अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५ वर्षे अवधिको उक्त ऋणपत्र बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागेको हो। कार्यालयद्वारा प्रकाशित सूचनाअनुसार ऋणपत्र खरिदका लागि आगामी २०८३ भाद्र २४ गते बुधबार बिहान ९:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म बोलकबोल पेस गर्न सकिनेछ। ऋणपत्रको निष्कासन भाद्र २५ गते बिहीबार हुनेछ भने ५ वर्षपछि अर्थात् २०८८ भाद्र २५ गते साँवा भुक्तानी गरिनेछ।
८५ प्रतिशत प्रतिस्पर्धी र १५ प्रतिशत अप्रतिस्पर्धीलाई
निष्कासन गरिने कुल रकममध्ये ८५ प्रतिशत अर्थात् रु. ८५० करोड प्रतिस्पर्धी बोलदाताका लागि र १५ प्रतिशत अर्थात् रु. १५० करोड अप्रतिस्पर्धी बोलदाताका लागि छुट्याइएको छ। अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकममा पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलदातालाई बिक्री गरिनेछ।
को–को सहभागी हुन पाउने ?
ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैर–बैंकिङ संस्था, कम्पनी, फर्म तथा सर्वसाधारण व्यक्तिहरूले भाग लिन पाउनेछन्। यद्यपि, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले भने अप्रतिस्पर्धी बोलदाताका रूपमा भाग लिन पाउने छैनन्।
खरिद सीमा र ब्याजदर प्रक्रिया
-
न्यूनतम तथा अधिकतम सीमा: लगानीकर्ताले घटीमा ५ लाख रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५ लाख रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिदका लागि आवेदन दिन सक्नेछन्।
-
ब्याजदर निर्धारण: ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। बोलदाताले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी 'कट-अफ' (Cut-Off) दरलाई एकल ब्याजदर कायम गरिनेछ र सो वा सोभन्दा कम ब्याज कबोल गर्ने सबै बोलदातालाई सोही एकल दरमा ऋणपत्र उपलब्ध गराइनेछ।
-
ब्याज भुक्तानी: ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ र आर्जित ब्याजमा नियमानुसार आयकर लाग्नेछ।
आवेदन कसरी दिने ?
ऋणपत्र खरिद गर्न चाहनेले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको डोम्स प्रणालीको वेबसाइट (https://doms.gov.np) मार्फत बोलपत्र पेस गर्नुपर्नेछ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाहेकका अन्य बोलदाताले आफूले खरिद गर्न चाहेको रकमको २.५० प्रतिशतले हुन आउने 'अर्नेष्ट मनी' (बयान रकम) नेपाल राष्ट्र बैंकमा रहेको विकास ऋणपत्र आवेदन खाता (खाता नं. 1200000/015.115.524) मा जम्मा गरी सोको भौचर भाद्र २४ गते दिउँसो ३:०० बजेभित्र कार्यालयको इमेल (internaldebt@pdmo.gov.np) मा पठाउनुपर्ने व्यवस्था गरिएको छ। सफल बोलदाताले बाँकी रकम निष्कासन मिति (भाद्र २५ गते) मध्यान्ह १:०० बजेभित्र जम्मा गर्नुपर्नेछ।
कर्जाको धितो र दोस्रो बजार कारोबार
यो ऋणपत्रलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ। साथै, यस ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा डोम्स (DOMS) प्रणालीमार्फत हुने कार्यालयले जनाएको छ।