छनोट प्रक्रियामा देखिएको चरम अपारदर्शिता र निश्चित व्यक्तिलाई भित्र्याउने गरी गरिएको ‘सेटिङ’ले बजारमा नयाँ तरंग सिर्जना गरेको छ। नेतृत्वका लागि आवेदन दिएका व्यक्तिहरूको नामावली समेत सार्वजनिक नगरिनुले यो प्रक्रियामा 'दालमा केही काला छ' भन्ने आशंकालाई बल पुर्याएको छ।

नेतृत्व चयनका लागि कति जनाले आवेदन दिए भन्ने सामान्य जानकारी समेत समितिले गुपचुप राख्दा अन्योल बढेको छ। सुरुमा ८ जनाको आवेदन परेको हल्ला बाहिरिए पनि पछिल्लो समय यो संख्या १२ पुगेको चर्चा छ। आधिकारिक रूपमा कुनै नामावली सार्वजनिक नगर्दा बजारमा "सेटिङ" का आधारमा पछाडिबाट नाम थपिएको हुन सक्ने आशंका गरिएको छ। सरकारी संयन्त्र र छनोट समितिले यति संवेदनशील विषयमा किन पारदर्शिता अपनाउन चाहेनन् भन्ने प्रश्न यति बेला टड्कारो बनेको छ।
Leadership चयनको यो खेलमा मन्त्रालयका केही शक्तिशाली उपसचिवहरूको स्वार्थ जोडिएको दाबी गरिएको छ। स्रोतका अनुसार, मन्त्रालयकै कर्मचारीहरूलाई पदमा पुर्याउनका लागि छनोट कार्यविधि नै परिवर्तन गरी उनीहरूलाई 'अनुकूल' बनाइएको छ। "आफ्ना मान्छेलाई जसरी पनि भित्र्याउने गरी कार्यविधि बङ्ग्याइएको छ, यसले योग्य र स्वतन्त्र विज्ञहरूलाई पाखा लगाउने निश्चित छ," एक जानकारले भने।
अहिलेको रणनीति अनुसार, आवेदन दिएकाहरूको नाम अन्तिम समयसम्म गोप्य राख्ने र भित्रभित्रै 'सर्टलिष्टिङ' गरेर ५ जनाको नाम मात्र सार्वजनिक गर्ने तयारी छ। यसले गर्दा कुन योग्यताका आधारमा को व्यक्ति छनोट भयो भन्ने कुरा सार्वजनिक बहसबाट बाहिर रहनेछ।निश्चित व्यक्तिको नाम मात्रै चर्चामा ल्याउने र अन्य योग्य उम्मेदवारलाई ओझेलमा पार्ने यो रणनीतिले शेयर बजारको नियामक निकायमा राजनीतिक र प्रशासनिक हस्तक्षेपको नाङ्गो रूप प्रदर्शन गरेको छ।
नेतृत्व चयनका लागि बनाइएको कार्यविधिमा नै पदको योग्यता र अनुभवका बुँदाहरूलाई निश्चित व्यक्तिको बायोडाटासँग मिल्ने गरी 'मोडिफाई' गरिएको आरोप लागेको छ। यसअघि कहिल्यै नभएको प्रावधानहरू थपेर बाहिरी क्षेत्रका योग्य प्रतिस्पर्धीलाई रोक्ने र 'आफ्ना' मान्छेलाई रातो कार्पेट ओछ्याउने काम भएको स्रोतको दाबी छ।
शेयर बजार जस्तो संवेदनशील क्षेत्रको नेतृत्व चयन प्रक्रिया यति धेरै अपारदर्शी र शंकास्पद हुनुले समग्र पूँजी बजारकै गरिमामा आँच पुर्याएको छ। यदि नेतृत्व चयनमा साँच्चै पारदर्शिता र योग्यतालाई आधार मानिएको हो भने समितिले आवेदकको पूर्ण विवरण र उनीहरूको योग्यता सार्वजनिक गर्नुपर्ने माग बढेको छ। अन्यथा, ‘सेटिङ’ मा आउने नेतृत्वले बजारको विकास भन्दा पनि निश्चित समूहको स्वार्थ रक्षा गर्ने खतरा निम्त्याउनेछ।