जसको प्रत्यक्ष प्रभाव दोस्रो बजारमा सूचीकृत निर्जीवन बीमा कम्पनीको मूल्यमा पर्ने गरेको छ। दाबी बढेपछि कम्पनीको नाफामा संकुचित हुने चिन्ता लगानीकर्ताहरुमा हुनु स्वभाविक हो । कम्पनीहरुको नाफा, नगद प्रवाह र पुनर्बीमामार्फत जोखिम व्यवस्थापनको क्षमतामाथि लगानीकर्ताको चासो बढेकोछ। जसको मनोविज्ञानको असर दोस्रो बजारमा पनि देखिएको छ।
पछिल्ला समय निर्जीवन बीमा कम्पनीलाई परेको ठूलो दायित्वमा जेनजी आन्दोलनलाई पनि लिन सकिन्छ । नेपाल बीमा प्राधिकरणका अनुसार आन्दोलनका क्रममा निर्जीवन बीमा कम्पनीहरूमा तीन हजार २५५ दाबीबाट करिब २३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ बराबरको दाबी परेको थियाे। तर जेनजी आन्दोलनको दाबी पूर्ण रूपमा व्यवस्थापन भइनसक्दै अर्को ठूलो प्राकृतिक विपत्ति थपिएको छ।
गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीपछि भदौ १५ सम्म ५८३ वटा दाबीबाट २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको थियो। यसमध्ये इन्जिनियरिङ तथा ठेकेदार जोखिमअन्तर्गत मात्रै २० अर्ब ५० करोड ७७ लाख रुपैयाँको दाबी छ। अर्थात् यसपटकको ठूलो जोखिम जलविद्युत् र पूर्वाधार क्षेत्रमा केन्द्रित छ।
यसले निर्जीवन बीमा कम्पनीको लगानी दोहोरो जोखिम पूर्ण हो कि भन्ने सोच लगानीकर्तामा परेको हो तर दाबी रकमलाई कम्पनीको तत्कालै हुने घाटाका रूपमा बुझ्नु सही नहुने बीमा कम्पनीहरुले बताउने गरेका छन्। बीमा कम्पनीले आफैले सम्पूर्ण जोखिम बहन गर्दैनन्। पुनर्बीमामार्फत ठूलो हिस्सा जोखिम हस्तान्तरण गरिएको हुन्छ। कुल दाबी र कम्पनीको खुद दायित्व फरक हुने भन्दै पुनर्बीमाका कारण कम्पनीहरूमा सम्पूर्ण भार नपर्ने कम्पनीहरुको भनाइछ ।
दोस्रो बजारमा देखिएको प्रभाव
दोस्रो बजारमा तथ्यभन्दा लगानीकर्ताको मनोवैज्ञानिक बुझाइलाई कम्पनीको मूल्यमा प्रभाव पारेको हुन्छ। सोहीकारण चालु आर्थिक वर्षमा बीमा कम्पनीहरुको मूल्यमा परेको प्रभावको बारेमा बुझ्ने कोसिस मेरोलगानीले गरेको छ। साउन १ गतेदेखि भदौ २६ गतेसम्मको मूल्य तथ्यांक हेर्दा अधिकांश निर्जीवन बीमा कम्पनीहरुको शेयर मूल्य घटेको छ। जहा दुई कम्पनी मूल्य सामान्य बढेको देखिन्छ। यस अवधिमा शिखर इन्स्योरेन्स ४.७६ प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्स ३ प्रतिशत बढेका छन्।
यस अवधिमा सबैभन्दा ठूलो गिरावट सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा देखिन्छ। यसको मूल्य ७१९ रुपैयाँबाट ५७७ रुपैयाँमा झरेको छ। अर्थात् १९.७५ प्रतिशतको गिरावट भएको छ । त्यसैगरी, सानिमा जीआईसी ४६९.५ रुपैयाँबाट ३८०.५ रुपैयाँमा झरेर १८.९६ प्रतिशत घटेको छ। नेपाल इन्स्योरेन्स ५२० बाट ४३५ रुपैयाँमा आउँदा १६.३५ प्रतिशत, युनाइटेड अजोड ४४५.५ बाट ३७३.८ रुपैयाँमा झर्दा १६.०९ प्रतिशत घटेको छ। साथै, प्रभु इन्स्योरेन्स १५.५८ प्रतिशत, हिमालयन एभरेस्ट १४ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्स १२.६३ प्रतिशत, आईजीआई प्रुडेन्सियल १०.७० प्रतिशत र एनएलजी इन्स्योरेन्स ८.५८ प्रतिशत घटेका छन्। राष्ट्रिय बीमा कम्पनीको मूल्य पनि १४ हजार ६३१ बाट १३ हजार ६२० रुपैयाँमा झरेर ६.९१ प्रतिशत घटेको छ।
त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनी ९५० बाट ७९७ रुपैयाँमा आउँदा १६.११ प्रतिशत र हिमालयन रिइन्स्योरेन्स ११.२९ प्रतिशतसम्म शेयर मूल्य घटेको देखिन्छ । पछिल्लो समय पुनर्बीमा कम्पनीको शेयर मूल्यमा विभिन्न आर्थिक राजनीति घटनाक्रले धेरै प्रभावित भएको लगानीकर्ताहरुको बुझाई छ।
यसरी हेर्दा बजारले अहिले दाबी रकमलाई मात्र हेरेको छैन। भविष्यमा कति दाबी थपिन्छ। कति रकम भुक्तानी गर्नुपर्छ र त्यसले नाफा तथा लाभांशमा कस्तो असर पार्छ भन्ने आशंका मूल्यमा प्रतिबिम्बित भएको लगानीकर्ताहरु बताउने गरेका छन् । विशेषगरी भोटेकोशी बाढीको दाबी प्रारम्भिक भएकाले वास्तविक क्षति मूल्यांकनपछि रकम थपघट हुन सक्ने देखिन्छ ।
तर तर दोस्रो बजारका लगानीकर्ताले संकटलाई फरक दृष्टिकोणबाट हेर्न सक्नु पर्ने जानकारहरुको बुझाइछ। संकटले बीमा व्यवसायका लागि नयाँ अवसर पनि देखाएको छ। जेनजी आन्दोलनपछि निजी व्यवसाय, औद्योगिक संरचना र सरकारी सम्पत्तिको बीमा विस्तार गर्नुपर्ने बहस बलियो भएको छ। नेपालमा अझै धेरै सम्पत्ति पर्याप्त रूपमा बीमित छैनन्। ती क्षेत्रलाई पनि बीमाको दायरा भित्र ल्याउँदा बीमा कम्पनीहरुको व्यवसायमा वृद्धि हुने जानकारहरुको बुझाइछ।