गाँजा खेतीलाई कानूनी मान्यता दिन अर्थ मन्त्रालय सकारात्मक, गृहसँग समन्वय गर्ने मन्त्री वाग्लेको प्रतिवद्धता

Aug 21, 2026 03:37 PM Merolagani



अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि आवश्यक कानूनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

शुक्रवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । मन्त्री वाग्लेले गाँजा उत्पादन तथा बजारीकरणको विषय केवल आय, रोजगारी र राजश्व संकलनको पाटो मात्र नभई यसको औषधीय उपयोग र नियन्त्रित प्रयोगको विषयसमेत भएको उल्लेख गरे । उनले गाँजा खेतीका सम्बन्धमा विज्ञहरूबाट हुने अध्ययन र निष्कर्षका आधारमा कानून निर्माण गरी व्यवस्थित गरिएमा अर्थ मन्त्रालयले यसलाई पूर्ण सहयोग गर्ने स्पष्ट पारे।

उनले भने, ‘गाँजाको व्यावसायिक र औषधिजन्य उपयोगका बारेमा सार्वजनिक बहस भइरहेको छ र विगतका बजेटहरूमा पनि यसको सम्भाव्यता अध्ययन गरिने विषय उल्लेख भइसकेको छ । विगतमा विकसित मुलुकहरूको दबाबमा यसलाई प्रतिबन्ध लगाइए पनि अहिले ती देशहरू नै खुलापनतर्फ गइरहेका छन् । त्यसैले नेपालले पनि यसलाई सकारात्मक रूपमा अगाडि बढाउनु आवश्यक छ । माननीयज्युले औपचारिक रूपमै यो प्रश्न उठाउनुभएको छ, यसलाई मैले गम्भीरतापूर्वक लिएको छु । गृह मन्त्री र गृह मन्त्रालयसँग समन्वय गरी यसलाई प्राथमिकताका साथ अगाडि बढाउने आश्वासन दिन चाहन्छु ।’

यो मुख्यतया गृह मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषय भएको जानकारी दिँदै मन्त्री वाग्लेले थप अध्ययन र कानूनी निक्याेलका लागि गृह मन्त्रालयसँग समन्वय गर्ने बताए। उनले औद्योगिक प्रवर्द्धन र सरकारी राजश्व वृद्धिको दृष्टिकोणबाट गाँजा खेतीलाई अर्थ मन्त्रालयले प्राथमिकता दिने उल्लेख गरे । यस विषयलाई तदारुकताका साथ निष्कर्षमा पुर्याउन आफूले पहल गर्ने विश्वास व्यक्त गरे ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।