ओरालो लाग्दै बजारः लगानीकर्तामा आक्रोश र निराशा, सरकारसँग ‘रेस्क्यु’को माग

Jul 13, 2026 06:10 PM Merolagani



नेपालको शेयर बजार पछिल्लो समय निरन्तर गिरावटको चपेटामा परेको छ । उतारचढावका बीच सोमबार बजार परिसूचक नेप्से करिब ८ महिना यताकै न्यून बिन्दुमा झरेको छ ।

सोमबारको बजार ३०.६० अंकको गिरावटसँगै नेप्से २५७० विन्दुमा झरेको छ। जुन गत मंसिर पछिकै तल्लो विन्दु हो । यस अवस्थामा लगानीकर्तासँगै सरोकारवालाहरुमा बजारको विश्वास बढाउनु पर्नेमा चासो बढ्न थालेको छ। 

बजारमा कारोबार रकममा समेत उत्साह देखिएको छैन् । पछिल्ला दिनमा अंधिकाश कारोबार रकम ऋणपत्रबाट आउने गरेको छ । सोमबार ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । जसमा तीन अर्ब ७० करोड ८९ लाख रुपैयाँ बराबरको ऋणपत्रको मात्रै कारोबार भएको हो । बजारमा परिसूचक घट्दा कारोबार रकम भने बढ्नुले प्यानिक सेल बढेको आशंका गरिएकाे छ । बजार घटेका बेला कारोबार बढ्नुले लगानीकर्ताहरु बजारबाट बाहिरिन खोजिरहेको हो कि भन्ने आशंका गरिएकाे हाे।

पूँजी बजारलाई अर्थतन्त्रको ऐना मानिन्छ। तर वर्तमान सरकार र नीति निर्माताहरुको मौनताले लगानीकर्ताको लगानी जोखिममा परेको भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ।

लगानीकर्ता पबित्रा ज्ञवालीले वर्तमान सरकार र अर्थमन्त्रीको कार्यशैलीमाथि कडा प्रश्न उठाएकी छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारले लगानीकर्ताको सम्पत्ति खरानी बनाएको आरोप लगाइन् । “लाखौ लगानीकर्ताको विश्वास कमजोर हुँदै गएको छ। पूँजीबजारप्रति सरकारको मौनता अब स्वीकार्य छैन्,” ज्ञवालीले सामाजिक सञ्जालमा भनेकी छन्  । बजार सूचक यसरी नै निरन्तर घट्दो अवस्थामा रहेमा शेयर बजारकै कारण उत्पन्न दुःखद घटना घट्न सक्नेमा चिन्ता उनले व्यक्त गरेकी छन् ।

त्यसैगरी, अर्कोतर्फ कालिका सेक्यूरिटिज अर्थात ब्रोकर नम्वर ४६ का अध्यक्ष नरेन्द्र सिजापतीले पनि दुई–तिहाइको शक्तिशाली सरकार र बजारको ओरालो यात्राबीचको विरोधाभासपूर्ण सम्बन्ध माथि टिप्पणी गरेका छन्। “सरकार जति बलियो, बजार उति गलियो” भन्दै उनले बजारमा नीति र थितिभन्दा पनि अन्योलता हाबी भएको दाबी गरेका छन्। वर्तमान राजनीतिक स्थायित्वले बजारलाई उत्साह दिनुको सट्टा झन् तल झार्ने काम गरिरहेको सिजापतीको बुझाई छ ।

बजारको यो भयावह स्थितिलाई सम्बोधन गर्न सरोकारवालाहरुले सरकारले तत्काल हस्तक्षेप गर्नु पर्ने माग गरेका छन् । नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले अर्थमन्त्रीलाई बजार जोगाउन (रेस्क्यु गर्न) आग्रह गरेका हुन्। पाण्डेले सरकार, ब्रोकर, लगानीकर्ता र नियामक निकायबीच तत्काल खुला छलफल चलाउनुपर्नेमा जोड दिए। “बजारको वर्तमान अवस्थाको सूक्ष्म विश्लेषण गरी सरकारले जिम्मेवार भएर पहल कदमी लिनु आवश्यक छ, ताकि आगामी दिनमा थप दुःखद खबर सुन्न नपरोस्,” भन्दै पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन् ।

शेयर बजारमा लाखौ सर्वसाधारणको लगानी छ । त्यसैले बजारमा सिर्जना भएको संकटको साम्बोधन गर्न ढिला गर्न नहुने लगानीकर्ताहरुको बुझाई छ । लाखौं लगानीकर्ता आबद्ध भएको बजारमा निरन्तर गिरावटले सरकारको कार्यक्षमतामाथि नै प्रश्न उठाइएको छ । सरकारले खस्किएको मनोबल उकास्ने भाषणमा मात्र नभई व्यवहारमा देखिने गरी नीतिगत सुधार र अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा लगानीकर्ताहरुले जाेड दिएका छन्।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।