नीतिगत सुधार र सस्तो ब्याजदर हुँदा हुँदै पनि बजार अझै 'पर्ख र हेर' को अवस्थामा किन ?

Aug 18, 2026 02:55 PM Merolagani



सुधा देवकोटा
नेपालको पूँजी बजार यतिबेला संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ। एकातिर नियामक निकाय नेपाल धितोपत्र बोर्डले बजारलाई आधुनिक र प्रविधिमैत्री बनाउन सुधारका खाकाहरू अघि सारेको छ।

अर्कोतर्फ बैंक ब्याजदरमा आएको भारी गिरावट र कम्पनीहरूको उत्साहजनक वित्तीय विवरणका बाबजुद बजारले अपेक्षित गति लिन भने सकेको छैन। पछिल्लो समय धितोपत्र बोर्डले एक पछि अर्को बजार सुधार र विकासका रणनीतिहरु ल्याएको छ। पूँजी बजारलाई व्यवस्थित बनाउन मार्जिन कारोबार सुविधा सुरु भइसकेको छ । लगानीकर्ताले औपचारिक रुपमा आफूले कारोबार गर्ने ब्राेकरबाटै मार्जिन कर्जाको बाटो खुलेको छ।

 

वर्षौसम्म एकतर्फी कारोबार भएको बजारमा इन्ट्रा–डे ट्रेडिङ र सर्ट सेलिङ जस्ता अन्तर्राष्ट्रिय स्तरका उपकरणहरू सञ्चालनका लागि कानुनी र प्राविधिक तयारीलाई तीव्र रुप दिइएको छ। बोर्डले बजारमा हुने चलखेल र अस्वभाविक मूल्य वृद्धि रोक्न आर्टिफिसियल इन्टेलिजेन्स आधारित निगरानी प्रणाली विकास गर्ने योजना अघि सारेको छ। एसएमई प्लेटफर्म, इक्विटी डेरिभेटिभ्स, ग्रीन बण्ड र कमोडिटी एक्सचेन्ज जस्ता नयाँ उपकरणले बजारलाई विविधीकरण गर्ने लक्ष्य राखेका छन्। तर, यी सबै व्यवस्था अझै पनि पूर्ण कार्यान्वयनको पर्खाइमा रहदा बजार अझै 'पर्ख र हेर'को स्थितिमा रहेको छ।

त्यसैगरी, बजारका लागि सबैभन्दा सकारात्मक पक्ष भनेको घट्दो ब्याजदर हो। तर बजारले निरन्तर रुपमा घट्दो अवस्थामा रहेको ब्याजदरलाई समेत पत्याएको अवस्था छैन । बैंक तथा वित्तीय संस्थाहरुले भदौ महिनामा व्यक्तिगत निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार औसत ब्याजदर साउनको तुलनामा घटेर ४.१३६ प्रतिशतमा झरेको छ। बजारमा तरलता सहज हुँदा र ब्याजदर सस्तो हुँदा सामान्यतया शेयर बजार बढ्नु पर्ने हो।

त्यसैगरी, अहिले सूचीकृत कम्पनीहरूको गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक हुने समय हो। यस अवधिमा कम्पनीहरुको वित्तीय अवस्था सुधारोन्मुख रहेका छन् । जलविद्युत र बैंकहरूको नाफामा सुधार देखिएको छ भने सिमेन्ट उद्योगहरूको नाफा गत आर्थिक वर्षमा १५.१० प्रतिशतले बढेको छ। वाणिज्य बैंकतर्फ लाभांश क्षमतामा एभरेस्ट बैंक अग्रस्थानमा देखिएको छ भने नबिल र स्ट्याण्डर्ड चार्टर्डको अवस्था पनि सुदृढ छ।

बजारमा अनुकूल वातावरण हुँदाहुँदै पनि सूचक ओरालो लाग्नुमा लगानीकर्ताको आत्मविश्वासको कमी नै मुख्य कारण रहेको लगानीकर्ता दुर्गा तिवारीले बताइन् । 'अहिलेको जस्तो न्यून ब्याजदरमा लगानीकर्ता डराउनु पर्दैन । अहिलेको ब्याजदर बिगतमा भएको भए नेप्सेले नयाँ उचाइ लिदै धेरै माथि पुग्ने थियो,' तिवारीले मेरो लगानीलाई भनिन् । बजारमा सबै कुरा हुँदाहुँदै पनि लगानीकर्तामा विश्वासको कमीले गर्दा नयाँ लगानी आउन सकेको तिवारीको बुझाई छ।

बजारले सुस्त हुनुमा आत्मविश्वासको कमी भएको लगानीकर्ता सुहिला थपलिया पनि स्वीकार गर्छिन । अहिलेका लगानीकर्ताले नतिजामुखी काम खोजेका छन् । नियामकले ल्याएका रणनीतिहरू कागजमा राम्रा देखिए पनि त्यसले व्यवहारिक रूपमा लगानीकर्तालाई कस्तो फाइदा पुर्याउँछ भन्नेमा स्पष्ट संकेत खोजिरहेको थपलियाको बुझाइ छ। शेयर बजार निरन्तर एउटै विन्दुमा छ । अहिले लगानीकर्ताहरु डराउनु पर्ने अवस्था छैन। 'अहिले राम्रा कम्पनीहरूमा एक्युमुलेसन भइरहेको छ, त्यसैले राम्रो प्रतिफल दिने कम्पनीमा लगानी गर्नेहरूलाई अहिलेको बजारले नोक्सानी गराउने छैन्,’’ थपलियाले भनिन्।

समग्रमा, नेपालको शेयर बजार अहिले सूचना र प्रविधिको संक्रमणकालीन चरणमा छ। नियामकको प्रभावकारिता, प्रस्तावित उपकरणहरूको समयमै कार्यान्वयन र लगानीकर्ताको सुरक्षाको प्रत्याभूति नै अहिलेको प्रमुख आवश्यकता हो। जबसम्म नीतिगत सुधारहरू कार्यान्वयनमा आएर लगानीकर्ताले प्रत्यक्ष लाभ महसुस गर्दैनन्, तबसम्म सस्तो ब्याजदर र कम्पनीको नाफाले मात्रै बजारलाई पुरानो लयमा फर्काउन चुनौतीपूर्ण देखिन्छ। त्यसैले, अहिलेको गिरावट प्राविधिक भन्दा पनि मनोवैज्ञानिक बढी देखिन्छ। जसको बजारमा लगानीकर्ताको आत्मविश्वास नतिजामुखी कार्यान्वयनबाट मात्र सम्भव रहने लगानीकर्ताहरुको बुझाई छ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।