उपत्यकामा ‘क्यासलेस’ भाडा र रात्रि बस सञ्चालनको तयारी: खारेजीबाट जोगिएको प्राधिकरणको नयाँ फड्को

Aug 19, 2026 02:47 PM Merolagani



सरकारले अघिल्लो वर्ष खारेजीको सूचीमा राखे पनि अन्ततः पुनर्संरचना गर्ने निर्णयसँगै ‘सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण’ नयाँ उत्साहका साथ सक्रिय भएको छ । 

प्राधिकरणले काठमाडौँ उपत्यकाको यातायात प्रणालीलाई आधुनिक बनाउन ‘क्यासलेस’ (नगदरहित) भाडा प्रणाली र रात्रि बस सञ्चालनको महत्त्वाकाङ्क्षी योजना अघि सारेको हो । प्राधिकरणको सर्वोच्च निकाय ‘सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्’ को तेस्रो बैठकले उपत्यकाको सार्वजनिक यातायातलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने गरी चालु आर्थिक वर्षका लागि नयाँ कार्यक्रमहरू स्वीकृत गरे ।

बस कता छ ? अब मोबाइलमै हेर्न सकिने

यात्रुलाई सवारी साधन कुरिरहनुपर्ने झन्झट अन्त्य गर्न प्राधिकरणले ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप सार्वजनिक गरे । परिषद्की अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बुधबार यो एप सार्वजनिक गरेकी हुन् ।

हाल जीपीएस जडान भएका उपत्यकाका करिब १ हजार २०० सार्वजनिक बसहरूको प्रत्यक्ष अवस्था यो एपमार्फत ट्र्याक गर्न सकिनेछ । यात्रुले आफू भएको ठाउँमा बस आइपुग्न कति समय लाग्छ भन्ने जानकारी मोबाइलबाटै पाउनेछन् । प्राधिकरणले आगामी दिनमा उपत्यकाका सबै सार्वजनिक सवारीमा अनिवार्य रूपमा जीपीएस र यो सूचना प्रणाली जडान गर्ने योजना बनाएको छ ।

नगदरहित भाडा र रात्रि बसको तयारी

प्राधिकरणले यो वर्ष सार्वजनिक यातायातमा नगद बोक्नु नपर्ने गरी ‘क्यासलेस’ भाडा प्रणाली लागू गर्न कानुनी र प्राविधिक पूर्वाधार तयार गर्ने निर्णय गरे । यसैगरी, रात्रिकालीन समयमा पनि सहजै यातायात सेवा उपलब्ध गराउन विभिन्न पालिकाहरूसँगको सहकार्यमा रात्रि बस सञ्चालनको मोडालिटी तयार गर्ने कार्यक्रम अघि सारिएको छ ।

 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुबेर नेपालीले विगतमा सरकारले प्राधिकरणलाई खारेजीको सूचीमा राख्दा र अन्तर–सरकारी निकायबीच समान बुझाइ नहुँदा काममा अवरोध आएको बताए । तर, अहिले सरकारले प्राधिकरणलाई पुनर्संरचना गरेर अधिकार सम्पन्न बनाएपछि नयाँ कार्यक्रमहरू तीव्र गतिमा अघि बढाइएको उनले जानकारी दिए ।

लगानी र वित्तीय साझेदारीको खाँचो

कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उपत्यकाको यातायात सेवालाई प्रभावकारी बनाउन स्थानीय तहहरूबिच वित्तीय साझेदारी र पूँजी परिचालन आवश्यक रहेको बताइन् । उनले भनिन्, “सार्वजनिक यातायात कुनै एक पालिकाको सीमाभित्र मात्र रहने क्षेत्र होइन, यो सबैको साझा सवाल हो । त्यसैले सेवामा एकरूपता ल्याउन समन्वय अनिवार्य छ ।”

यस्तै, परिषद्का उपाध्यक्ष एवं ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले यात्रुलाई सार्वजनिक यातायात चढ्दा सहज र गौरव महसुस हुने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले प्राधिकरणले अब आफ्नो क्षमताको भरपुर प्रयोग गरेर उपत्यकाको यातायातको ‘साइज’ नै बदल्ने गरी काम गर्नुपर्ने बताए ।

निर्णय प्रक्रिया चुस्त बनाउन स्टेरिङ कमिटी

३५ सदस्यीय बृहत् परिषद्को निर्णय प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन काठमाडौँ महानगरका प्रमुखको अध्यक्षतामा ९ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको छ । जसमा ललितपुर, चाँगुनारायण, चन्द्रागिरि र बुढानीलकण्ठका प्रमुखहरूका साथै ट्राफिक प्रहरी, सडक विभाग र यातायात कार्यालयका प्रतिनिधिहरू रहेका छन् ।

यो कमिटीले रुट निर्धारण, बस स्टप र पिक–ड्रप प्वाइन्टहरूको व्यवस्थापन, शौचालय निर्माण र अपाङ्गतामैत्री सडक पूर्वाधार विकासमा कार्य गर्नेछ । बैठकमा पालिकाहरूले आफ्नो क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय सम्पदाहरू लक्षित गरेर विशेष यातायात सञ्चालन गर्न समेत सुझाव दिए ।

‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन—२०७९’ अनुसार स्थापित यस निकायले उपत्यकाको सार्वजनिक यातायातलाई एउटै छातामुनि ल्याएर सेवा र सुशासनमा सुधार गर्ने लक्ष्य राखेको छ । यसले निजी क्षेत्रको लगानी र शेयर हिस्सालाई समेत व्यवस्थित गर्दै एकीकृत यातायात प्रणाली विकास गर्ने प्रतिबद्धता जनाएको छ ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।