१ करोड माथिको शेयर ऋण लिने क्रम ठप्प, ऋण घटाउन शेयर बेच्नेको लर्को

Jul 16, 2026 05:43 PM Merolagani



सुवास निरौला 

गत चैत १३ गते नयाँ सत्ता समीकरण बनेर नयाँ सरकार गठन हुँदा पूँजी बजारमा ठूलो उत्साह आउने अपेक्षा गरिएको थियो। तर, सत्ता परिवर्तनको चार महिना पुग्न लाग्दा परिणाम ठ्याक्कै उल्टो देखिएको छ। 

बजारमा साना लगानीकर्ता मात्र होइन, बजारलाई चलायमान बनाउने 'ठूला खेलाडी' अर्थात् ठूला लगानीकर्ताहरू समेत नयाँ सरकारको नीति र बजारको अस्थिरता देखि नराम्ररी तर्सिएका छन्।यसको सबैभन्दा स्पष्ट प्रमाण बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने '१० करोड माथिको शेयर धितो कर्जा' मा आएको भारी गिरावटले देखाउँछ। पछिल्लो तीन महिनाको तथ्यांक विश्लेषण गर्दा ठूला लगानीकर्ताले नयाँ ऋण लिन छाडेका मात्र छैनन्, बरु भएका शेयरहरू धमाधम बेचेर बैंकको ऋण घटाउन सक्रिय देखिएका छन्।

१ करोड र १० करोड माथिको कर्जामा 'ब्रेक'

नेपाल राष्ट्र बैंकको ११ महिनाको तथ्यांकले शेयर धितो कर्जामा समग्रमा वृद्धि देखाएपनि चैत १३ पछिको चित्र भने निराशाजनक छ। जेठ मसान्तसम्मको तथ्यांक अनुसार, १ करोड रुपैयाँभन्दा माथिको शेयर धितो कर्जा लिने प्रवृत्तिमा व्यापक संकुचन आएको छ।

 

प्राप्त तथ्यांक अनुसार, चालू आर्थिक वर्षको ११ महिनामा कुल शेयर धितो कर्जा २२ अर्ब १७ करोड रुपैयाँले बढेको देखिएपनि यो वृद्धिको ठूलो हिस्सा फागुन महिनासम्मको मात्र हो। चैतमा नयाँ सरकार आए यता लगानीकर्ताको कन्फिडेन्स बढ्नुको साटो झन् खस्कियो। चैतमा ३ अर्ब ३२ करोड ३२ लाख थपिएको शेयर कर्जा, वैशाखमा २ अर्ब २० करोड ४० लाखमा झर्यो भने जेठ महिनामा त यो रकम मात्र ३३ करोड ४० लाखमा सीमित भयो। यसले के देखाउँछ भने ठूला लगानीकर्ताहरू अब थप जोखिम मोल्न तयार छैनन्।

शेयर बेचेर ऋण घटाउँदै ठूला लगानीकर्ता

बजारमा अहिले देखिएको चर्को बिक्री चापको मुख्य कारण ठूला लगानीकर्ताहरूले बैंकको ऋण घटाउने प्रयास गर्नु नै हो। पछिल्लो समय शेयर बजारमा दैनिक अर्बौंको कारोबार हुँदा पनि नेप्से सूचक बढ्न नसक्नुको कारण ठूला लगानीकर्ताले 'एक्जिट' लिनु वा ऋण तिर्न शेयर बेच्नुलाई मानिएको छ। "सरकार फेरिएसँगै नीतिगत स्थिरता आउला भन्ने थियो, तर सरकारको रबैया ठिक देखिएन। बजार घट्दै जाँदा 'मार्जिन कल' को तनाव झेल्नु भन्दा शेयर बेचेर ऋण चुक्ता गर्नु नै सुरक्षित ठानेर हामीले आफ्नो पोर्टफोलियो घटाएका हौँ," एक ठूला लगानीकर्ताले मेरो लगानीसँग भने।  

बैंकहरूको तथ्यांकले पनि १० करोड माथिको ऋण समूहमा रहेका धेरै ऋणीहरूले जेठ र असार महिनामा आफ्नो बक्यौता रकम उल्लेख्य रुपमा घटाएको देखाएका छन्। ठूला लगानीकर्ता डराएपछि त्यसको मनोवैज्ञानिक असर साना लगानीकर्तामा पनि परेको छ। जसका कारण बजारमा खरिदकर्ता पाउनै मुस्किल हुन थालेको छ।

ब्याजदर सस्तो, तर लगानीकर्ता किन 'पर्ख र हेर' मा?

अहिले बैंकहरूमा ब्याजदर निकै सस्तो छ। साउनका लागि बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत निक्षेपको औसत ब्याजदर ४.१६ प्रतिशतमा झरेको छ। यसको अर्थ शेयर कर्जाको ब्याजदर पनि ७ देखि ८ प्रतिशतको हाराहारीमा झरिसकेको छ।

ब्याजदर एकल अंकमा आउँदा पनि ऋणको माग नहुनु भनेको बजारमा नीतिगत त्रास  हुनु हो। ठूला लगानीकर्ताहरूलाई डर छ कि कुन दिन के हुने हो वा नयाँ सरकारले पूँजी बजारलाई हेर्ने दृष्टिकोणमा राम्रो छैन। यही त्रासका कारण सस्तो ब्याजदर हुँदा पनि नयाँ ऋण लिएर बजारमा पैसा खन्याउन कोही पनि अग्रसर देखिँदैनन्।

सरकार र नियामकको मौनता घातक

चैत यता बजारमा देखिएको यो 'सुख्खापन' ले अर्थतन्त्रमा समेत असर पुर्‍याउन थालेको छ। शेयर बजार घट्दा र कर्जा विस्तार रोकिँदा सरकारले पाउने पूँजीगत लाभकर (CGT) मा समेत गिरावट आएको छ।

२५ असारसम्म बैंक तथा वित्तीय संस्थामा १५ खर्ब ६० अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम (अधिक तरलता) थुप्रिएको छ । तर शेयर बजार जस्तो चलायमान क्षेत्रमा ऋणको माग स्वाट्टै घट्नुले आर्थिक मन्दीको संकेत गरेको विज्ञहरू बताउँछन्। ठूला लगानीकर्ताले शेयर बेचेर ऋण घटाउनु भनेको बजारबाट पूँजी बाहिरिनु हो। 

नयाँ सरकार आएपछि लगानीकर्ताले जुन 'हनिमुन पिरियड' को अपेक्षा गरेका थिए, त्यो 'ह्याङओभर' मा परिणत भएको छ। ठूला लगानीकर्ताको मनोबल नफर्किएसम्म र बैंकबाट प्रवाह हुने ठूलो आकारको शेयर ऋणको माग नबढेसम्म बजारले गति लिने देखिँदैन। सरकार र राष्ट्र बैंकले तत्कालै ठूला लगानीकर्ताको डर हटाउने गरी नीतिगत स्पष्टता नल्याउने हो भने, ऋण तिर्न शेयर बेच्नेहरूको संख्या अझै बढ्ने र बजारले थप ओरालो यात्रा तय गर्ने निश्चित छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।