बुधवार अर्थ समितिको बैठकमा ‘प्रि–आईपीओ’का सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै उनले त्यस्तो गतिविधिमा संलग्न कम्पनी वा व्यक्तिमाथि कारबाही गर्ने बताएका हुन् । राज्यले अवैध कारोबारलाई वैधानिकता दिन नसक्ने उनको भनाई छ ।
अध्यक्ष भट्टले योग्य कम्पनीलाई पुँजी बजारमार्फत वित्तीय पहुँच विस्तार गर्न बोर्डले विभिन्न योजना अघि बढाएको जानकारी दिए। स्टार्टअपदेखि मध्यम तथा अन्य योग्य उद्योगलाई पुँजी बजारमा प्रवेश गराउने व्यवस्था विकास भइरहेको उनको भनाई छ । उनकाअनुसार प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आउने कम्पनीहरूले उच्च पारदर्शिता, कडा मापदण्ड र अन्तर्राष्ट्रिय अभ्यासअनुसारको सुशासन पूरा गर्नुपर्नेछ ।
सर्वसाधारण लगानीकर्ताको हित संरक्षणका लागि मूल्य निर्धारण प्रक्रियालाई पनि प्रतिस्पर्धात्मक र पारदर्शी बनाइने उनले बताए । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषलगायत संस्थागत लगानीकर्ताको सहभागिता बढाएर मूल्य निर्धारण प्रक्रियालाई थप प्रभावकारी बनाउने तयारी गरेको उनले जानकारी दिए।
उनले भने, ‘प्रि–आईपीओ’ को कुरा उठ्यो । कम्पनीहरुले आईपीओ आउनु अगाडि नै चलखेल गर्छन्, भन्ने । ‘प्रि–आईपीओ’ अवैध चिज हो । त्यस्तो चिजहरू हुनुहुँदैन । कहीँ पनि थाहा पाइयो भने हामी कारबाही गर्छौँ । त्यो कुनै हाम्रो वैधानिक पद्धतिअनुसार आएका पैसाहरू होइनन् । कसैले चलखेल गरे भन्दैमा त्यस्तो चिजमा राज्य चुप लाग्न हुन्न । कुनै पनि योग्य कम्पनीहरूलाई हामीले आईपिओको लागी अनुमति दिने गरेका छौँ, कर्पोरेट सेक्टरमा हामीले तीन किसिमको मेकानिजम बनाएका छौँ । स्टार्टअपलाई पनि फाइनान्सिङ दिने प्रवृत्तिको लागि हामीले अहिले योजना ल्याएका छौँ । अर्को साना र मध्यम टाइपका इन्डस्ट्रिजहरुलाई पनि क्यापिटल मार्केट एक्सेस होस्, कुनै पनि कर्पोरेटले पुँजी बजारबाट फन्डिङ पाओस् भन्ने विषयमा हामीले अहिले पूरा योजनाहरू ल्याएका छौँ । त्यसमध्ये स्टार्टअपहरू पनि पर्छन् । एसएमईको प्लेटफर्महरु पनि दिन्छौँ । आईपिओमा जाने कम्पनी भनेका त्यस्ता कम्पनीहरू हुनुपर्छ, जुन कम्पनी योग्य हुन्छन् । सामान्य लगानीकर्ताले तिनीहरूमा लगानी गर्ने भएको हुनाले तिनीहरूलाई अझ स्ट्यान्डर्डहरु राखेर पारदर्शी बनाएर तिनीहरूले ल्याउने प्राइसहरूमा पनि पर्याप्त कम्पिटिसन गराउने हामीले योजना बनाएका छोँ । तेस्रो हामी उपकरणको पनि विविधीकरण गर्छौँ । शेयरमुखी बजार क्यापिटल मार्केटलाई अब ऋणपत्रमुखी बजारतिर जाने कोशिस गरिरहेका छौँ ।’
पुँजी बजारलाई केवल शेयर कारोबारमा सीमित नराखी ऋणपत्र, डेरिभेटिभ उपकरण तथा कमोडिटी फ्युचर्सतर्फ पनि विस्तार गर्ने तयारी पनि भइरहेको उनले बताए ।