वुलिङ, होङ्छी, जीडब्लूएम र एमजीले नयाँ विद्युतीय तथा प्लगइन हाइब्रिड मोडल बजारमा उतारेका हुन्।
नेपालका लागि पारामाउन्ट मोटर्सले वुलिङ मिनी ईभी सार्वजनिक गरेको छ। दुई भेरियन्टमा उपलब्ध यसको मूल्य २१ लाख र २३ लाख रुपैयाँ तोकिएको छ। एक्स्पो अफरमा भने क्रमशः १९ लाख ९९ हजार र २१ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ। यसको स्ट्यान्डर्ड रेन्जले २०५ र लङ रेन्जले ३०१ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।
विशाल ग्रुपअन्तर्गतको एड्भान्स अटोमोबाइलले होङ्छी ई–एचएस ४ इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ। ६७.१ किलोवाट आवर ब्याट्री र १६० किलोवाट मोटर रहेको यसले डब्लूएलटीपीअनुसार ४६० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीले जनाएको छ। यसको मूल्य ५९ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिए पनि एक्स्पोमा ५७ लाख ९९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ।

त्यस्तै, भीजी इम्पेक्सले जीडब्लूएम हाभल जोलियन म्याक्स नेपाली बजारमा ल्याएको छ। ५८.३ किलोवाट आवर ब्याट्री र १५० किलोवाट मोटर रहेको यसले एकपटकको चार्जमा ४०० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ। यसको मूल्य ५९ लाख ९९ हजार ९९९ रुपैयाँ छ।
पारामाउन्ट मोटर्सले नै एमजी एचएस प्लगइन हाइब्रिड (पीएचईभी) बिक्री सुरु गरेको छ। १.५ लिटर टर्बो पेट्रोल इन्जिन र १३५ किलोवाट इलेक्ट्रिक मोटरसहितको यस गाडीको संयुक्त शक्ति २९५ बीएचपी रहेको छ। यसको मूल्य १ करोड २० लाख रुपैयाँ तोकिएको छ। गाडीमा ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट, हेडअप डिस्प्ले र वायरलेस चार्जिङलगायत सुविधा छन्।
एक्स्पोमा नयाँ विद्युतीय र हाइब्रिड गाडी सार्वजनिक भएसँगै नेपाली अटो बजारमा नयाँ प्रविधि र मोडलबीचको प्रतिस्पर्धा थप बढ्ने देखिएको छ।