मंगलबार नेप्से परिसूचक १९.३४ अंक घटेर २६२२.४८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ५ अर्ब ५२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४७ स्टकको ५५ हजार २४६ पटकको कारोबारमा ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रुपैयाँबराबरको १ करोड ५१ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन पनि सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सर्वोत्तम पेन्ट्सको शेयरमूल्य यस दिन ६८ रुपैयाँ ४० पैसा बढेर ५२४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ भने माउन्ट एभरेष्टको शेयरमूल्य ७८ रुपैयाँ ६० पैसा बढेर ६०३ रुपयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। कारोबारमा आएको सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक १०.६३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एग्रिकल्चरल बण्ड (९ वर्ष) शीर्ष स्थानमा रहेको छ। यस दिन ५० करोड ६८ लाख रुपैयाँबराबरको सो बण्ड कारोबार भएको छ। त्यस्तै, यस दिन सोलु हाइड्रोपावरको ३९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने खानी खोला हाइड्रोपावर कम्पनीको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत घटेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सामान्य अंक बढेको छ।