भोटेकोशीमा बाढीपछि ७ हजार ९९२ प्रहरी परिचालन, अहिलेसम्म प्रहरीले के के गर्‍यो ?

Sep 01, 2026 02:34 PM Merolagani



भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, नागरिकको सुरक्षा र राहत व्यवस्थापनका लागि नेपाल प्रहरीले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ।

सरकारका अनुसार मंगलबारसम्म प्रभावित क्षेत्रमा ७ हजार ९९२ जना प्रहरी परिचालन गरिएको छ। बाढीबाट प्रभावित क्षेत्रका बहुआयामिक समस्या सम्बोधन गर्नुका साथै सम्भावित थप विपद्को जोखिम न्यूनीकरणका लागि विभिन्न प्रदेश र प्रहरी युनिटबाट टोली खटाइएको हो।

परिचालित प्रहरीमध्ये प्रहरी प्रधान कार्यालयबाट १ हजार ६०२, वागमती प्रदेश प्रहरी कार्यालयबाट २ हजार १८२, गण्डकी प्रदेशबाट १ हजार ३०९, लुम्बिनी प्रदेशबाट ६४० र काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ७५४ जना छन्। यस्तै, प्रहरी अस्पताल महाराजगञ्जबाट ३९७, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जबाट ४५०, प्रहरी शिक्षालयबाट ३५६ र प्रहरी युनिट जर्गाहबाट २२२ जना परिचालन गरिएको प्रहरीले जनाएको छ।

२४ घण्टा सञ्चालन हुने समन्वय केन्द्र

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयमा ‘आपत्कालीन समन्वय केन्द्र’ स्थापना गरिएको छ। विपद्सँग सम्बन्धित सम्पूर्ण गतिविधि तथा तथ्यांक व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नेतृत्वमा ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ समेत गठन गरिएको छ। केन्द्र २४ घण्टा सञ्चालनमा रहनेछ।

अस्पताल र विमानस्थलमा फोकल डेस्क

बाढीमा घाइते भएकाहरूको उपचार तथा मृतकका परिवारसँग समन्वय गर्न प्रहरीले विभिन्न अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फोकल डेस्क स्थापना गरेको छ।

घाइते तथा शव ल्याइएका काठमाडौंका विभिन्न अस्पतालमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विशेष टोली परिचालन गरिएको छ। वीर अस्पतालमा ३०, सिभिल अस्पतालमा १३ र काठमाडौं मेडिकल कलेजमा ५ जना प्रहरी खटिएका छन्। त्रिभुवन शिक्षण अस्पतालमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा ६२ जना प्रहरी परिचालन गरिएको छ।

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी उपरीक्षकको नेतृत्वमा ८ सदस्यीय टोली परिचालन गरिएको छ। उक्त टोलीले देशी तथा विदेशी नागरिकका शव व्यवस्थापन र घाइतेहरूको विवरण संकलन गर्नेछ।

ड्रोन र तालिमप्राप्त कुकुरबाट खोजी

दुर्गम तथा पैदल पुग्न कठिन क्षेत्रहरूमा खोजी तथा निगरानीका लागि प्रहरीले प्रविधिको समेत प्रयोग गरिरहेको छ। रसुवा, नुवाकोट र धादिङमा गरी १२ वटा ड्रोन परिचालन गरिएको छ। यसबाट पहुँच कठिन भएका क्षेत्रमा निगरानी तथा सम्भावित पीडितको खोजी भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, खोजी तथा उद्धारका लागि ५ वटा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ। सञ्चार सम्पर्क विच्छेद भएका दुर्गम क्षेत्रमा सूचना आदानप्रदानका लागि ७ वटा स्याटेलाइट फोन प्रयोगमा ल्याइएको छ। घटनास्थल अनुसन्धान तथा मुचुल्काका लागि ६७ जना र विभिन्न जिल्लामा शव पहिचान तथा व्यवस्थापनका लागि ७१५ जना प्रहरी परिचालन गरिएको छ।

घटनास्थल अनुसन्धानका लागि ‘सिन अफ क्राइम अफिसर’सहितको टोली तथा शवको डीएनएलगायत वैज्ञानिक परीक्षणका लागि फरेन्सिक विज्ञहरूको टोलीसमेत परिचालन गरिएको छ। घाइतेको तत्काल उपचारका लागि नेपाल प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सकको टोली पनि प्रभावित क्षेत्रमा खटाइएको छ।

बाढीपछि चोरी र ठगीमा संलग्न पक्राउ

प्रहरीले विपद्को मौका छोपेर हुने चोरी, लुटपाट र ठगी नियन्त्रणका लागि समेत निगरानी बढाएको छ।चितवनमा नारायणी नदीले बगाएर ल्याएको एक महिलाको शवबाट सुनका गहना निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो। घटनामा संलग्न भएको आरोपमा चितवन मदनपुरका २५ वर्षीय मदन गुरुङ र ३८ वर्षीय उमेश चौधरी पक्राउ परेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, धादिङको गल्छी–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा बाढीले ल्याएको बैंकको पैसा राख्ने सेफ तोडेर नगद हिनामिना गरेको आरोपमा २९ जना स्थानीयलाई नियन्त्रणमा लिइएको छ। उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, बाढीपीडितका नाममा नक्कली पोस्ट बनाएर सामाजिक सञ्जालमार्फत रकम असुल गर्न खोजेको आरोपमा रामेछापको गोकुलगंगा–२, ठोसे बजारका ३२ वर्षीय सृजन कार्की पक्राउ परेका छन्।

नदी किनारमा थप सेफ भेटिए

धादिङको गल्छी–६ बैरेनी बजारमा सडक सफा गर्ने क्रममा बालुवा र लेदोले पुरिएको अवस्थामा १९ इन्च लम्बाइ र १६ इन्च चौडाइको बन्द सेफ फेला परेको छ। उक्त सेफ प्रहरी चौकी बैरेनीमा सुरक्षित राखिएको छ। त्यस्तै, परेवाटार–मलेखु क्षेत्रमा त्रिशूली नदीको बगरमा अर्को एउटा सेफ फेला परेको छ। मलेखु खोलामा देखिएको अर्को सेफ निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

नारायणी आसपास ७५७ प्रहरी परिचालन

बाढीको बहाव पहाडी क्षेत्रबाट तराईतर्फ झर्दै गर्दा सम्भावित जोखिम न्यूनीकरणका लागि प्रहरीले नदी आसपासको क्षेत्रमा समेत सुरक्षा सतर्कता बढाएको छ। चितवनको नारायणी नदी आसपास मात्रै ७५७ जना प्रहरी परिचालन गरिएको छ। नदीजन्य विपद्बाट हुन सक्ने थप क्षति रोक्न तथा भौतिक अवरोध हटाउन प्रहरी सक्रिय रहेको जनाएको छ।

नेपाल प्रहरीले विपद्को संवेदनशील अवस्थामा नागरिकको सुरक्षा, उद्धार तथा राहत वितरणमा सहजीकरण गरिरहेको जनाएको छ। प्रभावित क्षेत्रका नागरिकलाई संयमित रहन आग्रह गर्दै सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउनसमेत प्रहरीले अनुरोध गरेको छ।