क्यापिटल मार्केट रेस्क्यु प्लानमा बोर्ड अध्यक्ष भट्ट लगानीकर्तासँग छलफल गर्न तयार, केही बेरमा छलफल हुने

Jul 14, 2026 12:03 PM Merolagani



नेपाल धितोपत्र बोर्ड (सेबोन) अगाडि बिहानैदेखि जारी लगानीकर्ताको तनावपूर्ण प्रदर्शनपछि नियामक निकाय अन्ततः वार्ताका लागि तयार भएको छ। 

धितोपत्र बोर्डका अध्यक्ष गोपाल प्रसाद भट्टले आन्दोलनरत लगानीकर्ताहरूलाई वार्ताका लागि आफ्ना ५ जना प्रतिनिधि पठाउन आग्रह गरेपछि अहिले धितोपत्र बोर्ड परिसरको वातावरण केही शान्त बनेको छ।

पूँजी बजारमा आएको निरन्तर गिरावट र सर्वसाधारणको अर्बौँ रुपैयाँ जोखिममा परेको भन्दै 'रेस्क्यु प्लान' (उद्धार योजना) को मागसहित लगानीकर्ताहरू बिहानैदेखि खुमलटारस्थित बोर्डको कार्यालय बाहिर धर्नामा थिए। सुरुमा कार्यालयमा तालाबन्दी गर्ने प्रयास गरे पनि प्रहरीले रोकेपछि लगानीकर्ताहरूले नाराबाजी जारी राखेका थिए।

तनाव बढ्दै गएपछि बोर्ड अध्यक्ष भट्टले दबाबमूलक कार्यक्रमको नेतृत्व गरिरहेका समूहलाई सन्देश पठाउँदै कस्तो खालको 'रेस्क्यु प्लान' ल्याउने भन्ने विषयमा ठोस छलफल गर्न ५ जना प्रतिनिधि लाई कार्यकक्षमा बोलाएका  हुन्। अध्यक्ष भट्टले लगानीकर्ताका माग र बजार सुधारका लागि बोर्डले चाल्न सक्ने कदमका बारेमा खुला छलफल गर्न आफू तयार रहेको जनाएका छन्।

बोर्ड नेतृत्व वार्ताका लागि सकारात्मक बनेपछि आन्दोलनकारीहरू अहिले केही संयमित भएका छन्। लगानीकर्ताका तर्फबाट तिलक कोइराला लगायतको टोलीले वार्तामा सहभागी हुने प्रतिनिधिहरूको छनोट गरिरहेको छ। "हामीले खोजेको केवल आश्वासन मात्र होइन, बजारलाई जोगाउने ठोस कार्य योजना हो," आन्दोलनका सहजकर्ता तिलक कोइरालाले भने, "अध्यक्षज्यू वार्ताका लागि तयार हुनुभएको छ, हामी हाम्रा स्पष्ट मागहरू लिएर केही बेरमै भित्र जाँदै छौँ। वार्ताको परिणाम नआएसम्म हाम्रो दबाबमूलक कार्यक्रम भने जारी नै रहनेछ।"

अहिले धितोपत्र बोर्ड बाहिर लगानीकर्ताहरू शान्त पूर्वक वार्ताको प्रतीक्षा गरिरहेका छन् भने सुरक्षा व्यवस्था अझै पनि सतर्क अवस्थामा राखिएको छ। केही बेरमै सुरु हुने यो वार्ताले ओरालो लागेको शेयर बजारलाई थाम्न कस्तो 'रेस्क्यु प्लान' तय गर्छ भन्नेमा अहिले सबैको ध्यान केन्द्रित भएको छ।

 



धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।