रहरी अधिकारीहरूका अनुसार हालसम्म ती गाडीहरू कसले र कुन उद्देश्यले त्यहाँ छाडेका हुन् भन्ने खुल्न सकेको छैन। सञ्चार माध्यमका सञ्चालकहरू समेत यो घटनाबाट अनविज्ञ देखिएका छन्। केही दिनअघि मात्रै बाह्रखरी अनलाइनको कार्यालय अगाडि पनि ठ्याक्कै यसैगरी शंकास्पद सवारी पार्किङ गरिएको थियो। यो श्रृङ्खलाबद्ध घटनाले काठमाडौंको सुरक्षा व्यवस्था र सार्वजनिक व्यवस्थापनमाथि प्रश्न उठाएको छ।
प्रहरीद्वारा क्रेनको सहायताले गाडी हटाउन सुरु
घटनाको जानकारी पाउनासाथ नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोली समन्वय गरी परिचालन भएको छ। सञ्चारमाध्यमका गेटमा अवरोध पुर्याउने गाडीहरूलाई क्रेनको सहायताले हटाउने कार्य भइरहेको छ। प्रहरीका अनुसार अनलाइनखबरको गेटमा पार्क गरिएको गाडी हटाइसकिएको छ भने अन्य स्थानमा रहेका सवारी साधनहरू पनि हटाउने तयारी भइरहेको छ।
चौतर्फी बहस, तर प्रशासन मौन
यी शंकास्पद सवारीहरू कसका हुन् र के उद्देश्यले सञ्चारगृह र नेताका निवास लक्षित गरी वेवारिसे छाडियो भन्ने विषयमा सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा चौतर्फी बहस सुरु भएको छ। तर, यो गम्भीर विषयमा सरकार, नेपाल प्रहरी र ट्राफिक प्रशासनले हालसम्म कुनै पनि औपचारिक जानकारी वा धारणा सार्वजनिक गरेका छैनन्।
यसरी सञ्चारगृह र नेताका निवास अगाडि गाडी तेर्स्याएर अवरोध सिर्जना गर्नुलाई कतिपयले सांकेतिक विरोधका रूपमा हेरेका छन् भने कतिपयले यसलाई अराजकताको पराकाष्ठा भन्दै टिप्पणी गरेका छन्। प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।