बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँकै अग्रसरतामा असार मसान्तभित्रै साना बचतकर्ताको रकम फिर्ता गर्ने निर्णय गरे बमोजिम यो प्रक्रिया अघि बढाइएको हो ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार हाललाई सिभिल, दर्शन, सुमेरु, नेशनल नमोबुद्ध र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताहरूले आफ्नो रकम फिर्ता पाउनेछन् । समितिका सदस्य रामेश्वर ढकालका अनुसार यी सहकारीका करिब तीन हजार जना साना बचतकर्ताहरू यस निर्णयबाट लाभान्वित हुनेछन् ।
समितिले बचतकर्ताहरूको विवरण भेरिफाइड गर्ने काम सम्पन्न गरिसकेको छ । रकम फिर्ताका लागि हालसम्म करिब ९ करोड रुपैयाँ जम्मा भइसकेको छ । जसअन्तर्गत सिभिल, सुमेरु, लालीगुराँस र नमोबुद्ध सहकारी सहकारीबाट अधिकतम एक लाख रुपैयाँसम्मको बचत फिर्ता गरिने र दर्शन सहकारीका बचतकर्तालाई १० हजार रुपैयाँसम्म फिर्ता गरिने छ । समितिले यही असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गरिसक्ने लक्ष्य राखेको छ ।
यसअघि समितिले गत जेठ २२ गते ती समस्याग्रस्त सहकारीका ११४ जना ठूला ऋणीहरूको नामावली सार्वजनिक गरेको थियो । समितिले सहकारीबाट लिएको ऋण तत्काल चुक्ता गर्न ती ऋणीहरूलाई आग्रह समेत गरेको छ । ठूला ऋणीहरूबाट रकम असुली गर्दै क्रमशः अन्य बचतकर्ताहरूको पनि रकम फिर्ता गर्ने समितिको योजना रहेको छ ।