इजाजतपत्र प्राप्त गाइडमार्फत मात्रै पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

Aug 13, 2026 12:51 PM Merolagani



बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन कार्यालय, बबरमहल, काठमाडौँले इजाजतपत्र नलिएका व्यक्ति तथा विदेशी नागरिकहरूलाई गाइडको रूपमा प्रयोग नगर्न र इजाजतपत्रप्राप्त गाइडमार्फत मात्रै पर्यटकीय सेवा सञ्चालन गर्न कडा निर्देशन जारी गरेको छ।

कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न पर्यटकीय गन्तव्य, पदमार्ग र क्षेत्रहरूमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई भ्रमण, टुर, ट्रेकिङ, पदयात्रा, म्याफिडङ लगायतका गतिविधिमा सहभागी गराउने क्रममा प्रचलित कानुन बमोजिम इजाजतपत्र नलिएका व्यक्तिहरू गाइडको रूपमा संलग्न भई सेवा प्रदान गरेको गुनासो तथा जानकारी प्राप्त भएपछि यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पर्यटकको सुरक्षा, सेवाको गुणस्तर, व्यावसायिक मर्यादा र प्रचलित कानुनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित पर्यटन व्यवसायी, ट्राभल तथा ट्रेकिङ व्यवसायी, होटल तथा होमस्टे सञ्चालक, गाइड र सरोकारवालाहरूलाई अनिवार्य रूपमा केही व्यवस्था पालना गर्न भनिएको छ। अबदेखि पर्यटकलाई टुर, ट्रेकिङ, पदयात्रा वा अन्य गतिविधिमा सहभागी गराउँदा सम्बन्धित निकायबाट इजाजतपत्र प्राप्त गाइडमार्फत मात्र सेवा प्रदान गर्नुपर्नेछ। साथै, कुनै पनि पर्यटकलाई सेवा दिनुअघि सम्बन्धित गाइडको इजाजतपत्र, यसको वैधता र गतिविधि सञ्चालन गर्ने अधिकार वा योग्यता यकिन गर्ने दायित्व सम्बन्धित पर्यटन व्यवसायीको हुनेछ।

पर्यटन व्यवसायी तथा सेवा प्रदायकहरूले पर्यटकको सुरक्षा, सुविधा र हितलाई प्राथमिकतामा राखी प्रचलित ऐन, नियम, निर्देशिका र मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ भने इजाजतपत्रप्राप्त गाइडको विवरण तथा अभिलेख व्यवस्थित रूपमा राख्नुपर्नेछ। यदि इजाजतपत्र बिना गाइडको रूपमा कार्य गरेको वा गराएको पाइएमा सम्बन्धित व्यक्ति तथा व्यवसायीमाथि प्रचलित कानुन बमोजिम आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ।

यस सूचनाको अवज्ञा गरेर इजाजतपत्र बिनाका व्यक्तिमार्फत सेवा सञ्चालन गरेमा उत्पन्न हुने सम्पूर्ण कानुनी र व्यावसायिक दायित्व सम्बन्धित व्यक्ति वा व्यवसायी स्वयम्ले व्यहोर्नुपर्नेछ। पर्यटन क्षेत्रलाई सुरक्षित, व्यवस्थित, मर्यादित र उत्तरदायी बनाउँदै पर्यटकको विश्वास अभिवृद्धि गर्न सबै सरोकारवालालाई यस सूचनाको कडाइका साथ पालना गर्न कार्यालयले हार्दिक अनुरोध गरेको छ।

 




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।