उद्याेगी, उर्जा उद्यमी र निर्माण व्यावसायी भेटिसकेका प्रधानमन्त्री बालेनले आज महिला उद्यमी भेट्दै

Jul 16, 2026 12:27 PM Merolagani



उद्याेगी, उर्जा उद्यमी र निर्माण व्यावसायी भेटिसकेका प्रधानमन्त्री बालेन शाहले आज महिला उद्यमी भेट्दै छन् । प्रधानमन्त्री शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गर्दैछन् ।

केही बेरमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री र महासंघका प्रतिनिधिहरूबीच मुलुकको आर्थिक विकासमा महिलाहरूको भूमिका र उद्यमशीलता प्रवर्द्धनका विविध आयामबारे संवाद हुनेछ। विशेषगरी महिला उद्यमीहरूले भोग्नुपरेका चुनौती, नीतिगत सुधारका आवश्यकता र उद्योग क्षेत्रमा महिलाहरूको अर्थपूर्ण सहभागिता वृद्धिका लागि सरकारले चाल्नुपर्ने कदमहरूका बारेमा छलफल केन्द्रित रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा महिला उद्यमी महासंघका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुँदैछ। टोलीमा महासंघकी उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी छन्।

नेपालमा महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन र उनीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्न यो भेटघाटलाई निकै महत्वपूर्ण मानिएको छ। महासंघले आजको बैठकमा महिला उद्यमीहरूका लागि सहुलियतपूर्ण कर्जा, कर व्यवस्थामा सुधार र स्वदेशी उत्पादनको बजारीकरणमा सरकारी सहयोगका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने तयारी गरेको छ।

सरकारले आगामी बजेट र नीतिहरूमा महिला उद्यमशीलतालाई प्राथमिकतामा राख्ने आश्वासन दिँदै आएको पृष्ठभूमिमा आजको यस संवादबाट ठोस निष्कर्ष निस्कने अपेक्षा गरिएको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।