जेनजी आन्दोलनको एक वर्ष: सडकमा बगेको रगत र बदलिएको राजनीति

Sep 08, 2026 05:50 AM Merolagani



निशा ढकाल

ठीक एक वर्षअघि आजकै दिन काठमाडौंका सडकहरू कुनै युद्ध मैदान भन्दा कम देखिँदैनथे। 

हातमा प्लेकार्ड, आँखामा आक्रोश र मोबाइलमा प्रत्यक्ष प्रसारण गरिरहेका ‘जेनजी’ (सन् १९९७ देखि २०१२ को बीचमा जन्मेका पुस्ता) युवाहरू पहिलोपटक यसरी संगठित रूपमा सडकमा ओर्लिएका थिए कि त्यसले दशकौँदेखि जरा गाडेर बसेको राज्यसत्ताको जग नै हल्लाईदियो। 

सरकारले टिकटक लगायतका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास गरेपछि सुरु भएको त्यो प्रदर्शनले केही दिनमै 'सिस्टम' विरुद्धको एउटा ठूलो विद्रोहको रूप लियो। माइतीघर मण्डलादेखि बानेश्वरसम्मका सडकहरूमा हजारौँ युवाहरू 'हाम्रो भविष्य खोस्न पाइँदैन' र 'अब त अति भयो' भन्दै गर्जिए। सुरुमा शान्तिपूर्ण देखिएको त्यो आन्दोलन तब हिंसात्मक बन्यो, जब राज्यले युवाहरूको आवाजलाई सुन्नुको साटो बल प्रयोग गरेर दबाउन खोज्यो। सुरक्षाकर्मीले प्रहार गरेका पानीका फोहोरा र अश्रुग्यासका गोलाहरूले काठमाडौंका सडकहरू ढाकिए। आक्रोशित भीड र प्रहरीबीचको झडपले अन्ततः राजधानीका सडकहरू रगताम्मे बनाए।

यो आन्दोलन केवल सामान्य विरोध प्रदर्शनमा मात्र सीमित रहेन, यसले नेपालको इतिहासमै एउटा गहिरो र हृदयविदारक मानवीय क्षतिको घाउ छाडेर गयो। विभिन्न सञ्चारमाध्यम र अस्पतालहरूको तथ्याङ्क अनुसार, यो आन्दोलनका क्रममा कुल ७२ जनाले ज्यान गुमाउनुपर्‍यो। जसमा ५९ जना प्रदर्शनकारी युवाहरू थिए, जो आफ्ना सपना र अधिकारका लागि सडकमा उत्रिएका थिए।

आन्दोलनकै राप र तापका बीच जेलभित्र भएका घटनामा १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मीको पनि मृत्यु भयो। अस्पतालहरूमा उपचारका क्रममा थप शवहरू फेला पर्दै जाँदा यो संख्याले देशलाई नै स्तब्ध बनाएको थियो। आफ्ना सन्तानको सुन्दर भविष्यको सपना देखिरहेका परिवारका लागि ती मृत्युहरू कहिल्यै निको नहुने पीडा बनेर बसेका छन्। पछि सरकारले चौतर्फी दबाबका बीच यस आन्दोलनमा ज्यान गुमाएकामध्ये ४५ जनालाई औपचारिक रूपमा सहिद घोषणा गर्‍यो, जसले यो विद्रोहको गाम्भीर्य र राज्यको गल्तीलाई ढिलै भए पनि स्वीकार गरेको पुष्टि गर्छ।

मानवीय क्षतिको यो भयावह शृङ्खला मृत्युमा मात्र रोकिएन। देशभरका सडकहरूमा भएका झडपमा २ हजार ६६० जनाभन्दा बढी युवाहरू घाइते भएका थिए। तीमध्ये कयौँले प्रहरीको रबरको गोलीका कारण सधैँका लागि आँखाको ज्योति गुमाए भने कसैका हातखुट्टा भाँचिएर जीवनभरका लागि शारीरिक अशक्तता झेल्नुपर्ने अवस्था आयो। सयौँ युवाहरूले प्रहरीको लाठीको नीलडाम महिनौँसम्म शरीरमा बोकिरहे। शरीरका घाउहरू त विस्तारै निको भए होलान्, तर सयौँ दिन हिरासतमा बिताएका र राज्यविरुद्धको मुद्दा खेपिरहेका युवाहरूको भविष्यमा लागेको त्यो 'मुद्दा' को दाग र मानसिक आघात अझै मेटिन सकेको छैन। यो आन्दोलनले डिजिटल युगको पुस्ता कसरी भौतिक रूपमै सत्तासँग टकराउन सक्छ भन्ने एउटा ठूलो उदाहरण पेश गर्‍यो।

आन्दोलनले ल्याएको लहर सडकमा मात्र रोकिएन, यसले देशको चुनावी गणित र राजनीतिक शक्ति सन्तुलनलाई नै उल्ट्याइदियो। आन्दोलनलगत्तै भएका निर्वाचनहरूमा दशकौँदेखि सत्ताको बागडोर सम्हाल्दै आएका पुराना दलहरूको साख नराम्रोसँग गिर्‍यो। जनताले पुराना नेताहरूको कार्यशैली र आश्वासनलाई अविश्वास गर्दै उनीहरूलाई मतमार्फत दण्डित गरे। 'पुरानो पार्टी' हरूको किल्ला मानिने क्षेत्रहरूमा समेत नयाँ अनुहार सहित राष्ट्रिय स्वतन्त्र पार्टिमा भित्रिएका उम्मेदवारहरूले क्लिन स्वीप गरे। यसैको परिणाम स्वरूप आज मुलुकको नीति निर्माण गर्ने थलो र सरकारको माथिल्लो तहमा युवाहरूको बलियो उपस्थिति देखिएको छ। संसद् र सरकारका महत्त्वपूर्ण मन्त्रालयहरूमा नयाँ अनुहारहरू पुगेका छन्। वर्षौँदेखि थोत्रिएको राजनीतिको 'सिस्टम' मा नयाँ र ऊर्जावान् युवाहरू पुग्दा आम जनतामा एउटा नयाँ आशा र भरोसा पलाएको छ।

आज यो आन्दोलनको एक वर्ष पूरा हुँदा टिकटक र फेसबुक त पुनः सुचारु भएका छन्, र सत्ताको कुर्सीमा नयाँ अनुहार पनि देखिएका छन्। तर, ती आन्दोलनकारी युवाहरूले खोजेको वास्तविक 'सिस्टम परिवर्तन' र सुशासनको यात्रा भने अझै चुनौतीपूर्ण छ। सहिद घोषणा गरिएका ४५ परिवार र अन्य मृतकका आफन्तहरूले अझै पनि पूर्ण न्याय र दीर्घकालीन राहतको प्रतीक्षा गरिरहेका छन्। २ हजार ६६० भन्दा बढी घाइतेहरूमध्ये कतिपय अझै पनि उपचार खर्च जुटाउन संघर्ष गरिरहेका छन्। माथिल्लो तहमा युवा पुस्ता पुगे पनि भ्रष्टाचार, कर्मचारीतन्त्रको बेथिति र नातावादको जरो अझै उस्तै छ। नयाँ नेतृत्वप्रति जनताको ठूलो आशा छ, तर उनीहरूले पुराना दलको विरासतमा बनेको संयन्त्रलाई कसरी चिरेर अगाडि बढ्छन् भन्ने प्रश्न अहिल्यै अनुत्तरित छ।

जेनजी आन्दोलनको यो एक वर्षले एउटा कुरा भने निकै प्रष्टसँग स्थापित गरिदिएको छ, अबको पुस्ता अन्याय र बेथिति सहेर गुपचुप बस्नेवाला छैन। ७२ जनाको ज्यान जाने गरी भएको त्यो विद्रोह केवल एउटा घटना थिएन, बरु यो नेपालको राजनीति सुधार्नका लागि नयाँ पुस्ताले दिएको एउटा कडा चेतावनी थियो। सडकमा बगेको त्यो रगत र हजारौँ घाइतेहरूको त्यागको वास्तविक सम्मान तब मात्र हुनेछ, जब सत्तामा पुगेका नयाँ र युवा नेतृत्वले जनताको भरोसालाई नतिजामा बदल्नेछन्। जब राज्यले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने ठोस योजना ल्याउनेछ र भ्रष्टाचारको समूल अन्त्य हुनेछ, तब मात्र सहिदको सपनाले सार्थकता पाउनेछ। जेनजीले सिकाएको पाठ नै यही हो कि परिवर्तन सम्भव छ, तर त्यसका लागि सडक र सदन दुवैमा निरन्तर खबरदारी र इमानदार प्रयास जरुरी छ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।