इजरायलमा १,४६४ जनाका लागि रोजगारीः २ लाख ७३ हजारसम्म तलब, अनलाइन आवेदन खुल्यो

Sep 08, 2026 02:08 PM Merolagani



नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि १,४६४ जना नेपाली सहायक कामदारको माग गरिएको छ। 

वैदेशिक रोजगार विभागले आइतबार एक सूचना प्रकाशित गर्दै इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको हो।

विभागका अनुसार कुल माग संख्यामध्ये १,१३२ जना महिला र ३३२ जना पुरुष कामदार छनोट गरिनेछ। छनोट भएका कामदारहरूले इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा अपाङ्गता भएका व्यक्तिहरूको हेरचाहका लागि सहायक कामदारको रूपमा काम गर्नुपर्नेछ।

छनोट हुने कामदारको मासिक न्यूनतम तलब ५,४४३.८५ इजरायली मुद्रा अर्थात २ लाख ७३ हजार रुपैयाँ नेपाली तोकिएको छ। हप्तामा ६ दिन ४२ घण्टा काम गर्नुपर्नेछ भने करार अवधि सुरुमा एक वर्षको हुने र सो अवधि थप भई अधिकतम ५ वर्षसम्म रहन सक्ने सूचनामा उल्लेख छ।

खानाको खर्च कामदार आफैँले व्यहोर्नुपर्नेछ भने आवासको व्यवस्था रोजगारदाताले गरिदिनेछन् (जसको खर्च नियमानुसार कामदारले व्यहोर्नुपर्नेछ)।

आवेदन दिन नेपाली नागरिक हुनुपर्न, आवेदन दिने अन्तिम दिनसम्म २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्न, अन्य न्यूनतम योग्यता सूचनामा तोकिए बमोजिम हुनुपर्ने सूचनामा उल्लेख छ ।

इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अर्थात् २०८३ भदौ २३ गते दिउँसो १२ बजेदेखि असोज २६ गते राती ११ः५९ बजेसम्म विभागको अनलाइन पोर्टलमार्फत आवेदन दर्ता गर्न सक्नेछन्।

विभागले यसअघि २०८३ जेठ १३ गते प्रकाशित विज्ञापनमा आवेदन स्वीकृत भई भदौ २२ गते विभागको वेबसाइटमा नाम प्रकाशित भएका उम्मेदवारहरूले भने पुनः आवेदन दिनु नपर्ने प्रष्ट पारेको छ।

 




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।