विद्यालयले एक सूचना जारी गर्दै अभिभावकहरूलाई अतिरिक्त आर्थिक भारबाट जोगिन असार मसान्तभित्रै पुराना बक्यौता बुझाउन विशेष अनुरोध गरेको हो।
नेपाल सरकारको हालैको निर्णयअनुसार २०८३ साल श्रावण १ गतेदेखि विद्यालयले विद्यार्थीहरूबाट लिने सम्पूर्ण शुल्कमा ३ प्रतिशत समता शुल्क अनिवार्य रूपमा समावेश गरी संकलन गर्नुपर्ने व्यवस्था गरेको थियो।
विद्यालयका अनुसार साउन १ गतेपछि जारी हुने सबै नयाँ बिलहरूमा यो ३ प्रतिशत शुल्क स्वतः समावेश हुनेछ। सूचनामा भनिएको छ,‘कतिपय विद्यार्थीहरूको २०८३ साल आषाढ मसान्तसम्मको विद्यालयमा भुक्तानी गर्नुपर्ने शुल्क भुक्तानी हुन बाँकी रहेको र उक्त शुल्क २०८३ श्रावण १ गतेपछि भुक्तानी गर्दा त्यसमा पनि ३ प्रतिशत समता शुल्क थप भई आर्थिक भार बढ्ने भएकाले, अतिरिक्त भारबाट जोगिन आषाढ मसान्तभित्रै सम्पूर्ण बाँकी शुल्क भुक्तानी गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।’
यसको अर्थ, यदि अभिभावकले असार महिनासम्मको पुरानो बक्यौता शुल्क साउन १ गतेपछि तिरेमा, सरकारको नियमअनुसार त्यसमा पनि थप ३ प्रतिशत रकम तिर्नुपर्ने हुन्छ। सोही अतिरिक्त व्ययभारबाट बचाउन विद्यालयले असार मसान्तभित्रै भुक्तानी गर्न आग्रह गरेको हो।
सरकारको यो निर्णयका कारण अभिभावकहरूमा थप आर्थिक भार पर्न गएको अवस्थाप्रति विद्यालयले संवेदनशीलता समेत प्रकट गरेको छ। यसका साथै विद्यालयले शैक्षिक सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षा तथा निर्माणात्मक मूल्याङ्कनको नतिजा र छलफलको तयारी भइरहेको पनि जनाएको छ।

विद्यालयका प्रिन्सिपल रञ्जित कुमार पण्डितद्वारा हस्ताक्षरित उक्त सूचनामा नानीबाबुहरूको पढाइप्रतिको रुचि, अनुशासन र जिम्मेवारीबोध जस्ता आधारभूत गुणहरूको विकासका लागि विद्यालय परिवार प्रतिबद्ध रहेको र अभिभावकको निरन्तर साथको अपेक्षा गरिएको उल्लेख छ।