अहिलेको समयमा त्यो शब्द AI (Artificial Intelligence) हो । कम्पनीको वास्तविक व्यापार, आम्दानी वा मुनाफा जस्तोसुकै भए पनि नाममा AI जोड्ने बित्तिकै शेयर मूल्य आकासिने यो प्रवृत्तिलाई वित्तीय जगतमा AI Hype Wave वा AI Pivot Effect भनिन्छ।
सि ३ लिमिटेड (C3.ai): नाम फेर्दा शेयर मूल्य ४००% भन्दा बढीले बढ्यो
कम्पनीको नाम फेरेर शेयर मूल्य बढाउने सबैभन्दा चर्चित र ठूलो उदाहरण C3.ai नामक अमेरिकी कम्पनी हो ।
क्यालिफोर्नियामा मुख्य कार्यालय रहेको यो कम्पनी सुरुमा सन् २००९ मा C3 Energy को नाममा स्थापना भएको थियो, जसले नाम अनुसार नै ऊर्जा क्षेत्रमा काम गर्थ्यो । पछि नाम फेरेर C3 oT (Internet of Things) राखियो। तर जब AI को लहर सुरु भयो, यसले आफ्नो नाम बदलेर C3.ai राख्यो।

त्यसको प्रभाव यस्तोसँग देखियो सन् २०२३ को सुरुवातमा OpenAI को ChatGPT भाइरल भएपछि, लगानीकर्ताहरूले नाममा AI भएका कम्पनीहरू अन्धाधुन्ध खोज्न थाले। C3.ai को शेयर मूल्य २०२३ को सुरुका केही महिनामै ४००% भन्दा बढीले वृद्धि भयो, त्यसयता पनि कम्पनीको मूल्य राम्रैसँग बढिरहेको छ ।
बिगबेयर डट एआई (BigBear.ai) र साउन्डहाउन्ड (SoundHound AI)
सन् २०२३ को AI क्रेजमा साना र कम परिचित कम्पनीहरू जसको नाममा AI थियो, तिनको शेयरमा अस्वाभाविक वृद्धि देखियो।
BigBear.ai र SoundHound AI जस्ता कम्पनीहरूका शेयरहरू कुनै ठूलो वित्तीय प्रगति वा नयाँ व्यापार नभईकन केवल 'AI' नाम भएकै भरमा केही केही हप्तामै २००% देखि ३००% सम्म बढेका थिए।
नाममा AI जोड्ने अन्य साना कम्पनीहरूको लहर
यी त केही उदाहरण मात्र हुन्, अनुसन्धानकर्ताहरुका अनुसार अहिले विश्वभर नै साना कम्पनीहरूले आफ्नो नाममा एआई जोड्ने वा प्रेस विज्ञप्तिमा एआई शब्दको अत्यधिक प्रयोग गर्ने होडबाजी चलिरहेको छ । कतिसम्म भने एआईसँग सम्वन्धित कुनै काम नै नगर्ने कम्पनीहरुले पनि नाममा एआई राख्ने गरेका छन् ।
अनुसन्धानअनुसार जब कुनै साना वा मध्यम कम्पनीले आफ्नो नाममा AI जोड्छ वा आफ्नो आधिकारिक दस्तावेजमा Artificial Intelligence Strategy लागू गर्दैछौँ भनेर घोषणा गर्छ, तब औसतमा त्यस कम्पनीको शेयर मूल्य २०% देखि ५०% सम्म तुरुन्तै बढ्ने गरेको पाइएको छ।
नाम फेरेर कमाउने धन्दा अर्थात् शेयर बजारको पुरानो रोग
शेयर बजारमा नाम फेरेर लगानीकर्तालाई आकर्षित गर्ने यो चाल नयाँ भने होइन । जस्तो कि झण्डै ३ दशक पुरानो ‘डट कम बुम’ लाई लिन सकिन्छ ।
सन् १९९० को दशकको अन्त्यतिर इन्टरनेटको सुरुवात हुँदा कम्पनीहरूले आफ्नो नामको पछाडि ।अयm वा अगाडि ष् जोड्ने बित्तिकै तिनको शेयर मूल्य आकासिन्थ्यो।
प्रोफेसर माइकल कूपर (Michael Cooper) र उनको टोलीले गरेको एउटा अध्ययन (Journal of Finance, 2001) अनुसार, सन् १९९८-१९९९ मा जुन कम्पनीहरूले आफ्नो नामको पछाडि केवल .com जोडे, तिनको शेयर मूल्य नाम फेरेको १० दिनभित्रै औसतमा ७४% ले बढेको थियो—भलै तिनको काम इन्टरनेटसँग सम्बन्धित नै नहोस् !
सन् २०१७ मा जब बिटकोइन र ब्लकचेनको क्रेज थियो, एउटा अति नै हास्यास्पद घटना घट्यो। अमेरिकाको Long Island Iced Tea Corp नाम गरेको चिसो पेय पदार्थ (Juice/Tea) बेच्ने कम्पनीले आफ्नो नाम बदलेर Long Blockchain Corp राख्यो।
कम्पनीले चिया बेच्न छाडेको थिएन, तर नाममा 'Blockchain' जोड्ने बित्तिकै उसको शेयर मूल्य एकै दिनमा २८९% ले बढेको थियो (पछि यो कम्पनी विवादमा पर्यो र बजारबाट हटाइयो)।
विश्लेषकहरुकाअनुसार शेयर बजारमा Name Game वा ट्रेन्डिङ शब्द (Buzzword) को पछाडि लाग्नु निकै जोखिमपूर्ण हुन्छ। नाममा AI, Dot-Com, वा Blockchain जोड्दैमा कम्पनी रातारात नाफामा जाँदैन। इतिहासले देखाएको छ कि यस्ता हावाका भरमा बढेका धेरैजसो कम्पनीहरूको शेयर पछि थचारिने गर्छ।