महालेखा नियन्त्रक कार्यालयले एक परिपत्र जारी गर्दै नयाँ व्यवस्था अनुसार तलब–भत्ता भुक्तानीको प्रबन्ध मिलाउन मातहतका सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्देशन दिएको छ ।
अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यमा उल्लेखित व्यवस्था बमोजिम कर्मचारीहरूको दैनिक नगद प्रवाहमा सहजता ल्याउन यो नयाँ प्रणाली लागू गर्न लागिएको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार अब संघीय कर्मचारीहरूले महिनाको अन्त्यसम्म पर्खिनुपर्ने बाध्यता हट्नेछ र हरेक महिनाको १५ दिन व्यतित भएपछि सो अवधिको तलब र भत्ता भुक्तानी गरिनेछ ।
कार्यालयले जारी गरेको पत्रमा उल्लेख भएअनुसार, अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गर्नका लागि आवश्यक प्राविधिक व्यवस्था प्रणालीमा मिलाइसकिएको छ । बजेट वक्तव्य अनुसारको कर्मचारी प्रोत्साहन भत्ता समेत यसै प्रक्रियाबाट भुक्तानी गर्न मातहतका निकायलाई सूचित गरिएको छ । महालेखा नियन्त्रकको पत्रमा सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तभरण व्यवस्थापन कार्यालय र कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई यो व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।
सरकारले यसअघि नै कर्मचारीहरूको आर्थिक आवश्यकतालाई मध्यनजर गर्दै र बजारमा मुद्रा सञ्चालनलाई चलायमान बनाउन वैशाखदेखि नै यस्तो नीतिगत मार्गदर्शन तय गरेको थियो ।