बाढीपछिको आपतकालीन अवस्थामा सञ्चालन गरिएका होल्डिङ सेन्टरबाट अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टाछुट्टै अस्थायी आवासमा स्थानान्तरण गर्ने योजनासहित यो सर्वेक्षण थालिएको हो।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले मंगलबारदेखि प्रभावित जिल्लाहरूमा प्राविधिक टोली खटाएर ‘कोबो टुलबक्स’ (KoBoToolbox) प्रविधिमार्फत ‘आवश्यकता मूल्याङ्कन फारम’ भराई तथ्याङ्क संकलन गरिरहेको छ।
यस डिजिटल सर्वेक्षणमार्फत प्रभावितहरूको वास्तविक अवस्था र आवश्यकता तत्काल पहिचान हुनेछ। सर्वेक्षणमा मुख्य रूपमा निम्न विवरणहरू समेटिएका छन्:
-
प्रभावित व्यक्ति तथा परिवारको विवरण र घरको क्षतिको अवस्था (पूर्ण वा आंशिक)।
-
परिवारका दिवंगत वा बेपत्ता सदस्यको संख्या।
-
सरकारी सहयोगमा निर्मित अस्थायी आश्रयमा बस्ने वा भाडाको घर रोज्ने भन्ने प्रभावितको इच्छा/रुचि।
-
जग्गाको उपलब्धता तथा सुरक्षित स्थानान्तरणको उत्तम विकल्प।
-
खानेपानी, सरसफाइ (WASH) तथा अन्य आधारभूत आवश्यकताको पहिचान।
विभागका अनुसार पहिलो चरणमा एक हप्ताभित्र होल्डिङ सेन्टरमा रहेका सबै घरपरिवारको आवश्यकता पहिचान गरिसक्ने गरी तीव्र गतिमा काम भइरहेको छ।
होल्डिङ सेन्टरको सर्वेक्षण सम्पन्न भएलगत्तै सेन्टरभन्दा बाहिर (आफन्त वा अन्यत्र) बसिरहेका बाँकी प्रभावित परिवारहरूको पनि सोही विधिमार्फत सर्वेक्षण गरी सरकारको पुनर्स्थापना योजना कार्यान्वयनमा ल्याइने जनाइएको छ।