बुधबार नेप्से परिसूचक १५.४३ अंक घटेर २५४५.४० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत सोमबार ३ अर्ब ८३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५२ स्टकको ५० हजार ८०४ पटकको कारोबारमा ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँबराबरको १ करोड ९ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३९ रुपैयाँ बढेर २९९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन शुभम् पावरको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ। कारोबारमा आएको इमर्जिङ्ग नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयरमूल्य यस दिन १५ प्रतिशत घटेकाे छ।
कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४२ करोड ७६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सेन्ट्रल फाइनान्सको १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.३७ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।