बाढी पहिरोका कारण अर्थतन्त्र तथा जलविद्युत क्षेत्रमा परेको असरलाई चिर्दै बजारमा व्यापक तरलता र लगानी बढाउने उद्देश्यका साथ ल्याइएको २१ बुँदे कार्ययोजनाले आम लगानीकर्ताहरुमा उत्साहित भएको छ।
सोमबार नेप्से परिसूचक ४८.५७ अंक बढेर २६३३.६२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ९.१९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१३ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ४ अर्ब ६८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४७ स्टकको ७८ हजार ८६९ पटकको कारोबारमा ८ अर्ब २९ करोड १७ हजार रुपैयाँबराबरको २ करोड ३ लाख ८७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १४.९६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य ११ प्रतिशत बढेको छ भने मल्टीपर्पस फाइनान्स कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको एभरेष्ट बैंकको अपरिवर्तिय ऋणपत्रको मूल्य सर्वाधिक ५.५५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ७० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। कम्पनीले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु आकर्षित भएका हुन्। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको कारोबार रकम साढे ३१ करोड रुपैयाँ नाघेको छ भने अपि पावर कम्पनीको करिब साढे २८ करोड रुपैयाँको शेयर किनबेच भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.८२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।