यातायात व्यवस्था विभागले साउन १ गतेदेखि सातै प्रदेशमा एकसाथ लागू गरिएको ‘इलेक्ट्रोनिक ड्राइभिङ्ग लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन सिस्टम’ (ईडीएलभीआरएस) मा गम्भीर प्राविधिक त्रुटिहरू देखिएपछि सेवाग्राहीहरू सास्ती भोग्न बाध्य भएका हुन् ।

नयाँ प्रणालीमा देखिएका अनेकौँ झमेलाका कारण नयाँ लाइसेन्सको आवेदन, नवीकरण, वर्ग थप, प्रतिलिपि र ट्रायल परीक्षाजस्ता महत्त्वपूर्ण कार्यहरू कतै पूर्ण रूपमा ठप्प छन् त कतै आंशिक मात्र सञ्चालनमा रहेका छन् । सातवटै प्रदेशका अनलाइन पोर्टलमा फरक–फरक किसिमका प्राविधिक समस्या देखिएपछि हजारौँ सेवाग्राही दैनिक रित्तो हात घर फर्कनुपर्ने अवस्था सिर्जना भएको छ ।
के–के छन् प्राविधिक समस्या ?
नयाँ प्रणालीमा विशेषगरी राजस्व गणनामा गडबडी, लाइसेन्स नम्बर जेनेरेसनमा त्रुटि र मोबाइलमा ओटीपी नै नआउने जस्ता समस्या देखिएका छन् । कतिपय सेवाग्राहीको हकमा राजस्व नै नतिरी लाइसेन्स जारी भइसकेको सन्देश आउने, मेडिकल रिपोर्ट स्वीकृत नहुँदै भुक्तानीका लागि ताकेता गर्ने र ट्रायल पास गरेकाहरूले राजस्व तिर्न खोज्दा पुनः नयाँ फारम भर्ने विन्डोमा पुर्याउने जस्ता अनौठा त्रुटिहरू फेला परेका छन् ।
यति मात्र होइन, प्रणालीमा डेटा माइग्रेसन (विवरण सार्ने काम) प्रभावकारी नहुँदा पुराना विवरणहरू नदेखिने र पाँच महिनाभन्दा बढी अवधि बाँकी रहेका लाइसेन्स नवीकरण गर्न नमिल्ने समस्याले गर्दा सेवाग्राही थप मर्कामा परेका छन् ।
युवाहरू सबैभन्दा बढी प्रभावित
यातायात कार्यालयहरू अहिले छापिएर आएका पुराना लाइसेन्स वितरण गर्ने बाहेक अन्य सेवा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् । यसको प्रत्यक्ष असर वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश जाने तयारीमा रहेका युवाहरूमा परेको छ । समयमै लाइसेन्सको प्रक्रिया पूरा नहुँदा उनीहरूको विदेश प्रस्थान गर्ने योजना नै जोखिममा परेको छ ।
यातायात कार्यालयहरूले प्राविधिक समस्याका कारण सेवा प्रवाह गर्न नसकिएको बताए पनि विभागले भने यी समस्या समाधानका लागि ठोस पहल गर्न सकेको छैन । पर्याप्त परीक्षण र तयारीविना नै हतारमा नयाँ सफ्टवेयर कार्यान्वयन गर्दा सरकारी सेवाको विश्वसनियतामाथि नै प्रश्न उठेको छ ।
यसरी पूर्वतयारीबिना निम्तिएको यो प्राविधिक समस्याबारेमा यातायात व्यवस्था विभाग भने मौन देखिएको छ । विभागका एक अधिकारीले प्राविधिक समस्या समाधानका लागि पहल भइरहेको र छिट्टै नै अनलाइनसेवा सुरु हुने बताए ।