भोटेकोशी बाढी प्रभावित क्षेत्र बाहेक अन्य पर्यटकीय स्थल सञ्चालनमा

Sep 01, 2026 06:28 PM Merolagani



भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित विदेशी नागरिक तथा पर्यटकहरूको खोजी, उद्धार र सहायता कार्य निरन्तर जारी रहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य सम्बन्धित निकायहरूले सरकारी तथा स्थानीय प्रशासनसँगको समन्वयमा यो कार्य गरिरहेका छन्।

पछिल्लो विवरण अनुसार हालसम्म ३ सय ३० जना जना विदेशी नागरिक तथा पर्यटकहरूको उद्धार गरिएको छ।
 
वर्षायामको प्रभाव मध्य सेप्टेम्बरसम्म रहने भएकाले नेपाल भ्रमणमा रहेका वा आउने योजना बनाएका यात्रीहरूलाई सडकको अवस्थाबारे अद्यावधिक रहन आग्रह गरिएको छ। बाढीको सम्भावनालाई मध्यनजर गर्दै बिपी राजमार्गमा सबै सवारीसाधनहरू रोकिएका छन्। यसैगरी रसुवा, नुवाकोट र धादिङका विभिन्न सडक खण्डहरू जस्तै त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक, टोकिया–छहरे सडक, पासाङ ल्हामु राजमार्ग र पृथ्वी राजमार्ग बाढी तथा पहिरोका कारण पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्। 

 
भोटेकोशी र त्रिशूली नदी करिडोर बाहेक अन्य क्षेत्रका पर्यटकीय स्थल र गतिविधिहरू पूर्ण रूपमा सञ्चालनमा रहेका छन्। यात्रा सुरु गर्नुअघि सडक र मौसमको अवस्था बुझ्न तथा स्थानीय अधिकारीहरूको निर्देशन पालना गर्न पर्यटकहरूलाई विशेष सल्लाह दिइएको छ। आपतकालीन सहायता आवश्यक परेमा नेपाल पर्यटन बोर्डको निःशुल्क नम्बर, सरकारी आपतकालीन हटलाइन वा पर्यटक प्रहरीको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।