बारम्बार आउने गर्मीको लहरले लागत बढाएको छ, व्यवसायहरूमा अवरोध पुर्याएको छ र समग्र आर्थिक वृद्धिदरमा ठूलो भार थपेको छ।
हाल फ्रान्स र स्पेनमा लागेको भीषण डढेलोले ३ लाख एकडभन्दा बढी जमिन जलिसकेको छ भने ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। यो भयावह दृश्यले गत वर्ष लस एन्जलसमा भएको विनाशकारी डढेलोको सम्झना गराउँछ, जसले ठूलो मात्रामा जनधनको क्षति पुर्याउनुका साथै सुरक्षा संयन्त्रलाई समेत निकम्मा बनाएको थियो।
विश्व मौसम विज्ञान संगठन (WMO) ले सन् २०२५ र २०२६ को परिदृश्यलाई हेर्दै युरोपमा डढेलोको जोखिम र यसको समय अवधि अझ बढ्ने चेतावनी दिएको छ। WMO का अनुसार पश्चिमी युरोपले यस वर्ष इतिहासकै सबैभन्दा तातो 'जुन' महिना रेकर्ड गरेको छ। फ्रान्सेली अर्थमन्त्री रोलान्ड लेस्क्युरले पछिल्लो डढेलोलाई स्थानीय अर्थतन्त्रका लागि "भयानक गर्जन" (Thunderclap) को संज्ञा दिएका छन्।
जीडीपी र उत्पादनमा प्रत्यक्ष असर

अर्थशास्त्रीहरूका अनुसार गर्मीको लहर अब केवल एउटा 'मौसमी घटना' मात्र नरहेर 'समष्टिगत आर्थिक जोखिम' (Macroeconomic Risk) मा परिणत भएको छ। यसले स्वास्थ्य सेवा, यातायात, कृषि र बीमा क्षेत्रमा व्यापक तनाव सिर्जना गरेको छ। लगातारको गर्मीले कामदारको उत्पादकत्व घटाउने, आपूर्ति शृङ्खलामा अवरोध पुर्याउने, पर्यटन क्षेत्रलाई प्रभावित गर्ने र खाद्यान्नको मूल्य बढाउने देखिएको छ।
मन्हाइम विश्वविद्यालय र युरोपेली केन्द्रीय बैंकको एक अध्ययन अनुसार, सन् २०२५ को गर्मी र खडेरीका कारण युरोपेली अर्थतन्त्रले आफ्नो कुल उत्पादनको करिब ०.३% गुमाएको थियो। यो क्षति सन् २०२९ सम्ममा बढेर ०.८% सम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ। विशेषगरी कोको, कफी र गहुँ जस्ता कृषि उत्पादनमा यसको ठूलो असर पर्ने र मूल्य वृद्धि आकासिने डर छ।
खर्बौंको वित्तीय भार
ऊर्जा र जलवायु नीति विज्ञ जर्ज जाचम्यानका अनुसार, यस्ता विपत्तिले सरकारी बजेटमा ठूलो प्वाल पार्छन्। क्यालिफोर्नियाको उदाहरण दिँदै उनले भने, "सन् २०२५ को डढेलोको प्रत्यक्ष लागत ६० अर्ब डलरसम्म पुग्न सक्छ भने अप्रत्यक्ष क्षति ३०० अर्ब डलरभन्दा बढी हुन सक्छ।"
बीमा क्षेत्रमा पनि यसको गम्भीर असर देखिएको छ। सन् २०१० को दशकमा डढेलोका कारण बीमा कम्पनीहरूले ५६.३ अर्ब डलर क्षतिपूर्ति तिर्नुपरेको थियो, जुन अघिल्लो दशकको तुलनामा ६ गुणा बढी हो।
मानव निर्मित संकट र व्यवस्थापनको चुनौती
विज्ञहरूले जलवायु परिवर्तनका साथै खराब 'ल्यान्डस्केप व्यवस्थापन' लाई पनि यो संकटको प्रमुख कारण मानेका छन्। स्वान्सी विश्वविद्यालयका प्राध्यापक स्टेफन डोएर भन्छन्, "दशकौंदेखि कृषि भूमि बाँझो छोडिनु र वनस्पतिहरूको उचित व्यवस्थापन नहुँदा दक्षिणी युरोपका वनहरू अत्यधिक प्रज्वलनशील बनेका छन्। यो पूर्णतया प्राकृतिक होइन, बरु मानव निर्मित अवस्था हो।"
युरोपले अहिले एकातिर बढ्दो तापक्रमलाई कम गर्ने प्रयास गर्नुपरेको छ भने अर्कोतिर आफ्नो आर्थिक प्रणालीलाई यो नयाँ 'चरम मौसमी वास्तविकता' सँग अनुकूलन गराउनुपर्ने दबाब छ। यदि समयमै कदम नचाले, यी जोखिमहरूले युरोपको आर्थिक वहन क्षमतालाई नाघ्ने चेतावनी विज्ञहरूले दिएका छन्।