शेयर बजार सुधारमा धितोपत्र बोर्डको नयाँ कदमः कडा निगरानी गर्दै नयाँ बेन्चमार्क इन्डेक्स बनाइने

Jul 14, 2026 06:07 PM Merolagani



नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानीकर्ताको हितलाई केन्द्रविन्दुमा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमका प्राथमिकताहरू सार्वजनिक गरेको छ।

बोर्डले विशेषगरी सामाजिक सञ्जालमार्फत शेयर बजारलाई प्रभावित पार्ने 'फिन्फ्लुएन्सर' माथि कडा निगरानी गर्नेदेखि बजारको लागत घटाउनेसम्मका योजना अघि सारेको छ।

बोर्डले पूँजी बजारलाई विश्वसनीय, पारदर्शी र प्रतिस्पर्धी बनाउन विभिन्न कार्ययोजनाहरू तत्काल कार्यान्वयनमा ल्याइने भएको हो ।

बोर्डले लगानीकर्ताको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको छ। सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक प्रचार गर्ने, अनधिकृत लगानी परामर्श दिने र बजारलाई प्रभावित पार्ने फिन्फ्लुएन्सरहरूको गतिविधिमाथि प्रभावकारी नियामकीय निगरानी गरिने बोर्डले स्पष्ट पारेको छ।

यस्तै, प्रारम्भिक सार्वजनिक निष्कासन अगावै सामाजिक सञ्जालको प्रयोग गरी सर्वसाधारणबाट पूँजी संकलन गर्ने संगठित संस्थाहरूको प्रवृत्तिलाई पनि नियमनको दायरामा ल्याइने व्यवस्था मिलाइनेछ। धितोपत्र सम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझमा अन्तरनिकाय समन्वयलाई थप प्रभावकारी बनाइने पनि विज्ञप्तिमा उल्लेख छ।

साथै, सार्वजनिक निष्काशनलाई थप व्यवस्थित बनाउन सरोकारवालाको सुझाव समेत समेटी नीतिगत सुधार गरिनेछ। अबदेखि कम्पनीको वित्तीय एवं व्यवस्थापकीय पक्षको वस्तुपरक अध्ययन गरेर मात्र आईपीओ निष्कासनको अनुमति दिइने भएको छ ।

यसका साथै, लगानीकर्ताहरूको कारोबार लागतमा कमी ल्याउने उद्देश्यले प्राथमिक तथा दोस्रो बजारको शुल्कमा पुनरावलोकन गरिने भएको छ।

हालको नेप्से सूचकाङ्कलाई अल इक्विटी इन्डेक्सको रूपमा कायम राख्दै, बजारमा कारोबार योग्य शेयर अर्थात् फ्री फ्लोट शेयर (Free Float Shares) को आधारमा नयाँ बेन्चमार्क सूचकाङ्क विकास गरिने बोर्डको योजना छ।

त्यसैगरी, मार्जिन कारोबार सम्बन्धी निर्देशिका जारी भइसकेको अवस्थामा देखिएका सीमिततालाई हटाउन सरोकारवाला निकायहरू (नेपाल राष्ट्र बैंक, नेप्से, सिडिएससी र धितोपत्र दलाल) बीच समन्वय गरी यसलाई यथाशीघ्र पूर्ण सञ्चालनमा ल्याइनेछ। बजारमा धितोपत्रको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सामूहिक लगानी कोषको लकइन अवधि र बोर्ड बाँडफाँट सम्बन्धी व्यवस्थालाई पनि पुनरावलोकन गरिने भएको छ।

आगामी दशकको मार्गचित्र तयार

नेपालको पूँजी बजारलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गरी राष्ट्रिय बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न बोर्डले आगामी दशकको नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३ तयार गरेको छ। उक्त मार्गचित्र र आ.व. २०८३/८४ को कार्ययोजना चाँडै नै बोर्डको वेबसाइटमार्फत सार्वजनिक गरिने प्रवक्ता निरन्जन घिमिरेले जानकारी दिएका छन्।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।