पुँजी बजार जोगाउन लगानीकर्ता संघको आग्रह, सुधार नभए सशक्त आन्दोलन गर्ने

Jul 14, 2026 11:28 AM Merolagani



नेपाल शेयरधनी संघले शेयर बजारमा आएको निरन्तर गिरावटप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाउँदै सरकार र नियामक निकायलाई तत्काल सुधारका कदम चाल्न माग गरेको छ।

संघले नयाँ सरकार गठन पश्चात पनि बजार ओरालो लाग्ने क्रम नरोकिएको र लगानीकर्ताहरू ठूलो आर्थिक जोखिममा परेको उल्लेख गरेको छ। सरकार गठन हुँदा करिब २९५० को हाराहारीमा रहेको नेप्से परिसूचक अहिले घटेर २५७० को आसपासमा खुम्चिएको छ। यस अवधिमा आम लगानीकर्ताले ६ खर्ब रुपैयाँभन्दा बढी पुँजी गुमाइसकेका छन्। जुन रकम देशको वार्षिक बजेटको २७ प्रतिशतभन्दा बढी हुन आउने विज्ञप्तिमा दाबी गरिएको छ।

दोस्रो बजारमा लगानीकर्ताहरू चरम निराशामा रहेको अवस्थालाई मध्यनजर गर्दै संघले अर्थमन्त्रीलाई तत्काल बजारसँग सम्बन्धित सरोकारवालाहरूसँग छलफल गरी कार्ययोजना बनाउन र समाधानका उपायहरू खोज्न हार्दिक अनुरोध गरेको छ। नीतिगत सुधारहरू तत्काल गरी लगानीकर्ताको विश्वास कायम राख्न संघको जोड छ।

साउन १ गतेदेखि नयाँ करका दरहरू लागू हुने तयारी भइरहँदा बजार जोगाउने उपकरणहरू पनि सोही दिनदेखि लागू हुनुपर्ने संघले बताएको छ। संस्थागत लगानीकर्तालाई सहज रूपमा दोस्रो बजारमा लगानी गर्ने वातावरण बनाइनुपर्ने र गैर–आवासीय नेपाली नागरिकहरूलाई दोस्रो बजारमा ल्याउने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्ने मागहरु राखेका छन्।

“नेपालको पुँजी बजारमा नेपाली लगानीकर्ताहरूको भरोसा टुट्न नदिन अर्थमन्त्री, धितोपत्र बोर्ड र नियामक निकायले तत्काल समस्या समाधानका लागि ठोस कदम चाल्नुपर्छ,’’ संघका अध्यक्ष घनश्याम पाण्डेले भने।

संघले सरकार र नियामक निकायले तत्काल सम्बोधन नगरे लगानीकर्ताको धैर्यताको बाँध टुट्ने र आफूहरू सशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिएको छ।

अर्कोतर्फ लगानीकर्ताकाे अर्को समूह पनि शेयर बजार सुधारको कामलाई द्रुतता दिनुपर्ने दवाव दिन बोर्डमा पुगेकाे छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।