देशैभरका मालपोत कार्यालयको सर्भर डाउनः सेवाग्राही मर्कामा

Jul 14, 2026 02:30 PM Merolagani



भूमि व्यवस्थापन तथा अभिलेख विभागले सञ्चालन गर्दै आएको पब्लिक एक्सेस मोडल (पाम) प्रणालीमा समस्या आउँदा देशैभरका मालपोत (भूमि प्रशासन) कार्यालयहरूको सेवा प्रभावित भएको छ । सोमबारदेखि नै सर्भरमा प्राविधिक समस्या देखिएपछि देशभरका मालपोतको काममा अवरोध आएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक गिरिश कुमार झाले सर्भरमा देखिएको प्राविधिक समस्या समाधानका लागि टोली खटिएको र छिट्टै सेवा सुचारु हुने बताएका छन् । उनले भने, 'सर्भर डाउन भएपनि सेवाग्राहीले लिखत तथा निवेदन टाइप गरी ल्याएको खण्डमा भूमि प्रशासन कार्यालयबाट हुन्छ ।' 

मालपोतको सर्भरमा देखिएको समस्याले सर्वसाधारण मात्र नभई बैंक तथा वित्तीय संस्थाहरू समेत प्रभावित भएका छन् । विशेषगरी आर्थिक वर्षको अन्त्यमा बैंकहरूलाई धितो राखेर कर्जा प्रवाह गर्ने, डिफल्ट भएका कर्जाहरूको व्यवस्थापन गर्ने र गैर–बैंकिङ सम्पत्ति बिक्री गर्नुपर्ने दबाब हुन्छ । मालपोतको सर्भर नचल्दा यी सबै प्रक्रिया रोकिएका छन् ।

काम रोकिँदा सेवाग्राहीहरूको गुनासो बढेको भूमि प्रशासन कार्यालय कलंकीका प्रमुख केदार दाहालले बताए। सर्भरकै कारण कार्यालयहरूमा सेवाग्राहीको अत्यधिक भीड लाग्ने छ । आर्थिक वर्षको अन्त्यमा काम हुन नसक्दा सेवा ग्राहीहरु मर्कामा परेको दाहालले बताए ।

पछिल्लो समय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–सूचना व्यवस्थापन प्रणाली लागू गरेपछि मालपोतका कामहरू डिजिटल भएका छन् । कार्यालयले दिने भौचरका आधारमा बैंक, मोबाइल एप वा डिजिटल वालेटबाट सिधै सरकारी राजस्व खातामा पैसा जम्मा गर्न सकिने व्यवस्था छ । त्यस्तै, सरकारले हालै सुरु गरेको मेरो कित्ता अनलाइन प्रणालीमार्फत घरमै बसेर आफ्नो जग्गाको नक्सा, श्रेस्ता र अन्य विवरण हेर्न तथा प्रिन्ट गर्न सकिन्छ ।

यसरी प्रविधिले सेवा सहज बनाए पनि सर्भरमा आउने पटक–पटकको समस्याले गर्दा सेवाग्राहीले भने सास्ती भोग्नु परिरहेको छ । विभागले भने केही समयभित्रै यो समस्या समाधान हुने दाबी गरेको छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।